“यो देशमा के नै छ र बस्नु ? न रोजगारी छ, न सुरक्षा छ, न राजनीतिक स्थिरता छ । प्रजातन्त्र आए पनि, लोकतन्त्र वा गणतन्त्र आए पनि यो मुलुक सुध्रिनेवाला छैन । मुलुक नै नसुध्रिएपछि हाम्रो वर्तमानमा त के हुनु, भविष्य पनि अन्धकार नै छ ।”
उसले देश छोड्नुअघिको कारण पनि अरूको भन्दा कत्ति फरक थिएन । यसै भन्दै युवापुस्ता बिदेसिइरहेछ देश नै रित्तो हुने गरी । सन्तान बिदा गरेका बाबुआमा विवशताका आँसु टिलपिलाएका आँखा पुछ्दै बस्न बाध्य छन् ।
जान त उच्चशिक्षा अध्ययन गर्नकै लागि भनेर गएथ्यो रमेश पनि । बाबुआमाले पुख्र्यौली धान खेत बेचेरै भए पनि छोरोको इच्छा पूरा गरिदिएथे । “विदेशमा पढेर आएपछि राम्रो जागिर पाइन्छ, त्यसपछि तपाईंहरूका दुःखका दिन सकिन्छन्,” बिदा हुने बेलामा बाबुआमालाई ढाडस दिँदै हिँडेथ्यो ऊ । छोराछोरीको इच्छा जसरी पनि पूरा गरिदिनै पर्ने बाध्यतामा हामी बाबुआमा छौँ । उनीहरूले भनेको कुरा, राखेको माग पूरा गरिदिएन भने घुर्की, धम्की दिनु त सामान्य नै भयो कतै गलत बाटोमै लाग्ने पो हुन् कि भन्ने डर पनि उत्तिकै रहन्छ । कमाइ खाने खेत बेच कि साहुसँग ऋण काढ, सन्तानको इच्छा त पु¥याउनै पर्छ । रमेशका बाबुआमाले पनि त्यसै गरेथे ।
पढाइ पूरा गरेपछिको पहिलो ग्य्राजुएसनमा बाबुआमालाई अमेरिका बोलाएथ्यो रमेशले । कान्छो छोरोको निम्तोमा अमेरिका पुगेका बाबुआमा हुनसम्म खुसी भएथे । एक महिना घुमघाम गरेर स्वदेश फर्किन लाग्दा रमेशलाई उसले पढ्न जाँदा गरेको वाचा सम्झाउँदै आफ्नै देश फर्किन आग्रह गरेका थिए । उनीहरूको आग्रहमा आशा थियो, भविष्यको भरोसा थियो, बुढेसकालको सहाराको अपेक्षा थियो ।
बाबुआमाको आग्रहलाई ठाडै अस्वीकार गर्दै उसले भनेथ्यो, “हेर्नूस्, विदेशमा आएर दुःख गरेर पढियो । बल्ल त पढाइ सकिएको छ । अब केही वर्ष यहाँको सुखभोग नगरी कसरी फर्किऔँ ! दुई-चार वर्ष काम गरेर कमाऔँ, अनि आउँला नि । अहिले नै हतारिएर फर्किने पक्षमा म छैन । तपाईंहरूले पनि त्यस्तो अपेक्षा गर्नु बेकार छ ।”
उसको दुई-चार वर्ष लम्बिएको लम्बियै भयो । खासमा कान्छो अमेरिकाको सुखभोगमा फस्यो । उसको सुखभोगको परिभाषा बाबुआमालाई भने कत्ति पनि चित्त बुझेको थिएन । गाउँघरमा साहुसँग ऋण काढेर घिउ खाए जस्तो पनि के सुखभोग ! गाडी चढेको छ ऋणमै, घर किनेको छ ऋणमै, घरका सरसामान सबै ऋणमै ! ‘ऋणम् व्रिmत्वा घृतम् पिवेत् !’
