कञ्चनपुर । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिमको पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूको चहलपहल बढेको छ। भारतमा मजदुरी गरेर घर फर्किनेहरूको भीड एकातिर छ भने रोजगारीकै खोजीमा फेरि भारततर्फ लाग्नेहरूको लर्को पनि उस्तै देखिन्छ । एउटै समय, एउटै भूगोल तर भावनामा गहिरो भिन्नता ।
कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा बिहानैदेखि स्वदेश फर्किनेहरूको भीड देखिन्छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै भारतका विभिन्न सहरमा मजदुरी गरिरहेका नेपालीहरू मतदानका लागि घर फर्किरहेका छन् । काठमाडौँ घर भएका गणेश सुन्दास पाँच वर्षदेखि भारतमा पसिना बगाउँदै आएको बताउनुहुन्छ । परिवार टाढा राखेर काम गर्नुपरेको अनुभव सुनाउँदै उहाँ यस पटकको निर्वाचनले स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकार ल्याओस् भन्ने आशासहित फर्किएको बताउनुहुन्छ ।
भक्तपुरका रोशन नेपाली पनि भारतबाटै मत हाल्नका लागि फर्किनुभएको हो । नेताहरूले हरेक चुनावमा रोजगारी र विकासको आश्वासन दिने गरे पनि परिणाम देख्न नपाएको उहाँको गुनासो छ । यस पटक भने वास्तविक परिवर्तन देख्न पाइयोस् र देशमै केही गर्ने वातावरण बनोस् भन्ने अपेक्षा उहाँ व्यक्त गर्नुहुन्छ ।
वर्षौँदेखि रोजगारीका लागि भारत जान बाध्य भएको बताउँदै बाजुराका शेर बहादुर धामी गाउँघरमा उद्योग, कलकारखाना र आयआर्जनका अवसर नहुँदा परदेशिनुपरेको बताउनुहुन्छ । चुनावका बेला धेरै वाचा गरिए पनि कार्यान्वयन कमजोर हुने गरेको अनुभव सुनाउँदै उहाँ यस पटक भने गाउँमै काम गर्ने अवस्था सिर्जना होस् भन्ने चाहना राख्नुहुन्छ ।
उपचारका लागि समेत भारत जानुपर्ने बाध्यता रहेको गुनासो पनि उत्तिकै सुनिन्छ । बाजुराकी बुदी देवी धामी नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा अभावकै कारण ऋण गरेर भारत जानुपरेको बताउनुहुन्छ । गाउँ गाउँमै राम्रो अस्पताल र सेवा उपलब्ध भए परदेश धाउन नपर्ने भन्दै उहाँ स्वास्थ्य क्षेत्र सुधारको अपेक्षा गर्नुहुन्छ ।
कैलालीकी जानकी देवी रावल पनि उपचारपछि स्वदेश फर्किँदै हुनुहुन्छ । देशमै सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध भए गरिब नागरिकलाई ठूलो राहत हुने उहाँको भनाइ छ । निर्वाचनपछि बन्ने सरकारले स्वास्थ्य सेवामा सुधार ल्याओस् भन्ने उहाँको अपेक्षा छ ।
तर, महेन्द्रनगर बसपार्कमा दृश्य फरक छ । साँझ पर्नासाथ भारततर्फ जाने बसहरूको लाइन लाग्छ । हातमा सानो झोला र मनमा अनेक चिन्ता बोकेर युवाहरू फेरि सीमातर्फ लागिरहेका छन् । बैतडीका गणेश दत्त अवस्थी घरमा आम्दानीको स्रोत नहुँदा परिवार पाल्नकै लागि भारत जान बाध्य भएको बताउनुहुन्छ । चुनावले परिवर्तन गर्छ वा गर्दैन भन्ने अन्योल भए पनि अहिले काम गर्न जानै पर्ने उहाँको भनाइ छ ।
कञ्चनपुरका करन जोशी नेपालमै केही गर्न पाए राम्रो हुने तर अवसर अभावका कारण फेरि भारत जानुपरेको बताउनुहुन्छ । अवस्था सुध्रिए स्थायी रूपमा स्वदेशमै बस्न चाहने उहाँको चाहना छ ।
बाजुराका विष्णु मल्लले धेरै पटक आशा गरे पनि निराशा बढी हात परेको अनुभव सुनाउनुहुन्छ । काम नगरी बस्न नसकिने अवस्थाले पुनः भारत जान बाध्य बनाएको उहाँ बताउनुहुन्छ ।
एकातिर लोकतन्त्रमा आस्था राख्दै मत हाल्न फर्किनेहरू छन् भने अर्कोतिर जीवन धान्न बाध्य भएर फेरि परदेश जानेहरू । एउटै निर्वाचन, तर नागरिकको अनुभव र अपेक्षामा गहिरो अन्तर देखिन्छ । निर्वाचन लोकतन्त्रको महोत्सव भए पनि जबसम्म स्वदेशमै सम्मानजनक रोजगारी, गुणस्तरीय स्वास्थ्य सेवा र स्थिर भविष्यको प्रत्याभूति हुँदैन, तबसम्म सीमा नाकाहरूमा फर्किनेहरूको भीडसँगै परदेशिनेहरूको लर्को पनि उस्तै रहने देखिन्छ । अब प्रश्न यही छ( आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनले यी नागरिकका आशा र निराशाबीचको दूरी घटाउन सक्ला त ?
प्रतिक्रिया