पुरुषोत्तम ढकाल, लस-एन्जलस । फिफा विश्वकप फुटबल–२०२६ को समूह आईमा उपाधि दाबेदार फ्रान्स र दक्षिण अफ्रिकाको बलियो टिम सेनेगल परेका छन् । न्यु जर्सीको मेटलाइफ रङ्गशालामा पहिलो खेल सेनेगलविरुद्ध खेल्दा फ्रान्सले विश्वकप–२००२ को उद्घाटन खेलमा सो टिमविरुद्ध बेहोरेको स्तब्धकारी हारको सम्झना अवश्य गर्ने छ । एसियामा भएको सो विश्वकपमा नवप्रवेशी सेनेगलले उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई १–० ले पराजित गरेको थियो । पछिल्ला विश्वकप र युरो कप जितेर आएको जिनेदिन जिदानको फ्रान्स पहिलो चरणबाटै बिदा भयो । फ्रान्सलाई पतनको बाटोमा हुत्याउने सेनेगलको यात्रा क्वाटरफाइनलसम्म पुग्यो । सो विश्वकपदेखि अहिलेको विश्वकपसम्म सेनेगल विश्व फुटबलमा अझ बलियो बनिसकेको छ । यस विश्वकपमा इर्लिङ हालान्डको नर्वे र एसियाली राष्ट्र इराक पनि छन् ।
फ्रान्स
यसपालि च्याम्पियन बनेर फ्रान्स तीन तथा सोभन्दा बढी विश्वकप उपाधि जित्ने पाँचौँ राष्ट्र बन्न चाहन्छ । अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार÷चार तथा अर्जेन्टिनाले तीन पटक विश्वकपको उपाधि जितेका छन् । सन् १९९८ र २०१८ मा विश्वविजेता बन्ने फ्रान्सको यस पटक च्याम्पियन बन्ने सम्भावनालाई किलियन एम्बापे, ह्युगो इकिथिटके, ओसमान डेम्बेले, माइकल ओलिस जस्ता खेलाडीको उपस्थितिमा कसैले नकार्न सक्दैन । विश्वकपअघि भएका तयारी खेलमा फ्रान्सले ब्राजिललाई २–१ र कोलम्बियालाई ३–१ ले हराएर आफ्नो टिम लयमा रहेको पनि देखाइसकेको छ । फ्रान्सले टिमको प्रशिक्षकमा डिडियर डेस्चाँ छन् । सन् २०१२ देखि यस टिमको हेरचाह गरेको प्रशिक्षक डेस्चाँले यस प्रतियोगितापछि टिम छोड्ने सङ्केत गरेका छन् ।
पछिल्लो विश्वकपमा एम्बापेले आठ गोल गरेर सर्वाधिक गोकलर्तालाई प्रदान गरिने गोल्डेन बुट जितेका थिए । अर्जेन्टिनाविरुद्धको फाइनलमा एम्बापेले ह्याट्रिक पनि गरेका थिए । यसअघि विश्वकप फाइनलमा इङ्ग्ल्यान्डका ज्यौफ हस्र्ट (सन् १९६६) ले मात्र ह्याट्रिक गरेका थिए । २७ वर्षीय एम्बापेले ५६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । फ्रान्सका लागि सर्वाधिक गोलकर्ता ओलिभर जिरुको कीर्तिमान बराबरी गर्न एम्बापेलाई मात्र एक गोलको आवश्यकता छ । पछिल्लो विश्वकपमा फ्रान्स फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा हारेपछि निराश बनेको थियो । एम्बापेले अहिले पनि भन्छन, “सो हारलाई अहिलेसम्म बिर्सन सकेको छैन पछिल्लो पटक उपाधि रक्षा गर्नबाट अन्तिम खेलमा चुकेको फ्रान्सले दुई वर्ष अघ युरो च्याम्पियनसिपमा पनि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।”
नर्वे
नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकप फुटबल प्रतियोगिता खेल्दै छ । विश्वकपमा नर्वेको यो कुल चौथो सहभागिता हो । यस पटक २५ वर्षीय इर्लिङ हालान्डका कारण नर्वे विश्वकपमा हेर्नलायक टिमका रूपमा रहेको छ । हालान्ड अहिलेका विश्वकै उत्कृष्ट स्ट्राइकरभन्दा फरक पर्दैन । उहाँले प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पछिल्ला चार वर्ष हरेक सत्र ३० भन्दा बढी गोल गरेका छन् । हालान्डले नर्वेको जर्सीमा पनि ५५ गोल गरिसकेका छन् । हालान्डलाई पनि थाहा छ, यस पटकको विश्वकपमा नर्वेको छवि उच्च पार्न सबभन्दा ठुलो जिम्मेवारी उहाँकै हुने छ । उहाँका बुवा एल्फी हालान्डले पनि नर्वेका लागि विश्वकप (सन् १९९४) खेलिसकेका छन् । हालान्डबाहेक विश्वस्तरीय स्ट्राइकर अलेकज्यान्दर सोरलोथ पनि टिममा हुनुहुन्छ । त्यसैले पनि यस विश्वकपमा नर्वेको आक्रमण पङ्क्ति गजबको छ । नर्वेका कप्तान मार्टिन ओडगार्डको मिडफिल्डमा ठुलो जिम्मेवारी हुने छ । यद्यपि घुँडा र काँधको चोटका कारण यस सत्रमा उहाँले अपेक्षाकृत प्रदर्शन भने गर्न सक्नुभएको छैन । सन् २००० मा युरोपेल्ी च्याम्पियनसिपमा पहिलो चरणबाटै बिदा भएपछि नर्वेको यो पहिलो प्रमुख प्रतियोगिता हो ।
सेनेगल
सेनेगल लगातार तेस्रो पटक विश्वकपमा खेल्दै छ । यस विश्वकपअघि सेनेगल अफ्रिकी कप अफ नेसन्स २०२५ को उपाधि जितेको थियो तर अफ्रिकी फुटबल महासङ्घ (काफ) ले नतिजा उल्ट्याउँदै दुई महिनापछि मोरोक्कोलाई अफ्रिकी कप अफ नेसन्स–२०२५ को विजेता घोषित ग¥यो । विवादास्पद रूपमा खेल छाड्ने निर्णयका कारण काफले दुई महिनापछि नतिजा उल्टाउँदै सेनेगलको उपाधि खोसेको हो । राबतमा जनवरी १८ को फाइनलको अतिरिक्त समयमा मोरोक्कोलाई पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीले त्यसमा विरोध जनाउँदै मैदान छाडेका थिए । करिब १७ मिनेट ढिलाइपछि सेनेगलका खेलाडी मैदान फर्किए तर मोरोक्कोले पेनाल्टीमा गोल गर्न सकेन । त्यसपछि अतिरिक्त समयमा पापे गुयेले गोल गर्दै सेनेगललाई १–० को जित दिलाउनुभएको थियो तर मोरोक्कोको अपिलमा काफको अपिल कमिटीले मोरोक्कोको पक्षमा ३–० को नतिजा सुनाइयो र सेनेगल अफ्रिकी च्याम्पियन बन्न सकेन । सेनेगल सन् २०२१ मा सेनेगल अफ्रिकी च्याम्पियन बनेको थियो । यस पटकको विश्वकपमा सेनेगलका स्ट्राइकर साडियो माने हेर्नलायक खेलाडीका रूपमा रहने छन् । सेनेगलका लागि ५३ गोल गरिसकेका मानेले छनोट चरणमा पाँच गोल गरेका थिए । सेनेगलको टिममा गोलरक्षक इडुवार्ड मेन्डी, मिडफिल्डर इड्रिसा गुवे र डिफेन्डर कालिडोउ कोलीबेली पनि विश्वस्तरीय फुटबलर हुन् ।
इराक
एसियाली टिम इराक प्लेअफमा बोलिभियालाई हराएर विश्वकपमा स्थान बनाउन सफल भएको हो । सन् १९८६ पछि पहिलो पटक इराकले विश्वकप फुटबल खेल्दै छ । अस्ट्रेलियालाई प्छिल्ला दुई विश्वकपमा खेलाउने प्रशिक्षक ग्राहम आर्नोल्डले इराकी टिमको रेखदेख गरिरहेका छन् । इराकी टिममा रहेका ३० वर्षीय स्ट्राइकर ऐमेन हुसेन (३३ अन्तर्राष्ट्रिय गोल), फरवार्ड मोहनाद अल र मिडफिल्डर अमन अल–अमारी जस्ता खेलाडीले विश्वकपमा छाप छोड्ने अनुमान गरिएको छ । पछिल्ला १२ मध्ये दुई खेल मात्र हारेकाले पनि इराकलाई हलुका रूपमा कसैले लिने छैन ।
प्रतिक्रिया