ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा : निर्वाचन आयोग

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सह सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुर्याइसकिएको जानकारी दिनुभयो।

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वय+मसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्ने कार्य जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराईदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको उहाँले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिबाट गरिएका कार्य

निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको प्रवक्ता भट्टराईले जानकारी गराउनुभएको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील रहेका केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ‍८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

स्पष्टीकरण सोधिएको विवरण

आयोगबाट सोधिएका स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको संख्या ४ र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको संख्या ३३ रहेको उहाँले जानकारी गराउनुभएको छ ।

त्यस बाहेक सरकारी/शैक्षिक संस्था/कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ। प्रदेशगत रुपमा कोशी प्रदेशमा ८, मधेश प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ४, र सुदूरपश्चिम प्रदेशमा ४ वटा रहेका पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।

कारबाहीको निर्णय

आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया अन्तर्गत आयोगबाट सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निकायबाट स्पष्टीकरण समेत लिई सोउपर जाँचबुझपछि देहायको निर्णय भएको पत्रकार सम्मेलन मार्फत प्रवक्ता भट्टराईले बताउनुभएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) विपरीत कार्य गरेकोमा नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर बस्नेतलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु. २५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय भएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), (ण) र (प) प्रतिकूल कार्य गरेकोमा आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु. २५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय भएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ, आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेकोमा श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु. २५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय भएको छ।

उम्मेदवारलाई सचेत गराइएको

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति नदिन सचेत गराउने निर्णय भएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहनुभएकी जानुका पाठक (शोभा) ले जेनजी आन्दोलनमा रगतले लतपतिएको आइकोनिक जुत्ता दुरुपयोग नगर्न सचेत गराउँदै अब उप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही गरिने निर्णय भएको।

साविकको पदमा बहाल

गोरखापत्र संस्थानले निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (च) र (छ) विपरीत कार्य गरेकोमा मधेश प्रदेशस्तरीय कार्यालयका संयोजक धर्मेन्द्र कुमार झा र बागमती प्रदेशस्तरीय कार्यालयका संयोजक शालिग्राम नेपाललाई साविककै पदमा कार्य गर्न दिने गरी निर्णय भएको पनि प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ।

विभागीय कारबाही सिफारिस

वन तथा वातावरण मन्त्रालय अन्तर्गत ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक अभिव्यक्ति दिई निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेकोमा निजामती सेवा ऐन, २०४९ को दफा ४२ को उपदफा (१), ऐ, ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही गरी सोको जानकारी आयोगमा गराउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता भट्टराईले बताउनुभयो।

त्यसैगरी धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ मा रहेको श्री माध्यमिक विद्यालयका शिक्षक दिपनारायण ठाकुर राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेकोमा शिक्षा ऐन, २०२८ बमोजिम विभागीय कारबाही गरी आयोगमा जानकारी गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि प्रवक्ता भट्टराईले बताउनुभयो।

जिल्ला आचारसंहिता अनुमगन समितिबाट भएका काम कारबाही

जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल १,०७६ वटा उजुरी परेका र त्यसमध्ये १,०६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको जानकारी प्राप्त भएको प्रवक्ता भट्टराईले बताउनुभएको छ। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्। प्राप्त उजुरीमध्ये ९७ वटा (९प्रतिशत) लिखित र ९७९ ओटा (९१ प्रतिशत) टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए।

प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदुषण गरेको, शिक्षक तथा कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका रहेका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा तथा सहजीकरण

हालको सुरक्षा अवस्थाको समीक्षा तथा आगामी दिनमा राजनीतिक दल र उम्मेदवारले आयोजना गर्ने सभा, जुलुसलगायतका कार्यक्रम, प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पालना र मतदानको दिनको सुरक्षालाई प्रभावकारी बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको प्रवक्ता भट्टराईले जानकारी गराउनुभएको छ।

बैठकमा भएको समीक्षाबाट हालसम्मको सुरक्षा अवस्था सन्तोषजनक रहेको पाइएको छ भने मतदान पूर्व र मतदानको दिनमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन बैठकको निर्णयका आधारमा आयोगले नेपाल सरकारलाई सिफारिस गरेको उहाँले जानकारी दिनुभयो।

सिफारिस गरिएका विषय

यहिँ फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता भट्टराईले बताउनुभयो। साथै जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-बितरण तथा सेवनमा प्रतिबन्ध लगाउने।

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन) हरू, कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनहरू संवत् २०८२ साल फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्‍न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने।

मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत सञ्चालनको व्यवस्था मिलाउने। अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र घर/ बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउने।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गर्ने।

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा वा सवारी चालक अनुमतिपत्रको सक्‍कल प्रति लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरेको हुँदा सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सूचना संप्रेषण गर्ने। सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गर्ने।

  himalayanvoice.com | १५ फाल्गुन २०८२, शुक्रबार १५:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online