“बिहानदेखि बेलुकीसम्म दौडिएको छ, घण्टा घण्टाको कमाइ छ भन्छन् । न खाने टुङ्गो, न निश्चित छ सुत्ने समय ! हालत त्यस्तो छ ! खुबै घण्टाको कमाइ !!” बाबुआमा स्वदेश फर्किएपछि घरका अन्य जहान र छरछिमेकसँग यसै भन्थे ।
वास्तवमा उनीहरूले यसो भन्नु भनेको असन्तुष्टि पोखेको हो । असन्तुष्टि पोखेरै भए पनि मन त बुझाउनै प¥यो । सन्तानले माटोको माया नगरेपछि, आफ्नो जरा बिर्सिएपछि र घरपरिवारको बेवास्ता गरेपछि न फकाएर हुने रहेछ, न धम्क्याएर नै । अहिलेको पुस्तालाई न त धम्की दिएर हुन्छ, न त फकाएर नै फकिन्छन् । आफ्नो मालिक आफैँ ! न त जिम्मेवारीबोध, न त कर्तव्यपरायणता !!
त्यसो त, असन्तुष्टि रमेशका बाआमाको मात्रै होइन । छोराछोरी बिदेसिएका हरेक बाआमामा साझा असन्तुष्टि छन् । पटक पटक परिवर्तन त भयो तर कस्तो परिवर्तन ? किन व्यवस्था र शासनको मात्र परिवर्तन हुन्छ ? ५० वर्षअघिसम्म विश्वका गरिब मुलुकलाई खाद्यान्न सहयोग गर्ने मुलुक आज किन उनीहरूसँगै हात फैलाइरहेको छ ? उनीहरूले विकासको नाममा कायापटल गरिसक्दा पनि हामी भने किन झन् झन् ओरालो लागिरहेका छौँ ? शासनसत्तामा पुग्नेहरूले देशका बारेमा, नागरिकका बारेमा सोचेर काम नगर्दाको परिणाम नै पछौटेपन हो भन्ने भएपछि भुसले छोपिएको असन्तुष्टिको आगो एक पटक न एक पटक त दन्किनु नै थियो र दन्कियो !!
आगो महाभारतमा ‘खाण्डव दाह’ जस्तो भइदियो । छेकीछेकी, ताकीताकी । यस्तो दावानल न भूतो, न भविष्यति !! खरानी टकटक्याएर अगाडि बढ्नु छ, अवश्य बढिन्छ ।
विदेश जानेहरू त गइगए । उनीहरूको काम भनेको विरोध गर्नु, नानाभाँती गाली गर्नु र अर्तीबुद्धि दिनुभन्दा थप केही भएन । देशले अपेक्षा धेरै गरेथ्यो, परिवारले गरेको अपेक्षा त पूरा नगर्नेले देशको अपेक्षा कसरी पूरा गर्थे र ! जसलाई चाहिएको छ उसैले नै रगत र पसिना बगाउने हो । नागरिकले रगत र पसिना बगाएर बनाएका मुलुक धेरै छन् । केही नभएका मुलुक पनि सम्पन्न बनेका छन् । ६० वर्षअघिसम्म सुकुमवासीको बाहुल्य भएको सिङ्गापुर कति छिट्टै विकसित भएथ्यो ! हामीसँग त प्राकृतिक सम्पत्ति हुँदाहुँदै पनि उपयोग गर्न नसकेर गरिब बनेथ्यौँ । गरिबीको चव्रm सकिएपछि अब बल्ल सम्पन्नताको चव्रmमा प्रवेश गरेका छौँ । ४० वर्षपछि हाम्रो मुलुक अन्य धेरै मुलुकका लागि उदाहरण बनेको छ ।
उहिल्यै कुनै नेताले सिङ्गापुर बनाउने सपना देखेथे रे ! सपना नै नदेखी समृद्धि कसरी हुन्छ ? उनले देखेको सपना सही थियो । उनले सपना मात्रै देखेथे, गर्न केही पाएका थिएनन् । कसैले न कसैले त सपनाको जगमा घर बनाउनै पथ्र्यो । आखिर बनेरै छोड्यो । सपना पूरा हुन ५० वर्ष कुर्नु प¥यो । हुन सक्थ्यो, जसले सपना देखेथ्यो, उसको अवसानपछि उसका अनुयायीले इच्छाशक्ति देखाएका थिए भने २५ वा ३० वर्षमै पूरा हुन पनि असम्भव थिएन । गफले मात्रै केही हुने होइन रहेछ, गफ त धेरैले गरेथे ।
