ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

विश्वकप–२०२६ खेल्ने यी दस महानतम फुटबलरहरुले गर्नेछन रोमान्चक गोल महानतम खेलाडीको रुपमा चर्चित अनुहारहरु लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बापे, इर्लिङ हालान्ड, लामिने यमाल, उस्मान डेम्बेले, नेमार, मोहम्मद सलाह, युड बेलिङ्घम र क्रिस्टियन पुलिसिचले विश्वकप–२०२६ मा फुटबल खेलको आ-आफ्ना शिल्पी, शैली मार्फत उत्कृष्ट गोलहरु गर्नेछन ।

पुरुषोत्तम ढकाल, लस-एन्जलस। इतिहासमा आफ्नो नाम लेखाउन र चर्चित हुन विश्वकप सबभन्दा ठुलो मौका भएकाले पनि खेलाडी विश्वकपमा आफूले सक्दो प्रयास गर्छन् । विश्वकप फुटबल–२०२६ मा पनि केही चर्चित खेलाडीले फुटबल इतिहासमा आफ्नो नाम महानतम खेलाडीको सूचीमा लेखाउन भरमग्दुर प्रयास गर्ने आशा गर्न सकिन्छ । आगामी विश्वकपमा यी १० खेलाडी सर्वाधिक हेर्नलायक खेलाडीका रूपमा रहेका छन् ।

१. लियोनेल मेसी

लियोनेल मेसीले चार वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदै आफ्नो खेल जीवनको सबभन्दा ठुलो सपना पूरा गर्नुभयो । मेसीले विश्वकप ट्रफीका लागि १८ वर्ष पर्खनुभएको थियो । कतार विश्वकपलाई मेसीकै विश्वकपका रूपमा सम्झना गरिने छ । मेसीले क्लब, देश र व्यक्तिगत रूपमा लगभग सबै प्रमुख उपाधि जितिसक्नुभएको छ । उहाँ अहिले डिएगो म्याराडोना र पेलेसरह सर्वकालीन महान् फुटबलर हुन् कि होइनन् भन्ने बहस जारी छ । मेसीले लगातार दोस्रो पटक विश्वकप जितेमा उहाँको सो दाबी अझ बलियो हुने छ । मेसी अहिले विश्वकप आयोजक अमेरिकाकै इन्टर मियामी सिएफबाट खेलिरहनुभएको छ । यद्यपि विश्वकप सुरु हुन दुई साताअघि ३८ वर्षीय मेसी इन्टर मियामीको खेल मैदान छाड्न बाध्य हुनुभएको थियो । उहाँको मांसपेशीमा खिचाव उत्पन्न भएको थियो । त्यसैले अर्जेन्टिना र मेसीका समर्थक केही चिन्तित छन् ।

२. क्रिस्टियानो रोनाल्डो

विश्व फुटबलमा लियोनेल मेसीसँगै यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी मानिएका क्रिस्टियानो रोनाल्डोलाई विश्वकप ट्रफीले लोभ्याइरहेको छ । विश्वकपबाहेक आफ्नो सङ्ग्रहमा प्रायः सबै ट्रफी जम्मा गरिसकेका ४१ वर्षीय रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ । उहाँका गौरवशाली खेल जीवनमा छुटेको एक मात्र ठुलो उपाधिको खोजीमा रोनाल्डो छैटौँ पटक विश्वकप खेल्दै हुनुहुन्छ । उहाँको सङग्रहमा पाँच च्याम्पियन्स लिग उपाधि र एक युरोपियन च्याम्पियनसिप ट्रफी तथा दुई पटक नेसन्स लिग उपाधि रहेका छन् । पाँच पटक बालन डी ओर जितिसकेका रोनाल्डो सर्वाधक अन्तर्राष्ट्रिय गोल (१४३) गर्ने खेलाडी पनि हुनुहुन्छ । यद्यपि रोनाल्डोको उपाधि जित्न भोक अलिकति पनि कम भएको छैन । पोर्चुगलका कप्तान रोनाल्डो अल नासर एफसीलाई साउदी लिगको उपाधि दिलाएर विश्वकपमा प्रवेश गर्दै हुनुहुन्छ ।

३. किलियन एम्बापे

एम्बापेलाई लामो समयदेखि मेसी र रोनाल्डोपछि विश्वकै उत्कृष्ट खेलाडी बन्ने सम्भावित उत्तराधिकारी मानिँदै आएको छ । उहाँले १९ वर्षकै उमेरमा फ्रान्सलाई विश्वकप पनि दिलाउनुभयो । पछिल्लो संस्करणको फाइनलमा एम्बापेले ह्याट्रिक गरेर पनि फ्रान्सलाई जिताउन सक्नुभएन । पछिल्लो विश्वकपमा गोल्डेन बुट जित्ने एम्बापे नै हुनुहुन्थ्यो । विश्वकप विजेता र अन्य धेरै उपाधि जितिसकेको भए पनि एम्बापेले अझै च्याम्पियन्स लिग र बालोन डी ओर हासिल गर्न सक्नुभएको छैन । त्यसैले पनि उहाँलाई यस पुस्ताका सर्वश्रेष्ठ खेलाडीमध्ये एक मान्नेमा नै प्रश्न उठ्ने गरेको छ । यसपालि फ्रान्सलाई फेरि विश्वकप दिलाउन सकेमा एम्बापे यस वर्षको बालोन डी ओर जित्ने बलियो दाबेदार बन्न सक्नुहुने छ ।

४. इर्लिङ हालान्ड

म्यान्चेस्टर सिटीका स्ट्राइकर हालान्ड आफ्नो पहिलो पटक विश्वकप फुटबल प्रतियोगिता खेल्दै हुनुहन्छ । हालान्ड अहिलेका विश्वकै उत्कृष्ट स्ट्राइकरभन्दा फरक पर्दैन । उहाँले प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पछिल्ला चार वर्ष हरेक सत्र ३० भन्दा बढी गोल गर्नुभएको छ । हालान्डले नर्वेको जर्सीमा पनि ५५ गोल गरिसक्नुभएको छ । हालान्डलाई पनि थाहा छ, यस पटकको विश्वकपमा नर्वेको छवि उच्च पार्न सबभन्दा ठुलो जिम्मेवारी उहाँकै हुने छ । उहाँका बुवा एल्फी हालान्डले पनि नर्वेका लागि विश्वकप (सन् १९९४) खेलिसक्नुभएको छ । हालान्ड यस विश्वकपको सबैभन्दा घातक फरवार्डमध्ये एक हुनुहुन्छ ।

५. लामिने यमाल

स्पेनका किशोर उमेरका फरवार्ड यमालले सन् २०२४ मा स्पेनलाई युरापेली च्याम्पियन बनाउन महìवपूर्ण भूमिका खेलेर आफ्नो क्षमता देखाइसक्नुभएको छ । १८ वर्षीय यमाल अझ अनुभवी भएर विश्वकप खेल्दै हुनुहुन्छ । तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ र सिर्जनशील खेल शैलीका कारण यमालको तुलना मेसीसँग हुने गर्दछ । भविष्यमा मेसी र रोनाल्डोले छोड्ने खाली स्थान भर्ने सबैभन्दा सम्भावित खेलाडी यमाल हुनुहुन्छ भन्दा फरक पर्दैन ।

६. उस्मान डेम्बेले

हालका बालोन डी ओर विजेता डेम्बेले लगातार च्याम्पियन्स लिग विजेता बनेर विश्वकप खेल्दै हुनुहुन्छ । तीन वर्षअघि पेरिस सेन्ट जर्मेनमा आबद्ध भएपछि फ्रान्सका यी फरवार्ड गजबले विश्व फुटबलको उचाइमा पुगेका छन् । उहाँकै उपस्थितिले पनि फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रूपमा लिइएको छ ।

७. नेमार

नेमारले आफ्नो खेल जीवनमा ब्राजिललाई धेरै खेल जिताउनुभएको छ । । यद्यपि ब्राजिललाई छैटौँ विश्वकप दिलाउने सपना अझै पूरा भएको छैन । ३४ वर्षीय नेमारले चौथो पटक विश्वकप खेल्न लाग्नुभएको हो । नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । उहाँले ब्राजिलको जर्सीमा ७९ गोल गर्नुभएको छ । ३४ वर्षीय स्ट्राइकर नेमार फिटनेसका कारण टिममा नपर्ने हल्ला थियो तर हाल ब्राजिलको कमजोर प्रदर्शनपछि प्रशिक्षक कार्लो एन्सोलेटीले नेमारलाई विश्वकप टोलीमा समावेश गर्नुभएको हो ।

८. मोहम्मद सलाह

मोहम्मद सलाह इजिप्टका आदर्श फुटबलर हुनुहुन्छ । उहाँले इजिप्टका लागि ४४२ खेलमा २५७ गोल गर्नुभएको छ । च्याम्पियन्स लिग तथा दुई प्रिमियर लिग उपाधि सलाहको सङ्ग्रहमा रहेका छन् । इजिप्टका समर्थकले विश्वकपमा सलाह उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् । गत सत्र इङ्ग्लिस प्रिमियर लिगमा गोल्डेन बुट जितेर सानदार लयमा रहेको सलाहको टिम इजिप्ट प्ले अफमा सेनेगलसँग टाइब्रेकरमा हारेपछि विश्वकपमा चयन हुन सकेन । पेनाल्टीमा गोल गर्न नसक्ने खेलाडी सलाह नै थिए । त्यसैले पनि सलाहले यस विश्वकपमा सो पीडा भुलाउन प्रयास गर्नुहुने छ ।

९. युड बेलिङ्घम

युड बेलिङ्घम विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली मिडफिल्डरमध्ये एक मानिएको छ । रियल म्याड्रिडमा आबद्ध भएपछि उहाँले पहिलो सत्रमै क्लबलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन सहयोग गर्नुभएको थियो । यसै गरी उहाँले दुई वर्षअघि इङ्ग्ल्यान्डलाई युरो फाइनलसम्म पु¥याउन पनि ठुलो भूमिका खेल्नुभएको थियो ।

१०. क्रिस्टियन पुलिसिच

पुलिसिचलाई अमेरिकी फुटबलको सुपरस्टार खेलाडी हुनुहुन्छ । उहाँसँग जर्मनी, इङ्ग्ल्यान्ड र इटालीका ठुला क्लबमा खेलेको अनुभव छ । चेल्सीमा आबद्ध हुँदा पुलिसिचले च्याम्पियन्स लिग पनि जित्नुभएको थियो । पुलिसिच हाल इटालीको ठुलो क्लब एसी मिलानमा आबद्ध हुनुहुन्छ । त्यसैले घरेलु भूमिमा हुने विश्वकपमा पुलिसिच अमेरिकी टोलीका मुख्य आशाका रूपमा रहनुहुने छ ।

  himalayanvoice.com | २० जेष्ठ २०८३, बुधबार २३:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online