ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल मेष राशिलाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीप्राप्ति, कर्कट क्षति, सिंह घात, कन्या व्यय, तुला लाभ, वृश्चिक सुख, धनु माननाश, मकर कष्ट, कुम्भ स्त्रीपीडा र मीन सुख फल पाइने समितिले जनाएको छ । आजको ग्रहण मिथुन, वृश्चिक र मीन राशिकालाई शुभ छ ।

काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आज दिउँसो ३ः३४ मिनेटमा चन्द्रग्रहणले स्पर्श गरेको समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने समितिले जनाएको छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।

पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को दोस्रो ग्रहण हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र हुने, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिँगार पटार गरे कुष्ठरोगी हुने, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा)अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालले बताउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उहाँले सुनाउनुभयो । आज बिहान ०९ः०३ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

विशेष उपकरण बिना नै हेर्न सकिन्छ चन्द्रग्रहण
विश्वमा सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहणमध्ये नेपालबाट भने भोलिको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।

नेपालमा आज चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रष्ट रूपले हेर्न सकिन्छ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एकमात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । ग्रहण अवलोकन आफ्नो घरको छत, वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिन्छ । चन्द्रोदयसँगै नेपालमा सुरु हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उहाँले सुनाउनुभयो ।

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाँया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ । सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब पाँच डिग्रीको कोण बनाएको हुन्छ । त्यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई विन्दुमा काटेको हुन्छ । यी दुई विन्दुहरूलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उहाँले बताउनुभयो ।

कुन राशिलाई कस्तो फल छ ?
मेष राशिलाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीप्राप्ति, कर्कट क्षति, सिंह घात, कन्या व्यय, तुला लाभ, वृश्चिक सुख, धनु माननाश, मकर कष्ट, कुम्भ स्त्रीपीडा र मीन सुख फल पाइने समितिले जनाएको छ । आजको ग्रहण मिथुन, वृश्चिक र मीन राशिकालाई शुभ छ । बाँकी राशिलाई राम्रो फल नभएको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । रासस

  himalayanvoice.com | १९ फाल्गुन २०८२, मंगलवार १४:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online