पोखरा । पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई ४—२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा पुलिससँग आइतबार प्रतिस्पर्धा गर्ने भएको हो । आर्मीको जितमा चन्द्रा भण्डारीको दुई दिपा शाही र हिमा चौधरीले एक एक गोलको योगदान दिनुभयो ।
सङ्कटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गर्नुभएको थियो । पहिलो हापमा १—० ले पछि परेको सङ्कटाले आर्मी बिचको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा आर्मीसँग पराजित हुनुपर्यो ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजक आर एस पोखरा फुटबल क्लबले जनाएको छ ।
शुक्रबार भएको पहिलो खेलमा आयोजकमाथि ८–० को सानदार जित निकाल्दै नेपाल पुलिस क्लब फाइनलमा यात्रा तय गरेको हो ।
गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना गरिएको आयोजकको दाबी छ ।
प्रतिक्रिया