ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

एकीकृत कसुरका आरोपित लामालाई धरौटीको सुविधा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) ग्रुपका तेन्जिन दावा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । एकीकृत कसुरको माग दाबीसमेतका दुई मुद्दामा अदालतले लामालाई धरौटीमा रिहाको आदेश गरेको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामासँग दुई मुद्दामा पाँच लाख २० हजार धरौटी माग गरेको हो । लिखत किर्ते, नागरिकता र राहदानी ऐनसम्बन्धको एकीकृत कसुरमा पाँच लाख र लागुऔषध मुद्दामा २० हजार रुपियाँ धरौटी माग भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा उक्त समूहको संलग्नताबारे प्रश्न उठेपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा लामासँग नक्कली जन्मदर्ता, नक्कली शैक्षिक प्रमाणपत्र तथा राहदानीसमेत फेला परेको भन्दै उक्त कसुरमा मुद्दा दर्ता भएको थियो । पक्राउपछि खानतलासीका क्रममा लागुऔषध गाँजासमेत फेला परेपछि उक्त कसुरमा समेत मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार लामाविरुद्ध दुई फरक मुद्दा दर्ता गरेको थियो । अदालतमा बयानपछि थुनछेक आदेश मङ्गलबार भएको थियो । अदालतले दुवै कसुरमा लामालाई धरौटी सुविधा दिएको हो ।

यस्ता थिए अभियोग

लामाले जन्मदर्ता किर्ते र एसएलसीको प्रमाणसमेत नक्कली बनाएको, झुटा विवरणका आधारमा नागरिकता बनाएको र नागरिकताका आधारमा राहदानीसमेत लिएको आरोप लगाइएको छ । यस्तै लागुऔषध कसुरमा पनि मुद्दा दर्ता भएको छ । एकीकृत कसुरमा सजायको मागदाबी पनि भएको छ । झुटा विवरणका आधारमा लिइएको नागरिकता स्वतः रद्दको माग पनि गरिएको छ ।

अभियोगबारे बयानमा लामाले जन्मदर्ता आफूले किर्ते नगरेको र आमाबाट प्राप्त भएको उल्लेख गर्नुभएको छ । साथै शैक्षिक प्रमाणपत्र किर्ते नगरेको, नागरिकता आमाले बनाइदिएकाले प्राप्तिबारे जानकारी नभएको बयान दिएका छन् । नागरिकताका आधारमा आफूले राहदानी लिएको भने उहाँले बयानमा स्वीकार गर्नुभएको छ ।

लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिबाना हुने छ । यस्तै झुटा विवरण दिई नागरिकता लिएको कसुरमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ ।

यस्तै झुटा विवरणका आधारमा राहदानी लिएमा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । व्यक्तिगत घटना दर्ताका क्रममा झुटा विवरण पेस गरेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनबमोजिम सजायको व्यवास्था छ । सोही अनुसार लामालाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र २० हजारदेखि ५० हजार रुपियाँसम्म जरिबानाको कानुनी व्यवस्था छ ।

लामालाई मुलुकी अपराध संहिताको व्यवस्था अनुसार एकीकृत कसुरमा समेत सजाय माग दाबी गरिएको छ । जस अनुसार एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुरमा सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरबापतको सजायमा आधा थप हुने कानुनी व्यवस्था छ ।

लागुऔषधमा पनि मुद्दा

असोज २७ मा पक्राउ परेका लामाको कपन पैयाँटारको कोठामा छापा मार्ने क्रममा प्रहरीले ११३ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बिक्रीको उद्देश्यले भण्डारण गरेको आरोपमा पनि मुद्दा दर्ता भएको हो । बयानमा भने उहाँले गाँजा एक वर्षअघि नै शिवरात्रिमा सेवनका लागि एक सय रुपियाँमा खरिद गरेको स्वीकार गर्नुभएको छ । आफूले शिवरात्रिबाहेक गाँजा सेवन नगरेको र बिक्रीका लागि पनि नराखेको उहाँको बयान अभियोगपत्रमा उल्लेख छ ।

लागुऔषध नियन्त्रण ऐन अनुसार सजायको माग दाबी लिइएको छ । कसुर ठहर भएमा लामालाई एक महिनादेखि एक वर्षसम्म कैद र एक हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।

  himalayanvoice.com | २४ मंसिर २०८२, मंगलवार २२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online