केही बोल्न सकेन । बरन्डाको भुइँमा थुचुक्क बस्यो जेफ्रे । उसको अनुहार उदासीको बादलले ढाकेको थियो । अनुहार मलिन थियो । ऊ एकाएक घरको माथिल्लो तलामा आइपुगेको थियो । वरिपरिको वातावरण नियालेपछि घरी श्रीमतीतिर हेर्छ । घरी छोरोतिर हेर्छ । घरी आफ्नो गोडा वरिपरि लुटपुटिएको कुकुरतिर हेर्छ ।
सुरुमै घरभरि अपरिचित मानिसको हुल देखेर केही आत्तिए जस्तो, केही हडबडाए जस्तो देखिएको थियो ऊ । आज ऊ विद्यालयबाट अलि छिट्टै फर्किन बाध्य भएको थियो । कक्षाकोठामा विद्यार्थीलाई पढाउँदापढाउँदै छोडेर दौडिन थालेकी श्रीमतीलाई प्रश्नवाचक आँखाले हेरेर ऊ पनि श्रीमतीको पछि लागेको थियोे । उसकी श्रीमतीलाई आफन्तले जानकारी गराएका थिए घरको वस्तुस्थितिबारे । ऊ श्रीमतीको साथ लागेर हत्तारिँदै घर आइपुग्यो ।
ऊ नेपाली त होइन तर नेपाली जस्तै भइसकेको थियो । नेपाली भाषा राम्रोसँग बुझ्छ ऊ । नेपाली भाषा राम्रोसँग बोल्न पनि सक्छ ऊ । सम्झना राईसँगको सहचर्यले ऊ नेपाली हुन पुगेको थियो । श्रीमतीले उसलाई भाषामा पारङ्गत बनाएकी थिई । अनि श्रीमतीको बोलिचाली, रहनसहन, वेशभूषाले उसलाई पनि खाँट्टी नेपाली बनाएको थियो ।
उनीहरू घरमा आइपुग्दा केही मानिस माथिल्लो तलाका सामान तल झार्दै थिए । तल बरन्डामा उनीहरूका सामान थुप्रिँदै थिए । कसै कसैले सामान कम्पाउन्ड गेटबाट बाहिर पनि लैजाँदै थिए ।
उसकी श्रीमती सम्झना घरमा जम्मा भएका मानिससँग बाझ्दै थिई ! उसलाई खपिनसक्नु रिस उठेको थियो ! आफ्ना सामान अनुमति बेगर नचिनेका मानिसले ओसारपसार गरिरहेका थिए ।
उसले भनी, “मेरा सरसामान केही भए भनेँ मैले जानेकी छु । अर्काको घरभित्र पसेर जथाभावी गर्ने अधर्मीहरू !”
अर्कोतिर घरधनी शान्ता राई पनि आक्रोशित थिई । आफ्नो नामको जायजेथा आफूले भोग गर्न नपाएको झोकमा अनुहार रातो रातो पारेर बसेकी थिई । पति सुवर्ण राई पनि घरी घरी झर्केर बोलिरहेको थियो । उसले भन्यो, “आज कसैले अवरोध गर्न खोजे भने ब्रिटिस सेनामा सिकेको कौशल प्रयोग गर्छु ।”
शान्ताले यो घरघडेरी आमा हिराकुमारीबाट प्राप्त गरेकी थिई तर यसमा सम्झनाको पनि दावा रहेको थियो । कानुनले यी दुवै महिला सूर्यबहादुरका छोरी थिए । सूर्यबहादुर र उसकी श्रीमती हीराकुमारीबाट जैविक रूपमा कुनै सन्तान जन्मेन छन् । त्यसैले जन्मनेबित्तिकैको सालनालसहितकी शिशुलाई उनीहरूले छोरीका रूपमा अपनाएका थिए । उनीहरूले उसलाई नाम दिए– शान्ता । उनीहरूले नागरिकता मात्रै बनाइदिएनन्, सम्पत्तिको एकलौटी हकदार पनि बनाइदिएका थिए उसलाई ।
