ललितपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजनापछि उत्पन्न परिस्थितिको निकासका लागि द्धिपक्षीय वार्ता जारी छ । पुस २७ गतेदेखि जारी कांग्रेसको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि सकिएकाले विघटन गर्ने र १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित नहुँदासम्मका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि पारित गरेपछि नयाँ समझदारीका लागि शृङ्खलाबद्ध संवाद अगाडि बढाइएको हो ।
विशेष महाधिवेशनलाई सुरक्षित र सहमतिका साथ समापन गर्नेगरी सभापति शेरबहादुर देउवा पक्ष, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्ष र नेता डा. शेखर कोइराला पक्षबिच त्रिपक्षीय संवाद भएको छ । सस्थापनतर्फबाट विशेष महाधिवेशनका सन्दर्भमा संवाद अगाडि बढाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरू बालकृष्ण खाँण र रमेश लेखकलाई जिम्मेवारी दिनुभएको छ ।
विशेष महाधिवेशन आयोजक समितिका तर्फबाट नेताहरू देवराज घिमिरे, मधु आचार्य, गुरुराज घिमिरे र प्रदीप पौडेल हुनुहुन्छ । त्यसै गरी डा. कोइरालाका तर्फबाट सहमहामन्त्री जीवन परियार र नेता डा. मीनेन्द्र रिजाल सहभागी हुनुहुन्छ । उहाँहरूबिच चरणबद्ध वार्तामा विशेष महाधिवेशनसहित पार्टीभित्र रूपान्तरणका सन्दर्भमा उठाइएको विषय सम्बोधन गर्नेगरी संवाद भएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले उठाएका माग सम्बोधन गर्नेगरी सहमति जुटाउने प्रयासमा नेताहरू जुट्नुभएको छ । विशेष महाधिवेशन आयोजक समितिले उठाएका विशेष महाधिवेशनको स्वामित्व लिने, निर्वाचनमा गठबन्धन नगर्ने, विधान संशोधनसहितका विषयमा वार्ता निष्कर्ष उन्मुख छ । नेता रमेश लेखकका अनुसार वार्तामा केही सकारात्मक कुरा आएका छन् । उहाँले भन्नुभयो, “सकारात्मक रूपमै संवाद अघि बढाइएको छ ।
वार्ता निष्कर्षमा पुग्छ भन्ने हाम्रो विश्वास हो ।” महामन्त्री गगनकुमार थापाले निकासका लागि संवादको प्रयास गरिएको बताउनुभयो । उहाँले बाहिर जे समझदारी भए पनि त्यसलाई विशेष महाधिवेशनबाट अनुमोदन गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर आए जस्तो कुनै सहमति भएको छैन, संवाद भएको हो तर विशेष महाधिवेशनको बन्दसत्रको हलबाट बाहिर गएर कुनै निर्णय हुँदैन । जे हुन्छ, हलमै हुन्छ । यहाँ पारित भएको निर्णय अन्तिम हुन्छ ।”
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्ने भएको छ । मङ्गलबारका लागि तय भएको बैठक दुई पटक सरेर स्थगित भएपछि बुधबारका लागि आह्वान गरिएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने बताउनुभयो ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्नुभएको थियो तर पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको जानकारी दिइयो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आह्वानपछि उत्पन्न परिस्थितिको निकास आउने विश्वास व्यक्त गर्नुभएको छ । संस्थापन पक्षका नेताहरूसँगको बैठकमा उहाँले पार्टीको नियमित १५ औँ महाधिवेशनबाटै नयाँ नेतृत्व आउने र पार्टीलाई विग्रहमा लान नहुने बताउनुभएको हो । बैठकमा सहभागी प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवाले पार्टी बलियो बनाउनका लागि समझदारी गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया