खोटाङ । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रूपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गरेका हुन् ।
नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । नेपाली समाजमा भएका वर्गीय, जातीय, सांस्कृतिक एवम् राजनीतिक परिवेशलाई समेत समेटेर प्रकाशन गरिएको ‘आदिम फूल’ कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रूपमा विमोचन गरेका छन् ।
कविता सङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राध्यापक डा. गौतमले साहित्यकार विभरा किरातीको कतिवा सङ्ग्रहमा शक्तिशाली कविताहरू रहेको बताउनुभएको छ । “कविता चित्रात्मक र सङ्केतात्मक हुन्छन् । विभरा किरातीको कतिवामा त्यो दुवै भेटिएको छ”, उहाँले भन्नुभयो, “साहित्यकार विभरा किरातीलाई यो आदिम फूल कविता सङ्ग्रहले एउटा उचाइमा पुर्याएको छ । आगामी दिनमा लेखन कलालाई निरन्तरता दिँदै अझ सशक्त साहित्य सिर्जन गर्न आग्रह गर्दछु ।”
खोटाङको बुइपामा जन्मिएर अस्ट्रेलियामा बसोवास गर्दै आउनुभएकी अप्सरा दालोमा विष्ट प्रकाशक रहनुभएको कविता सङ्ग्रह आदिम फूलको भूमिका समालोचक डा. हेम भण्डारीले लेख्नुभएको छ । विभरा किरातीको कविता सङ्ग्रह आदिम फूलमा आदिवासी पहिचान, सामाजिक पर्यावरण, शासकवर्गीय प्रभुत्व, राजनीतिक कुसङ्केतन, स्वाधिनता चेत, सांस्कृतिक प्रतिरोध जस्ता सामाजिक विषयहरू समेटिएको भेटिएको समालोचक डा. भण्डारीले औल्याएका छन् ।
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५, ललितपुरमा अवस्थित पवन प्रकृति स्कूलको सभाहलमा शनिबार दिउँसो आयोजित कविता सङ्ग्रह विमोचन कार्यक्रममा समालोचक डा. सुरेश हाँचेकालीले प्रकाशित कविता सङ्ग्रहमाथि समालोचना गर्नुभएको थियो । समालोचक डा. हाँचेकालीले साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह आदिम फूलले सांस्कृतिक पहिचान स्थापित गर्न ठुलो भूमिका निर्वाह गर्ने बताएका छन् ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका साहित्यकार विभरा किराती साहित्य लेखनसँगै ललितपुरस्थित पवन प्रकृति स्कुलका सहायक प्रधानाध्यापकसमेत रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उत्तीर्ण गर्नुभएका साहित्यकार विभरा किरातीले सिर्जना गर्नुभएको कविता सङ्ग्रह आदिम फूल पवन प्रकृति स्कुलका नेपाली विषय विभागले विमोचनको आयोजना गरेको हो ।
शिक्षण पेसासँगै पाठ्यपुस्तक लेखन तथा साहित्य सिर्जनामा निरन्तर कलम चलाउँदै आउनुभएका विभरा किरातीयले यसअघि विभिन्न कृतिहरू बजारमा ल्याइसक्नुभएको छ । विष्णु आश्रितको नामबाट विसं २०५९ सालमा ‘सुनको फूल’ गीति सङ्ग्रह, विसं २०६१ सालमा ‘ताराहरूको बस्तीमा’ कविता सङ्ग्रह, विसं २०६६ सालमा ‘त्रिवेणी गीति एलबम’ र विसं २०६३ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत लेखन प्रतियोगितामा तीन वटा गीत छनोटमा परेको थियो ।
देशभरबाट छनोटमा परेका साहित्यकार विष्णु आश्रितको गीतले स्वरतर्फ दोस्रो पुरस्कार प्राप्त गरेको जनाइएको छ । सानै उमेरदेखि साहित्य सिर्जनामा रुची राख्नुहुने विभरा किरातीले लेख्नुभएको ‘रुखबाट पूरानो पात झर्न बाँकी’ बोलको गीतमा शिला विष्टको स्वर र केशव पौडेलको सङ्गीतले दोस्रो सुरस्कार जितेको हो ।
साहित्यकार विभरा किरातीले लेख्नुभएको कविता आफ्नो जीवनका भोगाइहरूसँग मेल खाने किसिमका भएकाले सङ्ग्रहित गर्न सहयोग गरेको प्रकाशक विष्टले बताउनुभएको छ । विमोचन कार्यक्रममा सहभागी महालक्ष्मी नगरपालिका–५, ललितपुरका वडाध्यक्ष कपिल केसीले आदिम फूल कविता सङ्ग्रहका लागि राज्यबाट आफूले पाउने सेवासुविधा वापतको एक महिनाको रकम उपलब्ध गराउने वचन दिएका छन् ।
पवन प्रकिृति स्कूलका प्रधानाध्यापक उत्तरकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सोही विद्यालयका विद्यार्थीले सङ्ग्रहमा समेटिएका कविताहरू वाचन गरेर सुनाएका थिए । विमोचन कार्यक्रममा साहित्यसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिका साथै साहित्यकारहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया