ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

अबको पाँच वर्ष परिवर्तनको स्वर्णिम वर्ष बनाइने छ : कांग्रेस सभापति थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई देश परिवर्तनको स्वर्णिम वर्षका रूपमा विकास गर्ने उद्घोष गर्नुभएको छ । उहाँले वि.सं. २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई विगतबाट शिक्षा लिएर परिवर्तनको आधार वर्ष बनाइने बताउनुभएको हो ।

नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले बिहीबार सुर्खेतमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति थापाले मुलुक रूपान्तरणको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देश परिवर्तन गर्ने अवसर यही फागुन २१ गतेको चुनाव हो । कांग्रेसले सो अवधिलाई खेर जान दिने छैन ।”

फागुन २१ गतेको निर्वाचन बाध्यात्मक परिस्थितिमा आएको उल्लेख गर्दै उहाँले संविधानलाई सही मार्ग (ट्र्याक) मा ल्याउन कांग्रेसले वर्तमान सरकारलाई साथ दिएको स्पष्ट पार्नुभयो । सभापति थापाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको आन्दोलनलाई बिर्सन नहुने भन्दै विगतमा गठबन्धनका नाममा सरकार फेरिरहने र भागबन्डा गर्ने प्रवृत्तिले जनताले विकासको अनुभूति गर्न नपाएको स्वीकार गर्नुभयो । उहाँले आगामी पाँच वर्षमा नेपालीले स्वदेशमै रोजगारी पाउने र उपचारका लागि खर्च गर्न नपर्ने गरी कांग्रेसले काम गर्ने जिकिर गर्नुभयो ।

सभापति थापाले अन्य प्रदेशको तुलनामा कर्णालीको विकास महँगो र चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो । कर्णालीमा जलस्रोत, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहे पनि पर्याप्त बजेट र गहन योजनाको अभाव रहेको उहाँको भनाइ थियो । कर्णाली र मधेशजस्ता पछाडि पारिएका क्षेत्रको विकासका लागि आवश्यक परे संविधान र कानुनसमेत बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले समुन्नत नेपालको खाकासहित कांग्रेस निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले विगतका अधुरा काम पूरा गर्न र जनताको असन्तुष्टि सम्बोधन गर्न यस पटक कांग्रेसले देशको नेतृत्व गर्न चाहेको उल्लेख गर्नुभयो ।

कांग्रेसकी उपसभापति पुष्पा भुसाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति एवं दलित समुदायको सपना कांग्रेसले मात्र पूरा गर्न सक्ने दाबी गर्नुभएको छ । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उपसभापति भुसालले कर्णाली क्षेत्रका उम्मेदवारहरूको इमानदारिता, योजना र व्यक्तित्वलाई हेरेर मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो । उहाँले कांग्रेसले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र स्वच्छ छविका रहेको दाबीसमेत गर्नुभयो ।

नेपाली कांग्रेस अब नयाँ ढङ्गले बदलिएर आएको उल्लेख गर्दै उहाँले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएको जानकारी दिनुभयो । “पार्टीले घोषणा गरेका प्रधानमन्त्री पाउनका लागि कर्णालीका सबै क्षेत्रबाट कांग्रेस उम्मेदवारलाई जिताउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

कांग्रेस एक लोकतान्त्रिक पार्टी भएकाले सधैँ लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उपसभापति भुसालले देशको विकास र समृद्धिका लागि रुख चिह्नमा मतदान गरी कांग्रेसलाई साथ दिन नागरिकहरूसँग अनुरोध गर्नुभयो । कांग्रेसले किसान, महिला, बालबालिका र युवालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउँदै उहाँले आफ्नो पार्टीलाई मतमार्फत अनुमोदन गर्न अपिल गर्नुभयो ।

  himalayanvoice.com | १४ फाल्गुन २०८२, बिहीबार १५:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online