काठमाडौँ । आइटिएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) अन्तर्गत बुधबार छात्रतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।
समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलङ्का उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमश: पहिलो र दोस्राे हुँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतको भेट नेपालसँग हुने छ भने श्रीलङ्काले पाकिस्ता विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिङ्गापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका छनोट हुने छन् । ब्वाइजमा बङ्गलादेश बाहेक ६ राष्ट्र सहभागी छन् ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार छात्रछात्रामा समान २–२ गरी चार खेल सम्पन्न भए ।
नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवैमा नेपाल समान ३–० को नतिजामा पराजित भयो । छात्रमा पाकिस्तानले नेपाललाई हरायो । सिङ्गल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजङ्ग कार्कीलाई ६–०, ६–२ तथा पाकिस्तानका मुहम्मद गिलले आरित मल्ललाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्नुभयो ।
डबल्समा पाकिस्तानका मुहम्मद फाइजन र गिलको जोडीले साहंश बस्नेत र सभ्यजङ्गको जोडीलाई ६–२, ६–१ ले हराउनुभयो । छात्रमै भारतले श्रीलङ्कालाई ३–० ले पाखा लगायो ।
पाँच राष्ट्र सहभागी गर्ल्स को राउन्ड रोविन लिगमा भारत र माल्दिभ्सले जित आत्मासात् गरे । भारतले नेपाललाई ३–० ले पन्छायो । सिङ्गल्समा भारतकी पी चतर्जीले आर्या पौडेललाई ६–२, ६–१ भारतकी अशिष कौरले सारा पन्तलाई ६–०, ६–२ तथा डबल्समा भारतका चौधरी सिंह र आशिष कौरको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४–६, ६–३, १०–४ ले पराजित गर्नुभयो ।
माल्दिभ्सले पाकिस्तानमाथि ३–० को जित निकाल्यो । तेस्राे दिनको खेल सकिँदा छात्रामा समान २–२ खेलेका भारत, श्रीलङ्का र नेपालले क्रमशः दुई, दुई र एक खेलमा जित हात पारेका छन् ।
माल्दिभ्स र पाकिस्तानले समान ३–३ खेल खेलिसकेका छन् । माल्दिभ्सले एक मा जित निकालेको छ भने पाकिस्तान जितविहीन छ । छात्रामा पनि शीर्ष दुई स्थानमा रहने टोली एसियाली फाइनलका लागि छानिने छ ।
प्रतिक्रिया