ढिलै भए पनि अब केही भएको छ । जे हुनुपथ्र्यो, त्यही भएको छ । ५० वर्षपछि नेपाल जस्तै विकसित मुलुक बनाउने होडमा विश्वका केही मुलुक निरन्तर लागिरहेकै छन् । यता नेपालले समृद्धिको फड्को मारेको मारेकै छ ।
विकासका लागि गरिने स्वच्छ प्रतिस्पर्धा आफैँमा नराम्रो होइन । प्रतिस्पर्धाले उन्नतिका ढोका र अवसर खुल्दै जाने रहेछन् । ४० वर्षपछि नै नेपालको दाँजोमा सिङ्गापुर, स्विट्जरल्यान्ड फिक्का पर्न थालेका थिए । अहिले त नेपालमा लगानी गर्नका लागि विदेशी लगानीकर्ता लाइनमा छन् । प्राकृतिक खानी, जलविद्युत् र पर्यटनकै माध्यमबाट कायापलट भएपछि लगानीका अनेक बाटा खोज्दै आइरहेका लगानीकर्तालाई अवसर दिन नसक्ने भएपछि सरकारले लगानी सम्मेलन नै गर्न छोडेको बर्सौं भइसकेको छ ।
नेपाल भ्रमणमा आउन चाहनेहरू भिसा नलागेर हैरान छन् । दिन फेरिन समय लाग्ने रहेछ । १२ वर्षमा खोलो फर्किन्छ भन्थे, उन्युँ पनि फुल्छ भन्थे । १२ चौको ४८ पनि नाघिसक्यो ! ५० वर्षअघि अमेरिका, जापान, बेलायत, क्यानडा, चीनलगायतका मुलुकमा जानका लागि भिसा अनुमति नपाएर नेपाली कति खिन्न हुन्थे । अहिले उनीहरू नेपाल आउनका लागि भिसा अनुमति नपाएर उसरी नै खिन्न छन् ! विश्वमा सगरमाथाको मुलुक नटेकी जन्म सार्थक नहुने मान्यता भइसकेको छ । भगवान् गौतम बुद्धको जन्मस्थल टेक्ने लालसामा विदेशीहरू तड्पिरहेछन् ।
आफ्नो भविष्य खोज्दै अमेरिका छिरेको रमेश पनि ७० वर्षको वृद्ध भइसकेको छ । २० वर्षको उमेरमा ऊ अमेरिका छिरेथ्यो । फर्केर आउन बाबुआमाले गर्नसम्म बिन्तीभाउ गरिरहे । उसले ठाडै अस्वीकार गर्दै बाबुआमालाई भनेथ्यो, “तपाईंहरू गाउँमा जन्मिनुभएको हो । गाउँले नपुगेर सहर पस्नुभयो । म सहरमै जन्मिएँ, सहरमै हुर्किएँ । तपाईंहरूले सहरमा उपलब्ध सबै सुविधा दिनुभयो । म सुविधाभोगी भएँ । त्यो सुविधाले मलाई पुगेन । अनि विदेश नआएर के गर्नु ? अब जसरी तपाईंहरू गाउँ फर्किएर बस्न सक्नुहुन्न, ठिक त्यसै गरी म पनि त्यता फर्किएर बस्न सक्दिनँ ।”
रमेशले ५० वर्षको समय अमेरिकामै बितायो । उसको प्रगतिको साक्षी ऊ आफैँ भयो । उसलाई यताको न चासो रह्यो, न त चिन्ता नै । समय र कुमालेको चव्रm उसरी नै घुमिरहन्छन् । दिनपछि रात आए जस्तै त रहेछ नि समुन्नति पनि । सबैले समृद्धि नै हेर्न चाहने रहेछन् । त्यही भएर त विदेशी भन्दै छन्, “चन्द्रमामा पुग्न बरु सजिलो होला, नेपाल जाने अवसर
नै पाइएन ।”
