बार्सिलोना । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनले ‘नेपाल घर’ निर्माण अभियानलाई सफल बनाउन युरोपमै पहिलो पटक ५ दिने आध्यात्मिक महोत्सव आयोजना गरेको छ ।
एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार, स्पेनमा बसोबास गर्दै आएका नेपालीहरूलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा सहयोग पुर्याउने उद्धेश्यले ‘नेपाल घर’ निर्माणको परिकल्पना गरिएको हो। नेपाल घर मार्फत सनातन धर्म संस्कृतिको नित्य बैदिक कार्य संचालन गर्ने उद्धेश्य राखिएको छ ।
आध्यात्मिक महोत्सव अप्रिल ५ देखि सुरु भई अप्रिल १० सम्म सञ्चालन हुने जनाइएको छ। महोत्सव आयोजक व्यावसायिक समितिका संयोजक दिनेश गिरीका अनुसार अहिले सम्म ३ लाख यूरो सङ्कलन भइसकेको छ।
महोत्सवमा श्रीमद् भागवत गीता तथा बुद्ध उपदेशमा आधारित प्रवचनका लागि नेपालबाट प्रख्यात वाचक प्रवीण दिनबन्धु पोखरेलको विशेष आगमन भएको छ। कार्यक्रममा दैनिक भजन–कीर्तनसहित आध्यात्मिक प्रवचन सञ्चालन भइरहेको छ, जसले यहाँ रहेका नेपाली समुदायलाई धार्मिक तथा आत्मिक रूपमा एकताबद्ध बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार, ‘नेपाल घर’ निर्माण सम्पन्न भएपछि स्पेनमा रहेका नेपालीहरूका लागि यो एक साझा धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकास हुनेछ। साथै, भविष्यमा यस्ता कार्यक्रमहरूले नेपाली पहिचान र संस्कृतिको संरक्षणमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया