काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसलाई वैधानिकता दिएको निर्वाचन आयोगको निर्णय विरुद्ध संस्थापन समूह आज सर्वोच्च अदालत पुगेको छ ।
बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च अदालत पुगेको संस्थापन समूह अहिले रिट निवेदन दर्ताको प्रक्रियामा रहेको काँग्रेसका नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो ।
पुष २७ देखि ३० गतेसम्म कामठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि संस्थापन समूह कानुनी उपचारमा लागेको हो ।
यसअघि शनिबार बसेको संस्थापन समूह को केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध आधिकारिकता दाबी गर्दै सवोच्च अदालत जाने निर्णय गरेको थियो ।
यसै बीच काँग्रेस संस्थापन समुहले दायर पेश गरेको रिटमा अध्ययन गरेर मंगलबारका लागि पेशी तोक्ने तयारी सर्वोच्चले गरेको छ। उम्मेदवारी दर्ताकै दिन देउवा पक्षको रिटको पेशी चढ्ने भएको छ।
प्रतिक्रिया