रमेशको परिवारले अमेरिकामा हरेक क्षेत्रमा प्रगति ग¥यो । उसले जे चाहेको थियो, सोही ग¥यो तर जन्मभूमिप्रति न त मोह नै राख्यो, न त दायित्व नै सम्झियो । उसको नाति अमेरिकाकै नामुद गल्फ खेलाडीमा गनिएको छ । अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा भाग लिन अनेक मुलुक पुगिसकेको छ र पुरस्कार तथा सम्मान पनि थुप्रै जितिसकेको छ । यस पटक भने नेपालमा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता हुने भएपछि रमेशको नाति पनि प्रतियोगितामा भाग लिन नेपाल आउने भयो । नातिसँगै आफ्नो जन्मभूमि आउनका लागि रमेशले पनि दम्पतीकै लागि भिसा अनुमति माग गर्दै अमेरिकास्थित नेपाली दूतावासमा निवेदन दिएको थियो । संयोगले यस पटक भने उसको भिसा लाग्यो । नातिसँगै जन्मभूमि आउन पाउने भएपछि रमेश त्यसै त्यसै फुरुङ्ङ परेथ्यो । बैँस छउन्जेल, काम गर्न र कमाउन सकुन्जेल, अझ भन्नै पर्दा बाबुआमाले अनुनय विनय गरुन्जेल ऊ आउँदै आएन । अहिले बुढेसकालमा भने उसलाई किन किन भित्रैदेखि आउँ आउँ लाग्यो र आयो ।
ओखलढुङ्गा जिल्लाको छहरेगाउँमा जन्मीहुर्की गरेको रमेश लामो समयको अन्तरालमा बिरानो जस्तै बनेको थियो । बिरानो पनि कसरी पो नबनोस्, चार दिनको बाटो पैदल हिँडेरै मोटरबाटो भेट्न आइपुगेको सम्झना अझै जीवितै थियो । त्यस गाउँमा मोटरबाटो पुग्छ भन्ने त कसैको कल्पनामै थिएन । सडक मात्र पुगेको होइन, के के पुग्यो पुग्यो ! काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सिधै द्रुत रेलमार्गबाट जहाँ अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता हुँदै थियो, सोही स्थलमा पुगेको थियो !
अमेरिकी नागरिक बनेपछि उसले अनेक मुलुकको भ्रमण गरेको थियो । डाँडाकाँडामा रेल कुदेको देखेथ्यो । आफ्नै मुलुक जहाँ केही छैन, केही हुँदैन भन्दै सुनौलो भविष्यको खोजीमा अमेरिका छिरेपछि पछाडि फर्किएर नहेरेको रमेशका लागि काठमाडौँदेखि विद्युतीय द्रुत रेलसेवामार्फत ओखलढुङ्गाको टोहोरे पुग्नु आठौँ आश्चर्य मात्र नभएर जादुमयी चमत्कार नै थियो ! टोहोरेमा त यस्तो छ भने अन्यत्र कस्तो
होला ! उसले विगतको टोहोरे एकाएक सम्झियोः
ऊ सानो छँदा हजुरबुवाले टोहोरेका खर्कको बारेमा सुनाइरहनुहुन्थ्यो । ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने टोहोरे, गिद्धे, खस्रेलगायतका स्थानमा प्रशस्त घाँसे नागी भएकाले गाउँका धेरैजसोले गोठ राख्दथे । उसका हजुरबुवा पनि गाईवस्तु लिएर वर्षको पाँच÷छ महिनासम्म खर्कमै बस्थे । बुवा पनि केटाकेटी बेलैमा केही समय हजुरबुवासँग खर्कमा बसेको स्मरण सुनाउनुहुन्थ्यो । चिसो मौसम, छिनमै कुहिरोले ढाक्ने, छिनमै छोड्ने, ठुला ठुला नागी, अलिक तल लालीगुराँसको जङ्गल । लालीगुराँस भन्नु मात्रै राता, गुलाबी, सेता, बैजनी अनेक रङ्गमा लटरम्म फुलेका गुराँस ! बर्खामा जुका लाग्ने समस्या र जङ्गली जनावरले चरनमा वस्तुभाउ मार्ने खतरा नहुने हो भने खर्कका जीवन उसबेलामा पाइनसक्नुको थियो । दही, दुध, घिउको छेलोखेलो भएपछि मोही कसले पो खाओस् ! हजुरबुवाका दिन थिए यी ।
