‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’बाट तीन स्रष्टा पुरस्कृत

फिदिम । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिएको छ । सोमबार फिदिममा एक समारोहको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत हुनु हुने स्रष्टामा निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बा हुनुहुन्छ । यो वर्ष वितरण गरिएको पुरस्कार सातौँ संस्करणको हो । पुरस्कार स्वरूप प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपियाँ नगदसहित कदरपत्र र दोसल्ला ओढाएर प्रमुख अतिथीको आसनबाट साहित्यिक तथा राजनैतिक व्यक्तित्व नरेन्द्र कुमार केरुङ र विशिष्ट अतिथी पाँचथर बहुमुखी क्याम्पसका प्रमूख लक्ष्मी ढुंगाना लगायतले सम्मान गर्नुभयो ।

पुरस्कृत सापकोटा कान्तिपुर दैनिकको शनिबारीय परिशिष्ट ‘कोशेली’का संयोजक हुनुहुन्छ । यस्तै कवि सोक्तेन र साहित्यकार याक्थुम्बा मोफसलमा रहेर कविता तथा साहित्यिक लेखनमा सक्रिय रहँदै आउनुभएको छ । उक्त पुरस्कार अघिल्लो वर्ष कृष्ण धरावासी, स्वप्निल स्मृति तथा त्यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, बिमला तुम्खेवा र गिरीराज बास्कोटालाई प्रदान गरिएको छ ।

नेम्वाङको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएका बेला २०७५ सालमा हृदयघात भएर निधन भएको थियो । पुरस्कार वितरण कार्यक्रमसँगै हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति र विपदमा परेकालाई सहयोग पनि गरिँदै आएको आयोजक अमर नेम्वाङ स्मृति प्रतिष्ठानले जनाएको छ ।

सोहि कार्यक्रममा गत असोज महिनामा भएको अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट प्रभावित भएका ६ परिवारलाई प्रति परिवार १० हजारका दरले राहत वितरण गरिएको छ । फाल्गुनन्द ३ का मिसेक नेम्वाङ, तुम्वेवा ४ की कान्छिमाया सेर्मा,मिक्लाजुङ ६ का नेहा राई, फाल्गुनन्द ५ का सुजन लिम्बू र सौगात लिम्बूसँगै फाल्गुनन्द ३ का राममति राईको परिवारलाई राहत वितरण गरिएको हो।

यसैगरी सोहि कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका सामुदायिक विद्यालयबाट २०८१ सालको एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका तीनजना छात्रछात्रालाई जनहि नगद १० हजार राशीको छात्रवृती प्रदान गरिएको छ ।

छात्रवृती प्राप्त गर्नेमा सारताप मनरत्न माविकी सोनी नेम्वाङ,जलसिंह मावि पौवासारतापका खाम्वेकहाङ चेम्जोङ र कृष्ण मावि चिलिङदिनका अञ्जन चेम्जोङ छन् ।

पुरस्कार, सम्मान, छात्रवृती वितरण र राहत वितरण हरेक वर्ष माघ २६ गते गरिँदै आएको छ । फाल्गुनन्द गाउँपालिकाका तत्कालिन अध्यक्ष नेम्वाङको २०७५ साल माघ २६ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×