लस-एन्जलस । आचार्य योग गुरु राजन शर्माले वेदको उच्चारणसंगै शान्तिको कामना हुने र त्यो भूमि स्वतः पवित्र हुने बताउनु भएको छ ।

बिहिबार लस-एन्जलसको श्री पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजित योग साधना शिविरको औपचारिक कार्यक्रममा योग गुरु शर्माले सनातान संस्कृतिको रहस्य सार्वजनिक गर्दै यस्तो विचार व्यक्त गर्नु भएको हो ।

विश्व गुरुदेश नेपाल भएको दावी गर्दै आचार्य योग गुरु राजन शर्माले वेदको उच्चारण गरिने स्थान, त्यहाँको कण-कणको पवित्रता, सौम्यता, र ब्रह्मचेतनाको संचारले त्यस्तो भूमि तपोभूमिमा रूपान्तरण हुने बताउनु भयो। उहाँले वेद कुनै साँघुरो घेरा नभएको र यो नील गगनजस्तै विशाल चेतनाको संदेश रहेको जानकारी दिनु भयो ।

सनातनको संस्कृति र सभ्यताको जड बेद भएको बताउदै आचार्य योग गुरु शर्मा भन्नु हुन्छ, “जसरी गङ्गाले कुनै भेद नगरी सबैलाई तिर्थ बनाएर छोएर जान्छे, त्यसैगरी वेदका मन्त्रहरूले सबै भूमि र सबै मुटुहरूमा शुद्धता भरून्।” — वेद–गङ्गा र समता–योगको दिव्य प्रतीक हुन् ।’

कार्यक्रममा शर्माले प्रत्येक नेपाली ऋषिका सन्तान भएकोले वेदको ज्ञानलाई आफ्नो जीवन र सेवकको रुपमा धारण गर्न समेत आग्रह गर्नु भयो ।

योग शिविर क्यालिफोर्नियाका लागि नेपाली अवैतनिक वाणिज्य दुत ऋषि पुनाखर ढकालको प्रमुख आतिथ्यतामा नेपाली अमेरिकनका जेष्ठ अभियन्ता वेद भक्त जोशी र अगुवा समाजसेवी राजेन्द्र सिवाकोटीको उपस्थितिमा सम्पन्न भएको थियो ।

ब्रम्हा मुर्त ध्यान समाज अमेरिकाका अध्यक्ष शारदा श्रेष्ठको संयोजन र सभापतित्वमा सम्पन्न ध्यान शिविरमा करिब ८० जना सनातन परिवारका सदस्यले योग र ध्यान बारे जानकारी लिएका थिए ।

आचार्य योग गुरु राजन शर्माले संक्षिप्त ध्यान विधिको योगका आसनहरु बारे जानकारी दिए लगत्तै ब्रम्हा मुर्त ध्यानका दीक्षितहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रतिक्रिया