तिनै खर्कमा यतिबेला एकसेएक रिसोर्ट बनेका छन् । विदेशी पर्यटकले रिसोर्ट भरिभराउ छन् । द्रुत रेलमा नचढ्ने भिआइपी टुरिष्टलाई ट्राभल एजेन्सीले हेलिकोप्टरमा ओसारिरहेका छन् । रिसोर्ट बुकिङ नपाएर पालो कुरेर बस्ने अन्यत्रको ‘ट्रिप’ मिलाएर गएका पनि छन् । यिनै नागीमा बनाइएका अन्तर्राष्ट्रिय स्तरका गल्फ कोर्टहरूमा ‘अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता’ हुन लागेको छ र रमेशको नाति नेपल्सले पनि अमेरिकाका तर्फबाट भाग लिएको छ । ऊ पितृभूमिमा गल्फ खेल्नका लागि निकै उत्साहित देखिन्छ । विश्वका अधिकांश मुलुकका गल्फ खेलाडीले भाग लिएको यो प्रतियोगिता निकै रोचक बनेको थियो । प्रतियोगितामा आयोजक मुलुकका तर्फबाट भाग लिएका खेलाडी उत्तमले सबै मुलुकका खेलाडीलाई उछिनेर प्रथम पुरस्कार हासिल गर्न सफल भए । यो हुनुमा कुनै आश्चर्य थिएन । उनलाई ‘होम ग्राउन्ड’ हुनुको फाइदा पनि मिलेको थियो । दोस्रो स्थान हासिल गर्नेमा नेपल्सको नाम आयो ।
प्रथम स्थान हासिल गर्ने खेलाडीप्रति रमेश एकाएक आकर्षित भयो । उसको मनमा कताकता आफ्नै परिवारको पो हो कि जस्तो लाग्यो । सोधीखोजी गर्दा उसले पहिले त बताउन आनाकानी ग¥यो तर एक जना विदेशी वृद्धले धेरै उत्सुकता देखाएपछि आफू नजिकैको स्थानीयवासी भएको बतायो । रमेशले ‘तिम्रो फेस त मेरो दाइको जस्तै लाग्यो’ भनेपछि आफ्नो पारिवारिक जानकारीसमेत गराइदियो ।
उसका कुरा सुनेर छक्क परेको रमेशलाई हेरेर उत्तम झनै तीनछक्क परिरहेको थियो । प्रथम हुने उत्तम र दोस्रो हुने नेपल्स दाजुभाइ भएको रमेशले पत्तो पाउन समय लागेन । आफ्नो काका अमेरिकामा भएको त उत्तमले पनि सुनेको थियो तर कहिल्यै सम्पर्क भएको भने थिएन । आज काकासँग भेट भएर उसलाई लाग्नसम्मको खुसी लाग्यो । अझ बढी खुसी त प्रतिस्पर्धामा दाजुभाइ नै प्रथम र दोस्रो भएकोमा लागेथ्यो ।
रमेशका लागि यो प्रतियोगिता पारिवारिक पुनर्मिलन भइदियो । हजुरबाको पालोमा खर्क राखिने गरेको टोहोरे, गिद्धे र खस्रेको विकास देखेर ऊ आश्चर्यचकित भइरहेको थियो । ५० वर्षपछिको विकासको फड्को सपना जस्तै लागिरहेको थियो । नलागोस् पनि कसरी ! सबैभन्दा पिछडिएका पहाडी नागी त यस्ता भए भने अन्यत्र कस्तो भएको होला ? अनेक सपना देखेर ऊबेला बिदेसिएको थियो । ५० वर्षपछि पर्यटक बनेर आउनका लागि पनि नातिको सहारा लिनु पर्यो । केबुलकार चढेर सेर्नेटारसम्म आउँदा सानोमा आमासँगै सेर्नेखोलामा घट्टमा कोदो पिसाउन गएको सम्झना उसलाई झलझली आइरह्यो ।
त्यसो त रमेश पनि इन्जिनियर नै हो तर विकासको ‘नेपाल मोडल’ उसले कत्ति पनि भेउ पाउन सकिरहेको थिएन । नेपल्स भने भन्दै थियो, “हजुरबा ! के हामी पनि यतै आएर बस्न सक्दैनौँ ?” आफूले देश छाडेको ५० वर्षपछि नातिको प्रश्नमा ऊ निरुत्तर बनेको थियो ।
प्रतिक्रिया