सम्झना भनेपछि बनेकी छोरी थिई । ऊ शिक्षिकाका रूपमा काम गर्न दार्जिलिङबाट नेपाल आएकी थिई । उनै सूर्यबहादुरको घरमा आश्रय लिएर बस्न थाली बागडोलमा । यही घरमा बस्दै गई । पढ्दै पनि गई । स्कुलमा पढाउँदै पनि गई । जवानीको फूल फक्रिसकेपछि जेफ्रेलाई पतिका रूपमा वरण गरी आफ्नै खुसीले । जेफ्रे पनि सानैमा दार्जिलिङबाटै काठमाडौँ आएर पढाउन थालेको थियो । उनीहरू दम्पती भएपछि पनि यसै घरमा बसे । बस्दै गए, आफन्त जस्तो हुँदै गए । सम्झनाले सूर्यबहादुरलाई बाबा भन्न थाली अनि उसले पनि छोरी भन्न थाल्यो उसलाई । ऊ छिटै नै सबै परिवारसँग घुलमिल भई । उनीहरू एउटै परिवारका सदस्य जस्ता हुँदै गए । अनि पछि त उसले नेपाली नागरिता पनि लिई सूर्यबहादुरलाई बाबु बनाएर ।
“यो सम्पत्तिमा मेरो पनि हक छ । कसरी मलाई यस घरबाट निकाल्छौ ? हेरौँ त ! तल्ला अदालतबाट मेराविरुद्ध निर्णय भए पनि सुप्रिम कोर्टबाट मलाई न्याय हुन्छ भन्ने विश्वास छ ।” सम्झनाको आवाजले सबैको ध्यान तानेको थियोे तर कसैले केही भनिहालेनन् । यता शान्ताको आवाज आउँछ फेरि, “मेरी आमाले मलाई लेखिदिएको सम्पत्ति कसरी तेरो हुन्छ ? अहिल्यै निस्की यो घरबाट !”
ऊ कराउँदै कर्मचारी भएछेउ पुग्छे ! अनि भन्न थाल्छे, “उनीहरूलाई यस घरबाट आज जसरी पनि निकाली दिनूस् सर । विन्ती छ ! मैले आफ्नै सम्पत्ति भोगचलन गर्न पनि अदालत गुहार्नु परेको छ ।”
उनीहरूबिच भनाभन चलिरहेको थियो ।
खटिएर आएको डोर कर्मचारी कागजपत्र मिलाउँदै थियो । ऊ सम्झनाको परिवारलाई घरबाट निकाल्ने मुचुल्का लेख्दै थियो । वरपरका भद्रभलाद्मी पनि जम्मा भएका थिए । नजिकै स्थानीय वडाको प्रतिनिधि र सुरक्षाका लागि तैनाथ प्रहरी पनि एक आपसमा खासखुस गफ गर्दै थिए ।
यी सबै दृश्य नियाल्दै थियो जेफ्रे ! ऊ श्रीमतीलाई साथ दिन पनि सकिरहेको थिएन न त श्रीमतीलाई रोक्न नै सकिरहेको थियो । मात्रै गम्भीर मुद्रामा शान्तसँग कतै नियाली रहेको थियो । उसको हाउभाउले बताउँथ्यो– अहिले यहाँ बिल्कुलै केही भइरहेको छैन ।
नजिकै आएर सम्झनाले कर्मचारीलाई सोधी, “अब हाम्रो हालत के होला त सर ?”
