ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

युवापुस्तामा क्रिसमसको रमझम

काठमाडौँ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष लगभग सँगसँगै पर्ने भएकाले काठमाडौँलगायत देशका ठुला सहरमा क्रिसमसको बेग्लै रौनक छ । क्रिसमसको रौनकसँगै यसको मनाउने तौरतरिकामा भने तडकभडक देखिन थालेका छन् । सबैतिर झिलिमिली बत्तीमा सजिएका ‘क्रिसमस ट्री’ र ‘सान्टा क्लज’ को राता लुगाको पहिरनमा अधिकांशले ‘हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । दसैँ, तिहार, इद जस्ता चाडमा रमाउनेहरू अब क्रिसमसमा पनि उत्तिकै रमाइरहेका भेटिन्छन् ।

अहिले कुनै पनि धर्मका चाडपर्वमा रमाइलो गर्न बन्देज नगरिएको गट्ठाघरमा रहेको सेभेन्थ डे एडभेन्टिस्ट चर्चका पास्टर रविन बस्यालले बताउनुभयो । पछिल्लो समयमा क्रिसमस मनाउने तौरतरिकामा भने परिवर्तन आएको उहाँ स्वीर्कानुहुन्छ । उहाँका अनुसार, “कतिपय युवाले क्रिसमसका नाममा विकृति भित्र्याए पनि अधिकांशले सभ्य रूपमा क्रिसमस मनाउने गरेका छन् । क्रिसमस मनाउन अब पहिले जस्तो कट्टरपनाको सामना गर्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मको नाममा मानिस दबाब सहन तयार छैनन् । पुराना बन्देजहरूबाट फुत्किन चाहन्छन् । धर्मका नाममा बाध्यकारी नियम मान्नैपर्ने परिपाटी अन्त्य हुँदै गइरहेको छ ।’’

त्यस्तै निर्देशक केपी पाठकको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार यो भनेको विश्वव्यापारीकणको समय हो । अहिले संसारमा कसले के गरिरहेको छ र कसरी चाडपर्वलाई मनाउने भन्ने कुरामा युवापुस्ता विशेष आकर्षित देखिन्छन् । पश्चिमी शैलीको संस्कृतिप्रति आकर्षित हुनु नौलो कुरा नभएको उहाँले बताउनुभयो । सांस्कृतिक प्रभाव भनेको मान्छेले देखासिखी गर्ने र केही फरक तरिकाले त्यो चाडलाई मनाउनु हो र युवापुस्ताले पनि त्यही सिको गरेका हुन्, उहाँले भन्नुभयो । उहाँका अनुसार जे जस्तो चाडपर्व मनाए पनि आफ्नो संस्कृतिलाई भुल्नु भएन र अरूको संस्कृति संस्कारलाई पनि सम्मान गर्नु प¥यो । उहाँले थप्नुभयो, अरूको संस्कृतिलाई मान्दै जाँदा आफ्नो संस्कृति बिर्संदै गयो भने चाहिँ त्यो कमजोर हुँदै जान्छ र आफ्नो संस्कृति पनि बिर्संदै गइन्छ ।

काठमाडौँको नयाँ बानेश्वरमा बसोबास गर्नुहुने प्रकाश गुरुङ क्रिस्चियन धर्म मान्नुहुन्छ । उहाँ बाइबल पढ्नुहुन्छ र यसुलाई सम्मान गर्नुहुन्छ तर उहाँलाई अन्य धर्मका चाडपर्वमा रमाउन पनि उत्तिकै मज्जा लाग्छ । “चर्चमा गएर प्रभुको प्रार्थना गर्छु, बाइबललाई आत्मसात् गर्छु तर अन्य चाडबाडमा साथीसँग उत्तिकै रमाउँछु,” उहाँले प्रस्ट पार्नुभयो ।

यसु ख्रिस्ट जन्मेको दिन २५ डिसेम्बर उनको सम्झनामा बिहीबार यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदै छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट यशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी यसुले जन्म लिन लागेको धार्मिक किंवदन्ती छ । सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन यसु आफैँ क्रस चिन्हमा झुन्डिएको उनका अनुयायीको भनाइ छ ।

बुझेर होस् या नबुझेर, ठुला सहरमा जस्तै ‘क्रिसमस इभ’ भन्दै युवकयुवतीहरू शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलनको सिको यहाँ पनि बढ्दै गएको छ । विश्वव्यापीकरणसँगै विविध संस्कृति विश्वभर फैलने क्रम तीव्र छ ।

  himalayanvoice.com | १० पुष २०८२, बिहीबार १४:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online