ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

गाजाको बङ्करबाट – प्रकाश सापकोटा

आमा !
यसपटक गाँजा खाएको थिइन
गाजा आएको थिएँ
थाह छैन
तिमीले बनाएको खाजा खान
फर्केर आउँछु कि आउँदिन !

एक दिन
अल्लारे साथीहरूको लहैलहैमा
तानेको एक सर्को गाँजाकै कारण
बाका क्रोधले बलेका आँखा
आमाका सन्तापले बर्सेका आँसु
आत्मग्लानी, हिनताबोधले नतमस्तक म
बस्नै नसकेर घरमा
गाँजा गन्हाएकै मुख लिएर
सँघार नाघेको हुँ
सहर गएर सुध्रिएको प्रमाण लिई आउन ।

सुध्रिएको प्रमाण दिएन सहरले
आफैँ बिग्रिइसकेछ म पुग्दासम्म
बिगारिसकेछन् घुम्ने मेचका अन्धा मान्छेहरूले
सहरले मलाई धैर्यता सिकाएन व्यग्रतामा
सहरले बरू हिब्रु सिकायो समग्रतामा ।

हो आमा,
सहर अचेल
स्वाभिमान र इमान्दारिताको साटो
कोरियन, जापानिज र अरबीहरू सिकाउँदो रहेछ !

अरब भास्सिए अरबी सिकेकाहरू
कोरिया सुइँकिए कोरियन सिकेकाहरू
जापान हान्निए जापानिज सिकेकाहरू
म आइपुगेँ
छिनछिनमा टाउकोमाथि मृत्यु दौडने सहरमा
मसँगै आए हिब्रु सिकेकाहरू ।

खेतीकै काम
तर, बाले गर्ने भन्दा आधुनिक
कृषि नै पेशा
तर, बाले कमाउने भन्दा तेब्बर
सर्प्राइज लिएर बा सामू
सुध्रिएको प्रमाण सहित फर्किने
अठोट जिउँदै थियो
गाजाको सिमाना आइपुग्दासम्म ।

अचानक —
गाजा बल्यो आमा
टाउकै माथि बलिरहेछ
थाप्लो रन्काइरहेछ
देशले पानी पठाउला र ?
सुन्छु, अत्यासमा अतालिएको छ देश
बैठकमा व्यस्त छन् देश-नायकहरू
तिनीहरूका बैठक सकिँदासम्म
म सकिएनछु भने
भन्दिनु है बालाई-
गाँजा छोडेर गएको म
गाजा छोडेर आउँनेछु ।

आमा !
यसपटक
गाँजाको चक्करमा छैन
गाजाको बङ्करमा छु
थाह छैन
तिमीले बनाएको खाजा खान
फर्केर आउँछु कि आउँदिन !

(डेनमार्क)

  himalayanvoice.com | ३० असार २०८२, सोमबार १२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online