काठमाडौँ । सरकारले पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
पछिल्लो समय पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रम र नेपालीहरूको अवस्थाका बारेमा जानकारी दिन आज परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया, अफ्रिका महाशाखा निर्देशक रामकाजी खड्काले विभिन्न देशमा कार्यरत तथा ट्रान्जिटमा परेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा विभिन्न १० नियोगमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क भइरहेको र हालसम्म नेपालीहरूको अवस्था सामान्य, सुरक्षित रहेको जानकारी दिनुहुँदै निर्देशक खड्काले नेपालीहरूको सुरक्षा व्यवस्थापनका लागि एर्मेस्जेन्सी रेसपोन्स टिम गठन गरी आवश्यक समन्वयको काम भइरहेको पनि बताउनुभयो ।
निर्देशक खड्काले हालसम्म आएको जानकारी अनुसार विभिन्न मुलुकको यात्राका क्रममा ट्रान्जिटमा परेका नेपालीहरूको सङ्ख्या करिब एक हजार बढी रहेको जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले तनावग्रस्त विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको विवरण सङ्कलन तथा सहयोग,उद्धार गर्ने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
पछिल्लो परिस्थितिका कारण नेपालीहरूको अवस्था सम्बन्धी सूचना तथा विवरण सङ्कलन, आवश्यक सहयोग एवं उद्धार गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो ।
अनलाइन पोर्टल सञ्चालनमा आएसँगै सम्बन्धित देशका दूतावासहरूमार्फत यथाशीघ्र विवरण अद्यावधिक गर्न नेपाली नागरिकहरूलाई अनुरोध समेत गरिएको छ ।
मन्त्रालयले पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा विमानस्थलमा अलपत्र परेका व्यक्ति, भिसा समाप्त भइसकेका वा कम्पनीबाट भिसा रद्द गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपालीलाई पोर्टल मार्फत आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्था सम्बन्धी जानकारी प्रविष्ट गर्न अनुरोध गरेको छ ।
यस्तै पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसिया क्षेत्रमा जारी तनाव बढिरहेको अवस्थामा अफवाह, भ्रामक कुराको पछि नलागी आधिकारिक सूचना जानकारी लिई सम्बन्धित दूतावासको सम्पर्कमा आउन पनि आग्रह गर्नुभयो ।
सो अवसरमा हवाई उडानको परिस्थिति सहज बन्नसाथ युएईमा इरानी आक्रमणमा परेर मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याइने पनि मन्त्रालयका प्रवक्ता क्षेत्रीले बताउनुभयो ।
प्रतिक्रिया