ट्रेण्डिङ्ग:

बाबालाई चिठी

-सुमन घले

यो वर्षदेखि बा तिम्रो अठासी लाग्यो है?

तिम्रा ती गह्रौँ काँध मल्लिन भयो है ?

तिम्रा ती हत्केलाहरुमा चिरा पर्‍यो है ?

तिम्रा ती बहादुरी गालाहरु चाउरियो है ?

तिम्रा ती नयनहरु

अनि तिम्रा ती पाँउहरुको चाल खस्किए पनि,

बा तिम्रा ती ओष्ठे शब्दहरु अझै ताजै छन् ।

सानो छँदा हात समायौ तिमीले,

अनि जब म वयस्क भएँ जिम्मेवारी थमायौ तिमीले,

तिम्रा ती गह्रौँ शव्दहरूको इन्कार गर्दिन म,

कारण ती त मेरा पथप्रदर्शक भएका छन् ।

तिम्रा ती चम्किला मुहारलाई बिर्सिदिन म,

कारण ती त मेरो जिउने आधार बनेका छन्,

निराशामा जिउने आश बनेका छन्।

हो मलाई थाहा छ म निर्बल छु,

यो राजधानीको कोलाहलबिच एक्लिएको छु,

अपरिचितहरु सामु आफ्नो पहिचान खोज्न मिसिएको छु

तर संकोच नमान्नु है बा

यी नै भिडबाट तपाईंको शिर उठाउने

अनि यिनै अपरिचितहरु सामु परिचित गराउने प्रयत्न गर्दैछु।

खिन्न त लाग्ला बाबा कारण म तपाईंदेखि टाढिएको छु,

बुढेसकालमा सहारा दिन छोडेर परदेशिएको छु,

तर बाबा चिन्तित नहुनुहोस्

म एक दिन अवश्य फर्केर आँउनेछु

कारण मलाई तपाईको शरीरमा टालिएको त्यो पुरानो गेला पनि त फेर्नु छ

आमाको त्यो चिराचिरा भएर सिलाइएको चोलाको तुना पनि त रङ्गाउनु छ

बहिनीले पनि त्यही पोहोर दशैंमा कान्छा मामाले ल्याइदिनु भाको गुन्यु नै लाइरा होलिन् है बाबा ?

उनलाई पनि त एक जोड नयाँ लुगा लाउने इच्छा होला नि है ?

म सबै आकांक्षाहरुको संसारलाई नयाँ रुप दिन फर्कि आउनेछु

अस्ती बिहान पल्लाघरे कृष्ण झ्यालखानामा पर्‍यो रे

त्यो माइलाको छोरो हरि लागुऔषधमा समातियो रे

रामे र श्यामे त सुन तस्करीमा समातियो रे

जस्ता समाचारहरुदेखि नआतिनु है बाबा

कारण तपाईंका पुत्रका हत्केला अनि नयनहरु

तपाईंको मार्गदर्शनले अभिप्रेरित छन्

मानवतावादी सोचले ग्रस्त छन् ।

बधुराम काकालाई एउटा पत्र थमाइदिएको छु

जहाँ तपाईं मेरो सन्चो बिसन्चोका खबरहरु मात्र पाउनुहुनेछ

अह साच्ची! आमालाई पनि ढोक प्रणाम छ भनिदिनु है

बिचरा उनी मेरो बाटो हेर्दै बस्तिहुन्

मिठो मसिना हातमा पर्नासाथ मलाई सम्झिदो हुन्

हरेक दिनको दुर्घटनाका सामाचारहरुदेखि तर्सिदो हुन्

उनलाई ढुक्क हुनुहोस भनी भनीदिनुस् न है बा,

समाज नवीकरणको गह्रौं भारी बोकिरहेको म

समाज परिवर्तनका वकालतहरु लिई तपाईहरुसामु अवश्य उपस्थित हुनेछु।

  himalayanvoice.com | ६ फाल्गुन २०८२, बुधबार १५:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online