आमाले भन्नुहुन्थ्यो –
उहाँको गर्भमा हुँदा म
ढुङ्गा जस्तै थिएँ रे
कहिलेकाहीँ त
चट्याङ जस्तै गड्याङगुडुङ गर्थें रे
आमालाई असह्य पीडाले पोल्थ्यो रे
तैपनि चल्मलाईरहन्थेँ रे म
जब महिना पुग्यो
म जन्मिए ढुङ्गा जस्तै भएर
साँच्चै !
म सानो हुँदा आफूलाई ढुङ्गा नै ठान्थेँ
उहिले
मसँग ठोक्किन आउने ढुङ्गाहरू
स्वयं फुट्थे
तर म सग्लै रहन्थेँ
आमा भन्नुहुन्थ्यो-
माटोको भर ढुङ्गा
ढुङ्गाको भर माटो
समय बित्दै जाँदा
ढुङ्गा जस्तै म
खै कसरी कोमल बन्दै गएँ
थाहै नपाई एकदिन
माटोको ढिस्कोमा अनुवाद भएछु
समय गतिशील थियो
आमाले एकदिन
माटोको ढिस्कोलाई मट्किलो बनाउनुभयो
र आफ्नै हातले
कसैको साथ लगाइदिनुभयो
म मट्किलो
कुनै दिन ढुङ्गा बनेको अहम् बिर्सिएर
आफूलाई जोगाउनुको सिमा नाघ्दै
पुगेँ कसैको हातमा
अहिले आएर खोज्दैछु उही ढुङ्गा
जो मसँग प्रथम पटक ठोकिएको थियो
जिन्दगीसँगै
कहाँ रोकिँदो रहेछ र समयको गति ?
बरु बदलिएर समयका परिदृश्यहरू
सुन्दर मट्किलो म
एक दिन आफूलाई जोगाउँदा जोगाउँदै
अचानक रूपान्तरण भएछु
उसको नजरमा
ठोक्किना साथ फुटी जाने ऐना
आज समयको यो मोडमा
मेरी आमालाई सम्झेर
म यति मात्र भन्न सक्छु
प्रिय ढुङ्गा !
अब तिमी मेरो स्मृतिमा कहिल्यै नआउनू
जुन दिन मसँग ठोक्किएर फर्किएका थियौ
आफू आएकै बाटोतिर
अब नफर्किनू त्यसरी
किनकी म ढुङ्गा होइन
यतिबेला काँच बनिसकेकी छु ।
प्रतिक्रिया