ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

क्विटो । इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उहाँ आबद्ध क्लबले जानकारी दिएको छ ।

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षमा गिरोह हिंसाको प्रमुख केन्द्रका रूपमा चिनिन थालेको छ र हालैका महिनामा इक्वेडरका थुप्रै फुटबल खेलाडी आक्रमणको निशानामा परेका छन् ।

३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश हुनुभएको थियो । यद्यपि सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उहाँ छनोट हुन सक्नुभएको थिएन । उहाँले सन् २०२२ मा ब्राजिलको क्लब फ्लुमिनेन्सका लागि पनि व्यावसायिक फुटबल खेल्नुभएको थियो ।

उहाँको क्लब बार्सिलोना एससीले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै भनेको छ, “गहिरो दुःखका साथ यो जानकारी गराइन्छ कि हाम्रा खेलाडी मारियो पिनिडाको निधन भएको छ । उहाँमाथि भएको आक्रमणपछि यो दुःखद घटना घटेको हो ।” क्लबले परिवारप्रति समवेदना व्यक्त गर्दै न्यायको माग पनि गरेको छ ।

पिनिडाको मृत्युको पुष्टि इक्वेडरको गृह मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार घटनाको गम्भीरता हेर्दै विशेष प्रहरी एकाइ परिचालन गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ । अपराधी पहिचान र पक्राउका लागि सुरक्षा निकाय सक्रियरूपमा खटिएको मन्त्रालयले जनाएको छ ।

डिजिटल समाचार माध्यम प्रिमिसियासका अनुसार मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पिनिडामाथि आक्रमण गरेका थिए । ती आक्रमणकारीले उहाँ, उहाँकी आमा तथा अर्को एक महिलामाथि अन्धाधुन्ध गोली प्रहार गरेको रिपोर्ट गरिएको छ । घटनामा अन्य घाइतेको अवस्था र आक्रमणको कारणबारे थप विवरण सार्वजनिक भइसकेको छैन ।

यसअघि सेप्टेम्बर महिनामा इक्वेडरको दोस्रो डिभिजनका तीन जना फुटबल खेलाडीको हत्या भएको थियो, जसमा एक जनाको हत्या कथितरूपमा खेलकुद सट्टेबाजीसँग जोडिएको बताइएको थियो । त्यसको एक महिनापछि स्थानीय फुटबल खेलाडी ब्रायन एङ्गुला पनि गोली हानाहानमा घाइते हुनुभएको थियो, जसले खेलकुद क्षेत्रसमेत आपराधिक हिंसाबाट सुरक्षित नरहेको देखाएको छ ।

कुनै समय ल्याटिन अमेरिकाकै सुरक्षित मुलुकमध्ये एक मानिने इक्वेडर पछिल्ला वर्षमा गम्भीर सुरक्षा सङ्कटमा फसेको छ । कोलम्बिया र पेरुजस्ता प्रमुख कोकेन उत्पादक राष्ट्र र विश्वका उपभोक्ता बजारबिचको मुख्य ट्रान्जिट हब बनेपछि देशमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोहको प्रभाव बढेको छ ।

विशेष गरी ग्वायाकिलमा कार बम विस्फोट, गोलीबारी र फिरौतीका घटना तीव्ररूपमा बढिरहेका छन् । आधिकारिक तथ्याङ्कअनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा मात्र ग्वायाकिलमा करिब एक हजार ९०० हत्याका घटना दर्ता भएका छन्, जुन इक्वेडरका अन्य सहरमध्ये सबैभन्दा बढी हो । यस्ता घटनाले देशको खेलकुद, सामाजिक सुरक्षा र समग्र स्थायित्वप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

  himalayanvoice.com | ३ पुष २०८२, बिहीबार ११:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online