“म बाध्य छु यो घर खाली गराउन । तपाईंहरू आफ्नो सामान लिएर यो घरबाट बाहिरिएको राम्रो ।” लेखिरहेको हात टक्क रोकेर कर्मचारीले भन्यो ।
“सरसामान सार्न, ओसार्न मैले केही समय पाउँछु कि सर ?” उसले गलबदी गर्न छोडेकी थिइन ।
“अदालतले दुई वर्षअघि नै निर्णय गरिसक्यो, यो घरजग्गा शान्ता राईको हो र सम्झनाले यो घर छोड्नु पर्छ भनेर । अब मैले केही गर्न सक्दिनँ ।” कर्मचारीले फैसलाको प्रतिलिपि देखाउँदै भन्यो ।
“त्यो शान्ता त सम्पत्तिका लागि निष्ठुरी भई । तपाईं कर्मचारी भएर पनि मन कति कठोर पारेको । मनमा दया, माया छैन तपाईंको ?” सम्झना झन् झन् चर्को स्वरमा बोल्दै थिई ।
“तपाईंहरूलाई घरबाट निकाल्न लाग्दा मेरो मन पनि खुसी छैन । फैसला कार्यान्वयन गर्न कमलो मनले सक्दैन । पहिल्यै सूचना दिँदा यो घर खाली गरिदिएको भए अहिले यो अवस्था आउँदैनथ्यो । जसको सम्पत्ति हो, उसलाई दिलाइदिनु मेरो कर्तव्य हो ।” कर्मचारीले उनीहरूलाई हेर्दै सुस्तरी भन्यो ।
“अदालतको कर्मचारीले सूचना टाँसेर गएपछि हामीले यो घर छोडेर डेरामा सर्न पनि खोज्यौँ । सर्ने सुरसार गर्दैगर्दा हामीलाई हाम्रै वकिलले रोक्यो । अहिले घर नछोड्नु, मुद्दा कमजोर हुन्छ भन्यो ।” सम्झनाले बोल्दाबोल्दै अलिकति रहस्य पनि खुस्काई ।
आधाभन्दा बढी सामान बाहिर निस्किसकेको थिए । काम गर्ने केटाहरू सामान ओसार्दै, मिनीट्रकमा चढाउँदै थिए । सम्झना टुलुटुलु हेर्दै थिई र उसको छोरो पनि मलिन थियो । जेफ्रे त अघिदेखि नै चुपचाप बसिरहेको थियोे । न त प्रतिकार गरेको थियो उसले न त सहमति नै जनाएको थियो घर छोड्ने कुरामा ।
कसैले पल्लो टोलमा डेरा खोजिदिए उनीहरूलाई । सामानहरू भर्खर खोजिएको त्यही डेरा घरमा थुप्रिन पुगे ।
अहिले भने शान्ता र उसको पति सुवर्ण हाँसोको पोखरीमा पौडिरहेका थिए । अदालतले आफ्नो पक्षमा निर्णय गरेको दिनभन्दा नि धेरै खुसी देखिएका थिए आज । उसको परिवारलाई फैसलाको जित केवल कागजी जित थियो, अहिलेको यो जित साँच्चिकै व्यावहारिक जित थियो । अहिले भने उनीहरूले आफ्नो ठहर भएको सम्पत्ति भोगचलन गर्न पाएका थिए ।
सम्झनाले एकटकले आफू ३० औँ वर्षदेखि बसिआएको घर र वरिपरिका मानिसलाई नियाली । यो घरसँगको बर्सौंदेखिको आत्मीय सम्बन्ध तोड्दै थिई । रुमालले अकस्मात् आँखा पुछी र आफ्नो झोला टिपेर बाहिरिई । उसको पैतालामा विरक्तिको सुस्तता थियो । उदासीको गीत गाउँदै छोरो पनि काँधमा गितार हालेर आमाको पछि लाग्यो ।
सबैभन्दा पछाडि जेफ्रे नै थियो । उसले पनि सबैलाई नियालेर एउटा हातले कुकुर बाँधेको सिक्री समायो र अर्को हात हल्लाउँदै अगाडि बढ्यो । यतिखेर भने उसको अनुहार पनि कस्तो कस्तो मलिन देखिएको थियोे ।
सत्तरी वर्षीय जेफ्रे सुस्तरी गेटबाट बाहिरियो ।
यतिबेला उसको अनुहारमा रहर र आशाका कुनै सङ्केत बाँकी थिएनन् ।
प्रतिक्रिया