ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कालो रात

- शोभा अधिकारी

मनको कुनैकुनामा जब पीडाको भुङ्ग्रो सल्किन्छ, त्यसले पोल्न थालेपछि मान्छे कि त मौन बस्छ कि त बर्बराउन थाल्छ । वनिताको मनमा त्यस्तै भुङ्ग्रोे सल्किएको थियो । पक्षाघातले थलिएका ससुरा समीरको बोली बन्द भयो भन्ने खबरले दिउँसैदेखि उनको मन भतभती पोलिरहेको थियो । सासूको मोबाइलबाट दिउँसो फोन गर्दा उनले भनेकी थिइन्, “ड्याडी !” उताबाट एउटा मलिन, कष्टपूर्ण आवाज मात्र आएको थियो, “हँ !” त्यो एउटा अक्षरमा कति पीडा थियो, कति विवशता थियो । त्यो आवाजले बनिताको मुटु छिया छिया पारेको थियो । उनी ससुरा थिए तर वनिताका लागि बाबुभन्दा कम थिएनन् । समीरले उनलाई सधैँ ‘छोरी’ भनेर बोलाए, समाजले दिएको ‘बुहारी’ को परिभाषालाई उनले आफ्नो घरको दैलोबाट कहिल्यै भित्र छिर्न दिएनन् । कतिसम्म भने कोही अपरिचितले सोध्थे, “हजुरको छोरीको घर कहाँ हो ?” समीर मुस्कुराउँदै भन्थे, “मेरो घर ।”

“अनि ज्वाइँको घर नि ?”

“त्यो पनि मेरै घर,” उनको जवाफ उस्तै हुन्थ्यो । मान्छेहरू अलमल्ल पर्थे तर त्यो जवाफमा लुकेको वात्सल्य र अपनत्व वनिताले जति कसले बुझेको थियो र ? त्यो रातको ११ बजेको हुँदो हो । दिनभरिको थकान र मनको बेचैनीसँगै वनिता सुत्ने तरखरमा थिइन् । त्यहीबेला पति सुरज कोठामा पसे । उनको अनुहार अँध्यारो थियो, आवाज काँपेको थियो । “बनिता नानी ! भोलि बिहान पहिलो प्लेनमा विराटनगर जानु पर्छ । ड्याडी… ड्याडीले हामीलाई छोडेर जानुभएछ । भर्खरै..” सुरजको त्यो वाक्य पूरा नहुँदै बनितालाई लाग्यो आकाशमा उडिरहेको सिङ्गो हवाईजहाज गल्र्यामगुर्लुम ढलेर उसैको टाउकोमाथि खसेको छ । संसार एकाएक शून्य भयो । आफ्नै बाबुभन्दा बढी माया गर्ने, हरेक पाइलामा छहारी दिने त्यो विशाल वृक्ष ढलेको खबरले उनको शरीर लल्याकलुलुक भयो । उनको हाँसो, उनको खुसी, उनको आडभरोसा सबै एकै रातमा खोसिएको थियो । सुरजभन्दा बढी उनी रोइन् । उनको चीत्कारमा एउटी बुहारीको होइन, प्राणभन्दा प्यारी छोरीले आफ्नो बाबु गुमाएको पीडा थियो । सुरज बेला बेला समालिँदै भन्थे, “नानी, प्लिज नरोऊ न । तिमी यसरी भत्कियौ भने म कसरी समालिने ? हामी कमजोर हुनु हुँदैन ।” तर वनिताको आँसुको भेललाई कसले रोक्न सक्थ्यो र ? त्यो रात उनीहरूको ओछ्यान आँसुले भिज्यो तर निद्रा परेन । एक झिमिक्क पनि आँखा लागेन । रातभरि उनीहरूले एउटा अँध्यारो र कहालीलाग्दो ‘कालो रात’ कटाए । भोलिपल्ट बिहानै आफ्नो सानो छोरालाई साथमा लिएर उनीहरू काठमाडौँबाट विराटनगर उडे । मनभरि त्रास र पीडाको भारी बोकेर घरको आँगनमा पुग्दा आँखाले त्यो दृश्य देख्यो, जुन उनी कहिल्यै देख्न चाहँदैनथिन् । घरको आँगनमा रहेको तुलसीको मोठनेर सेतो कपडाले बेरिएको उनको प्रिय ‘ड्याडी’ को निष्प्राण शरीर थियो । त्यो देख्नेबित्तिकै उनलाई त्यहीँ ढलेर, घ्याप्प अँगालो हालेर रुन मन थियो तर ससुराको मृत शरीरको छेवैमा पत्थर बनेर बसेकी सासूलाई देखेपछि उनले आफूलाई समालिन् । “म रोएँ भने आमा झन् कति रुनुहोला !” यही सोचेर उनले आफ्नो चीत्कारलाई घाँटीमै दबाइन् ।

