ट्रेण्डिङ्ग:

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ : उपेन्द्र महतो

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव रहेको बताउनुभएको छ।

शनिबार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घको १२ औँ एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले देश बनाउने सङ्कल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो। उहाँले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गर्नुभयो।

डा. महतोले आगामी १० वर्षमा १०० बिलियन (एक खर्ब) डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने दाबी गर्नुभयो। नेपालभित्र र बाहिर रहेका नेपालीको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिब १०० बिलियन डलर पुग्न लागिसकेको उहाँको भनाइ छ। हाल ८० लाख नेपाली बाहिर रहेको र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स (विप्रेषण) नेपाल भित्रिने गरेको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीसँग पनि जोडिएको छ। हामीले सङ्कल्प गर्ने हो भने १० वर्षमा १०० बिलियनको अर्थतन्त्र बनाउन असम्भव छैन।”

महतोले सरकारसँग गुनासो मात्र गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभयो। विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो। स्वदेशी र गैरआवासीय नेपालीको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा भित्रिन नसक्ने उहाँले स्पष्ट पार्नुभयो।

नेपालको निजी क्षेत्रले पछिल्लो समय गैरआवासीय नेपालीलाई बेवास्ता गरेको भन्दै उहाँले गुनासो समेत गर्नुभयो। केही व्यक्तिको मतभेदलाई लिएर संस्थालाई नै भेदभाव नगर्न आग्रह गर्दै उहाँले निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम गरे मात्र देशले छिटो आर्थिक प्रगति गर्ने बताउनुभयो। उहाँले विदेशमा बसेर सुझाव मात्र दिनुभन्दा नेपालमै आएर योगदान गर्न सबैलाई आग्रह गर्नुभयो।

  himalayanvoice.com | ३० फाल्गुन २०८२, शनिबार १०:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online