काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले भेट गर्नुभएको छ । सत्तारुढ दलका सभापति लामिछानेसँग शनिबार भेटवार्ता भएको विशेष दूत गोरले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराउनुभएको हो ।
भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबिचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।
भेटका क्रममा राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठुलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेकोसमेत बताउनुभएको छ ।
सभापति लामिछानेसँगको भेटको तस्बिर राख्दै गोरले लेख्नुभएको छ, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अतुलनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधार निकै आशलाग्दा छन् । आगामी दिनमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौँ ।’
नेपाल भ्रमणमा आउनुभएका गोरले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरिसक्नु भएको छ । फागुन २१ गतेको चुनावपछि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।
प्रतिक्रिया