इलाम । ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ पाचौं संस्करणको ‘इलाम साहित्य महोत्सव २०८३’ आजदेखि इलाममा सुरु भएको छ । इलाम नगरपालिका अन्तर्गतको इलाम नगर साहित्य ,कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा हाङयुग–जुनिता फाउन्डेसन र इलाम साहित्य समाज सहआयोजक रहेको छ।
दुई दिनसम्म सञ्चालन हुने साहित्य महोत्सवमा राजनीति, भूराजनीति, शिक्षा, साहित्य, कला, पर्यटन, पर्यावरण र इतिहासजस्ता विषयमा बहस र विमर्श हुने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । महोत्सवको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल तथा भारतका सयभन्दा बढी स्रष्टा–सर्जक, सङ्गीतकर्मी, नेता, पत्रकार, अभियन्ता एकै थलोमा भेला भएका छन् । पहिलो दिन पर्यटन, मुन्धुम र पर्यावरण लगायत विभिन्न सम्भावना र चुनौतीबारे चर्चा हुने छ ।
पहिलो दिनको कार्यक्रम तालिका अनुसार ‘मुन्धुम र पर्यावरण संकट’, अर्जुनबाबु माबुहाङ्ग मुख्य सम्भाषण, ‘कविता : विरासतदेखि रिल्ससम्म’ शीर्षकमा वक्ता विनोदविक्रम केसी, रमेशचन्द्र अधिकारी, समदर्शी काइँला, रिमा केसी र सहजकर्ता बालिका थपलिया रहनुहुनेछ ।
पर्यटनको वैभव : समृद्धिको आधार विषयमा सुशीला सापकोटा, निरोज कट्टेल, अमिर राईसँग सहजकर्ता गिरिराज बाँसकोटाले बहस गर्ने कार्यक्रम छ । जराको कुरा : हाम्रो इतिहास चर्चा वक्ता युद्धप्रसाद वैद्य, मोहन मैनालीसँग सहजकर्ता सुजित मैनालीको बहस रहने छ भने आख्यान उपाख्यान शीर्षकका वक्ता केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघक सँग शैलेन्द्र अधिकारीले बहस गर्नु हुने तालिका छ । पहिलो दिन नै गजल साँझ हुनेछ । योगनिधी भट्टराई, जि. आर. न्यौपाने, पवित्रा प्रयत्न, भुईँ मान्छे, लोकेन खतिवडा, सागर बगर, सिंधु निरौला, संयोजक महेन्द्र विरही लगायत सहभागी हुने आयोजकले जनाएको छ ।
गायक पुष्पन प्रधान सङ्गीत कन्सर्ट पनि महोत्सवको मुख्य आकर्षक रहेको छ । ‘डिजिटल मासु भात र हामी पत्रकार’ लेखक तथा पत्रकार बसन्त बस्नेतको प्रस्तुति रहने छ ।
महोत्सवको दोस्रो दिनको शिक्षा विधेयकको सकस शीर्षकमा वक्ता डा. योगेन्द्रमान श्रेष्ठ, पूर्ण गौतम, टंक गौतम सँग सहजकर्ता सटेन्द्र जबेगुले बहस गर्नुहुनेछ भने सिमावर्ती साहित्य विषयमा वक्ता विनिता क्षेत्री, कृष्ण बराल, डा. ज्ञानेन्द्र यक्सो सहजकर्ता डा. हेम भण्डारीले बहस चलाउने कार्यक्रम छ ।
सांस्कृतिक नृत्य युनिक डान्स सेन्टरले प्रस्तुत गर्ने छ भने ‘कथा : हिमालवारि हिमालपारि’ वक्ता सुधीर शर्मासँग सहजकर्ता दीपक सापकोटाले बहस गर्ने कार्यक्रम रहेको छ ।
‘इलाम विकास : सुन्तला र हरित अर्थतन्त्र’ विषयमा इलाम १ का प्रतिनिधि सभा सांसद निष्कल राईको प्रस्तुति रहने जनाइएको छ । दोस्रो दिन कविता कन्सर्टमा विमल वैद्य, गंगा पुर्वाछाने, विनोदविक्रम केसी, देवव्रत, गजेन्द्र राई, रुद्र प्रभात, प्रदीप मेन्याङ्यो, विवश बलिभद्र कोइराला, टिका घिमिरे, प्रतिभा पौडेल, कविता राई गाउँले, जमा राई, सिर्जना याता श्रेष्ठ, राजकुमार सुब्बा अनिश्चित, चन्द्र सम्बहाम्फे, विराट किराँती, दिपेन्द्र आचार्य, शिव अधिकारी, जयनारायण भट्टराई, सुमन ल्वागुन, वीर चेम्जोङ्ग, सोम निरौला, जवनहरी शर्मा, तुलसी भट्टराई, मेघनाथ बन्धु लगायतको सहभागिता रहने छ ।
प्रतिक्रिया