न्युयोर्क, (एपी) । विश्वकप फुटबल प्रतियोगिता २०२६ को समूह ‘सी’ सर्वाधिक पाँच पटकको विजेता ब्राजिल र अफ्रिकी पावरहाउस मोरोक्कोको उपस्थितिले हेर्नलायक बनेको छ । सो समूहमा विश्वकपमा लामो समयपछि पुनरागमन गरेका स्कटल्यान्ड र हाइटी पनि छन् । यस समूहमा दक्षिण अमेरिका, उत्तर अमेरिका, युरोप र अफ्रिकी फुटबलको शैली हेर्न पाइने छ । समूह ‘सी’ का सबै खेल अमेरिकामा खेलिने छ । ब्राजिलले न्युयोर्क, फिलाडेल्फिया र मियामीमा खेल्ने छ । स्कटल्यान्डले हाइटी र मोरोक्कोको सामना बोस्टनमा गर्ने छ । यसै गरी हाइटी र मोरोक्कोले एट्लान्टामा प्रतिस्पर्धा गर्ने छ ।
ब्राजिल
सन् १९३० मा सुरु भएको विश्वकपदेखि अहिलेसम्म लगातार खेल्ने एक मात्र टिम हो ब्राजिल । विश्वकप फुटबल भन्नासाथ यसको दावेदारका रूपमा सबभन्दा अग्रपङ्क्तिमा आउने नाम ब्राजिल हो । हुन पनि पाँच पटक विश्वकप उपाधि जितेर कसैले राख्न नसकेको कीर्तिमान ब्राजिलले बनाएको छ । यद्यपि सन् २००२ देखि ब्राजिललाई उपाधिले पर्खिरहेको छ । अझ यस अवधिमा सन् २०१४ मा बाहेक ब्राजिल क्वाटरफाइनलमै हारिरहेको छ । सन् २०१४ मा पनि ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ ले लज्जास्पद पराजय बेहोरेको थियो । चार वर्षअघि क्रोसियासँग पेनाल्टी सुटआउटमा ब्राजिल अन्तिम चारमा निराश बनेको थियो । यस पटक रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियर र बार्सिलोनाका राफिन्हाले ब्राजिलको पुरानै साख फर्काउने अपेक्षा गरिएको छ । अर्का सुपरस्टार रोड्रिगो भने घुँडाको चोटका कारण टिममा पर्नुभएन । ब्राजिलका प्रशिक्षक कार्लो एन्सोलेटीले नेमारलाई समावेश गर्दै टिम घोषणा गर्नुभएको छ । स्ट्राइकर नेमार फिटनेसका कारण टिममा नपर्ने हल्ला थियो । ३४ वर्षीय नेमारले चौथो पटक विश्वकप खेल्न लाग्नुभएको हो । नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । उहाँले ब्राजिलको जर्सीमा ७९ गोल गर्नुभएको छ । विश्वकप छनोटमा ब्राजिलको प्रदर्शन अपेक्षा अनुरूप भएन । परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिनासँग सबै खेलमा ब्राजिल पराजित भएको थियो । दक्षिण अमेरिकी छनोट समूहमा पाँचौँ स्थानमा रहेर मात्र ब्राजिल विश्वकपमा पुगेको हो ।
मोरोक्को
गत विश्वकपमा मोरोक्कोले सेमिफाइनलसम्मको यात्रा गर्नु नचिताएको कुरा थियो । विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह चरणमा हराएर अगाडि बढेको मोरोक्कोले नकआउट चरणमा पनि एकसेएक टिमलाई पन्छाएको थियो । मोरोक्को प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिलो अरबी देश बनेको थियो । त्यसको तीन दिनपछि व्रिmस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई बिदा गरेर मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । यसपालि पछिल्लो साखलाई जोगाउने मोरोक्काको लक्ष्य हुने छ । गत जनवरीमा मोरोक्कोले अफ्रिकी कप अफ नेसन्सको आयोजना गरेको थियो । फाइनलमा घानासँग मोरोक्को पराजित भयो तर अफ्रिकी फुटबल महासङ्घले पछि रेफ्रीको अनुमतिबिना मैदान छोडेको भन्दै सेनेगलले फाइनल गुमाएको निर्णय गरेपछि अहिले मोरोक्कोको हैसियत अफ्रिकी च्याम्पियनको रूपमा पनि छ ।
हाइटी
क्यारेबियन राष्ट्र हाइटीले दोस्रो पटक विश्वकप फुटबल खेल्दै छ । उसले ५२ वर्षपछि फुटबलको सबभन्दा ठुलो मञ्चमा पुनरागमन जनाएको हो । कन्केकाफ छनोट समूह च्याम्पियन भएकाले पनि हाइटीले यस विश्वकपमा आफ्नो छाप छोड्ने अनुमान गरिएको छ । सन् १९७४ मा इटाली, पोल्यान्ड र अर्जेन्टिनासँग पराजित भएपछि हाइटी समूह चरणबाट बिदा भएको थियो । यस पटक पनि हाइटी सशक्त टिमको समूहमा परेको छ । हाइटी विश्वकपमा सहभागी ४८ राष्ट्रमध्ये दोस्रो सबभन्दा कम वरीयता प्राप्त टिम हो । न्युुजिल्यान्डभन्दा मात्र माथि रहेको हाइटीको फिफा वरीयता ८३ औँ स्थानमा छ । हाइटीको नेतृत्वमा ३२ वर्षीय डकेन्स नाजनले गर्नुहुने छ । उहाँले कन्केकाफ छनोटमा सर्वाधिक छ गोल गर्नुभएको थियो । कोस्टारिकाविरुद्धको खेलमा नाजनले ह्याट्रिकको गौरव हासिल गर्नुभएको थियो ।
स्कटल्यान्ड
स्कटल्यान्ड सन् १९९८ पछि विश्वकपमा खेल्दै छ । गत वर्ष छनोटको अन्तिम खेलमा डेनमार्कविरुद्ध अन्तिम समयमा गोल गरी स्कटल्यान्ड लामो प्रतीक्षापछि विश्वकपमा चयन भएको हो । स्ट्राइकर स्कट म्याकटोमोनीले स्कटल्यान्डको नेतृत्व गर्नुहुने छ । डेनमार्कविरुद्धको नाटकीय खेलमा म्याकटोमोनले पनि गोल गर्दा स्कटल्यान्ड विश्वकपमा पुगेको हो । यस टिमको प्रशिक्षकमा स्टिभ क्लार्क हुनुहुन्छ । जसले विगत सात वर्षदेखि स्कटल्यान्डको टिम हेरिरहनुभएको छ । उहाँकै प्रशिक्षकत्वमा स्कटल्यान्डले सन् २०२० र २०२४ मा भएको युरोपेली च्याम्पियनसिप खेलेको थियो । यद्यपि यी दुवै प्रतियोगितामा स्कटल्यान्डको चुनौती समूह चरणमै सकिएको थियो । स्कटल्यान्डले विगतमा आठ पटक विश्वकप खेलिसकेको छ । यद्यपि अहिलेसम्म उसले समूह चरण पार गर्न सकेको छैन ।
प्रतिक्रिया