ट्रेण्डिङ्ग:

सुनको मूल्य नाघ्यो तीन लाख

काठमाडौँ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार दुई लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपालमा सुनको मूल्यमा आएको छाल

अन्तर्राष्ट्रिय कारणले हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चार हजार ९५० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । रुस–युक्रेन युद्ध, भेनेजुएलामाथि गरेको अमेरिकी कारबाही हुँदै अहिले अमेरिकी प्रशासनद्वारा युरोपको ग्रिनल्यान्डमा गरेको भूराजनीति तनावका कारणले आर्थिक क्षेत्र तहसनस हुँदा सुनको मूल्य अस्वाभाविक रूपमा बढेको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता हुँदा सुनको मूल्य निरन्तर अस्वाभाविका रूपमा बढ्दै गएको बताउनुभयो । भूराजनीति तनावका कारण सुन सुरक्षित लगानीको क्षेत्र मानिएकाले लगानीकर्ताहरू आकर्षित हुँदै गएपछि निरन्तर मूल्य उकालो लाग्दै गएको उहाँको भनाइ छ ।

शाक्यका अनुसार अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणसँगै सुनको मूल्य निरन्तर बढ्दै गएको हो । त्यसपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकमा कर लगाउने घोषणा र अमेरिकी केन्द्रीय बैङ्कलाई ब्याजदर घटाउन दबाब दिएका कारणले पनि पछिल्लो समय सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले आगामी दिनमा मूल्य के हुन्छ भन्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ । डलरको विकल्पमा चीन, रुसलगायतका देशले नयाँ मुद्रा प्रयोगमा ल्याएकाले सुनको मूल्य बढ्दै गएको उहाँको भनाइ छ । निरन्तर सुनको मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ । बजारमा सुनको माग नहुँदा कारोबार ठप्प भई व्यवसाय सञ्चालन गर्न कठिन हुने अवस्था आएको शाक्यको भनाइ छ । सुनको मूल्य बढ्दै गएपछि व्यवसायीले पुराना गहना खरिद गर्न छाडेका छन् । बजारमा माग नभएको र मूल्य घट्न सक्ने अनुमानले व्यवसायीले पुराना गहना खरिद गर्न छाडेका हुन् । महासङ्घका अनुसार सुनको मूल्य बढ्दा बजारमा माग नहुँदा सुनको कारोबार ९० प्रतिशतले गिरावट आएको छ ।

माघ लागेयता सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको छ । माघमा सुनको मूल्य २४ हजार नौ सय रुपियाँले बढेको छ । महासङ्घका अनुसार एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा एक लाख ४१ हजार चार सय रुपियाँले बढेको छ । गत वर्ष ९ माघमा प्रतितोला एक लाख ६० हजार रहेको सुनको मूल्य बढेर अहिले तीन लाख नाघेको हो । सुनको मूल्य निरन्तर बढ्दै गएपछि विभिन्न देशले सुनको मौज्दात बढाएका छन् । विश्व सुन परिषद्का अनुसार सबैभन्दा धेरै अमेरिकासँग आठ हजार १३३ टन र सबैभन्दा कम मेक्सिकोमा १२० टन सुन मौज्दात छ । यस्तै जर्मनीमा तीन हजार ३५० टन, चीनमा दुई हजार ३०३ टन, भारतमा ८८०.१८ टन, जापानमा ८४५.९७ टन सुन रहेको छ । यस्तै पोल्यान्डमा ५१५, बेलायतमा ३१० टन, अस्टे«लियामा २७९ टन, बेल्जियममा २२७, थाइल्यान्डमा २३४ टन र सिङ्गापुरमा २०४.७१ टन मौज्दात रहेको छ । नेपालमा भने सुनको मौज्दात न्यून छ ।

यसैबिच चाँदीको मूल्यमा समेत तोलामा छ हजार रुपियाँ नाघेको छ । बिहीबार प्रतितोला पाँच हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३२० रुपियाँले बढेर छ हजार १९० रुपियाँ पुगेको महासङ्घले जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ९८ अमेरिकी डलरमा कारोबार भएको छ । चाँदी औद्योगिक प्रयोजनका लागि बढी खपत हुने गर्छ ।

  himalayanvoice.com | १० माघ २०८२, शुक्रबार २२:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online