ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

देशको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरू सन्तोषजनक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।

प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर रु पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस महिनामा मात्रै रु एक खर्ब ९२ अर्ब ६२ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।

विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । यसैबीच, नेपाल सरकारको कूल खर्च रु ६९० अर्ब २२ करोड र राजस्व परिचालन रु ५७७ अर्ब ४० करोड पुगेको छ ।

मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।

ब्याजदरतर्फ बैङ्क तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तर बैङ्क दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ । वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

  himalayanvoice.com | २० माघ २०८२, सोमबार १५:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online