ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

नौ महिनामा जापानमा बाउन्न नेपालीले गुमाए ज्यान “कुनै पनि मुलुक जानुअघि विद्यार्थी र अभिभावकलाई भविष्यमा आउन सक्ने समस्याका बारेमा राम्रोसँग परामर्श दिन सकिएको भए सायद यस्ता घटनामा कमी आउँथ्यो कि !”

काठमाडौँ । वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई दिइने परामर्श व्यवसायमा विकराल समस्या देखिएको छ । सही परामर्शबिना नै उच्च शिक्षाका लागि बिदेसिने क्रम बढ्दा विदेश पुगेपछि थुप्रै विद्यार्थीले हैरानी बेहोरिरहेका छन् । त्यहाँ खेप्नुपरेको आर्थिक, मानसिक तथा अन्य तनावका कारण थुप्रै विद्यार्थीले ज्यानसमेत गुमाएका छन् । केही गलत व्यवसायीका कर्तुतका कारण उब्जिएको समस्या सल्टाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत हम्मे परेको छ । 

मन्त्रालयका अनुसार जापानमा मात्रै गत जुलाई/अगस्टदेखि अप्रिल १ सम्मको अवधिमा ५३ जना नेपालीले ज्यान गुमाएको तथ्याङ्क आएको छ । ज्यान गुमाएकामध्ये अधिकांश विद्यार्थी छन् भने धेरैले आत्महत्या गरेर ज्यान गुमाएका हुन् ।

मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्त कोइरालाका अनुसार एक वर्षभन्दा छोटो अवधिमा एकै मुलुकमा यति धेरैले अकालमा ज्यान गुमाएको घटनाले विदेश जानुअघि उनीहरूलाई राम्रोसँग परामर्श दिन सकिएन भन्ने पुष्टि गरेको बताउनुभयो ।

केही दिनअघि मात्रै जापानस्थित नेपाली दूतावासले यो तथ्याङ्क पठाउँदै परामर्श दातृ संस्थाको नाममा हुने बदमासीलाई कडाइका साथ अनुगमन गर्नुपर्ने बताएको छ । जापानमा आत्महत्या गरिएका भनिएका अधिकांश विद्यार्थीको मुख्य समस्या आर्थिक विषयसँग जोडिएको देखिएको कोइरालाले बताउनुभयो । अहिले जापानमा अध्ययन गर्न जाने विद्यार्थीले वैध रूपमा हप्तामा २८ घण्टा मात्रै काम गर्न पाउँछन् तर त्यही समयमा काम गर्न पनि रोजगारी नपाउने समस्या विकराल रूपमा देखिएको छ ।

केही विद्यार्थीले २८ घण्टाका साथै लुकिछिपी अन्य समयमा पनि काम गर्ने गरेको भए पनि सबैलाई यो अवस्था उपलब्ध हुँदैन । उपसचिव कोइरालाले भन्नुभयो, “कुनै पनि मुलुक जानुअघि विद्यार्थी र अभिभावकलाई भविष्यमा आउन सक्ने समस्याका बारेमा राम्रोसँग परामर्श दिन सकिएको भए सायद यस्ता घटनामा कमी आउँथ्यो कि !”

गलत परामर्श दिएर विद्यार्थीलाई फन्दामा पार्ने थुप्रै परामर्श व्यवसायीलाई कारबाहीको दायरामा ल्याउँदा पनि यो समस्या रोकिएको छैन । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी पनि आउने गरेको छ । कुनै उजुरी परामर्श व्यवसायीको नामै किटेर लिखित रूपमा आउने गरेको छ भने कुनै उजुरी मौखिक आउने गरेको छ ।

मन्त्रालयले आफूकहाँ आएको उजुरी अध्ययन गरेर आफूले सक्ने भए आफैँ र नसक्ने भए थप अध्ययन गरेर कारबाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाउने गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अनुसार पछिल्लो समय तीन दर्जनभन्दा बढी परामर्श व्यवसायीलाई अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइदिन अनुरोध गर्दै सिआइबीमा पठाइसकिएको छ ।

पछिल्लो समय शिक्षा मन्त्रालयले २०७४ सालमा परामर्श व्यवसायका लागि नयाँ संस्था दर्ता बन्द गरेपछि प्रदेशबाट दर्ता सुरु भएको छ तर कुन प्रदेशमा कति परामर्श दातृ कम्पनी दर्ता भएका छन् भन्ने यकिन तथ्याङ्क कुनै पनि सरकारी निकायसँग छैन । उपसचिव कोइरालाका अनुसार सङ्घमा ९२४ वटा परामर्श दातृ कम्पनी दर्ता भएकोमा ७५९ मात्रै नवीकरण भएका छन् ।

सङ्घमा दर्ता बन्द भएपछि गण्डकी प्रदेश, बागमती प्रदेशलगायत केही प्रदेशले कार्यविधि बनाएर दर्ता खुलाएका छन् भने अन्य प्रदेशले पनि दर्ता खुलाउने तयारी गरेका छन् तर उपसचिव कोइरालाका अनुसार अहिले चार हजारभन्दा बढी संस्था दर्ताबिना नै सञ्चालन भइरहेको अनुमान छ ।

परामर्श व्यवसायीको साझा संस्था नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले जापानमा यति छोटो समयमा विद्यार्थीले अकालमा ज्यान गुमाउनु भनेको निकै कहालीलाग्दो घटना भएको बताउनुभयो । इक्यानले आफ्ना सदस्यमार्फत विदेश जानुअघि विद्यार्थीलाई प्रशस्तै परामर्श दिने गरेको तर थुप्रै परामर्श व्यवसायी मुलुकभर छरिएर रहेको र सबैले स्तरीय परामर्श दिन नसक्दा यस्तो समस्या निम्तिएको हुन सक्ने पौडेलले बताउनुभयो ।

  himalayanvoice.com | २९ चैत्र २०८२, आईतवार २१:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online