आँखाबाट बगेको आँसुको धारालाई भने रोक्न सकिनन् । सासूको छेउ पर्दै, पछाडि फर्किंदै उनले मनको बह आँसु बनेर बगाइरहिन् । घाटमा लगेर आफ्नो प्यारो ड्याडीको देहमा दागबत्ती दिइँदै गर्दा वनितालाई लाग्यो, यो संसारमा सबैभन्दा दुःखी मान्छे मै हुँ । मेरो आकाशको सबैभन्दा चम्किलो तारा आज खसेको छ । पूर्वको चलन अनुसार छोराले जस्तै बुहारीले पनि किरिया बस्नु पर्छ भन्ने मान्यतालाई उनले शिरोधार्य गरिन् । कसैलाई नछोई, चोखो भएर उनी ससुराको काजकिरियामा बसिन् तर अरूका लागि यो शोक होला, उनका लागि भने यो माया खोसिएको पीडा थियो । उनलाई त्यो दिनको याद आयो, जुन दिन उनी यो घरमा बुहारी बनेर भित्रिएकी थिइन् । बिहेको दिन उनलाई अन्माउँदा माइतीका आफन्त र गाउँले सबै रोएका थिए । त्यस्तो रुवाबासी उनले जीवनमा कहिल्यै देखेकी थिइनन् । त्यहीबेला समीरले उनको हात समातेर भनेका थिए, “नरोऊ छोरी, तिमी एउटा घर छोडेर अर्को घर जाँदै छौ ।” पछि सम्धी सम्धिनी भेटघाट कार्यक्रममा समीरले सबैका अगाडि दुई हात जोडेर, मनकामनामाईतिर फर्केर एउटा वाचा गरेका थिए । उनको त्यो आवाज आज पनि वनिताको कानमा गुन्जिरहन्छ, “हेर्नुस् सम्धीज्यू, आफन्त, गाउँले ! आज हाम्रो हिन्दु संस्कार अनुसार छोराको बिहे भएकाले मैले बुहारी भिœयाएँ तर म यहाँ सबैलाई साक्षी राखेर वचन दिन्छु, आजको दिन मात्रै उनी मेरी बुहारी हुन् । भोलि बिहानको घाम झुल्केदेखि उनी यो घरकी जेठी छोरी हुनेछिन् । यिनलाई कहिल्यै हेला गरियो भने, यिनको आँखामा आँसु आयो भने त्यसको पाप मलाई लाग्ने छ ।”

उनले आफ्नी पत्नी, वनिताकी सासूलाई हेर्दै भनेका थिए, “सुन्यौ नि ! यिनी हाम्रो घरकी छोरी हुन् । छोरीलाई जस्तै माया दिनू ।” यी सब सम्झिँदा बनिताको छाती भक्कानिन्थ्यो । उनले आफ्नो फेसबुक खोलिन् र केही दिनअघि ड्याडीलाई सम्झिँदै लेखेको पोस्ट फेरि पढिन् । “सधैँ मलाई छोरीको दर्जा दिइसिएको थियो, कहिल्यै पनि बुहारी बन्न परेन । छोरी भनी सम्बोधन गरिसिन्थ्यो । ड्याडी, हजुरले हामीलाई छोडेर महाप्रस्थान गरिसियो भनेर कसरी विश्वास गरूँ ? हजुरको मायालु मुस्कान, बोलाइ, हरेक सल्लाह अझै कानमा गुन्जिरहेको छ । आज आँसु नै भाषा बनेको छ र मौनताले भावनाहरू सुनाइरहेको छ । ड्याडी, निःशब्द छु म…” यो पोस्ट पढ्दै गर्दा उनको आँसु किबोर्डमा खसिरहेको थियो । १३ दिनको किरिया सकियो । सबै कर्मकाण्ड पूरा भए । मान्छेहरू आआफ्ना घर लागे तर वनिताको मनमा भने त्यो ‘कालो रात’ कहिल्यै सकिएन । त्यो रात, जसले उनको जीवनको उज्यालो खोसेर लगेको थियो । त्यो रात, जसले उनको आडभरोसाको खम्बा ढालेको थियो । त्यो रात, जसले उनको सर्वस्व हरेको थियो तर त्यही कालो रातको अँध्यारोमा बसेर सोच्दा उनलाई एउटा अर्को सत्यको उज्यालो पनि देखिन थाल्यो । उनका ड्याडी शरीरले मात्र यो संसारबाट जानुभएको थियो तर उहाँले रोपेको संस्कार र मायाको बिरुवा कहिल्यै मर्दैनथ्यो । उहाँले एउटा ससुरा र बुहारीको सम्बन्धलाई कसरी बाबुछोरीको पवित्र सम्बन्धमा बदल्न सकिन्छ भन्ने अनुपम उदाहरण पेस गरेर जानुभएको थियो । आज वनिताको मनमा पीडा छ तर गर्व पनि छ । पीडा, आफ्नो प्रिय ड्याडी गुमाएकोमा अनि गर्व, त्यस्तो महान् मान्छेको छोरी बन्न पाएकोमा । समीरले आफ्नो जीवनबाट संसारभरिका ससुरालाई एउटा सन्देश दिएका छन् “बुहारीलाई पनि छोरी बनाउन सकिन्छ, अपनत्व र मायाले हरेक सम्बन्धलाई जित्न सकिन्छ ।” वनिताले पनि संसारभरिका बुहारीलाई पनि एउटा प्रेरणा दिएकी छन्– साँचो माया र सम्मानले रगतको सम्बन्धभन्दा पनि गहिरो नाता बनाउन सक्छ । उनको जीवनको त्यो ‘कालो रात’ सायद कहिल्यै उज्यालो हुने छैन, तर त्यही रातको तारा बनेर उनका ड्याडीले उनलाई सधैँभरि बाटो देखाइरहने छन् । उनको जीवनको कथा एउटा शोकको कथा मात्र होइन, यो त निःस्वार्थ माया र प्रेरणाको एउटा अजम्बरी अध्याय हो, जुन हरेक ससुरा बुहारीको सम्बन्धका लागि एउटा मार्गदर्शक बन्न सक्छ ।

  himalayanvoice.com | २२ मंसिर २०८२, आईतवार १२:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online