रौतहट । गौरमा शुक्रवारदेखिको साम्प्रदायिक झडपपछि सदरमुकाम क्षेत्रमा निरन्तर कर्फ्यु जारी रहेको छ । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा नेपाली सेना परिचालन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बजार तथा मुख्य सडक क्षेत्रमा अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भए पनि भित्री बस्तीमा ढुंगामुडा प्रहारका छिटपुट घटना भइरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झडपको घटना पूर्ण रूपमा रोक्न सुरक्षाकर्मी सक्रिय रूपमा खटिएको जानकारी दिनुभयो ।“बजार क्षेत्रमा झडपका घटना रोकिँदै गएका छन्,” उहाँले भन्नुभयो, “तर भित्री क्षेत्रमा केही समूहले ढुंगामुडा गरिरहेका छन् । नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।”
प्रशासनले शुक्रवार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो । बिहानदेखि सदरमुकाम लगायत संवेदनशील क्षेत्रमा सेना परिचालन गरिएपछि मुख्य सडक शान्त देखिए पनि भित्री भागको अवस्था अझै तनावग्रस्त रहेको छ ।
गौर नगरपालिका–४ मचकुटिया टोलमा शनिवार अपराह्न एउटा स्कुटरमा आगजनी गरिएको छ भने आधा दर्जन सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसअघि गौर नगरपालिका–६ सनगढा गाउँमा बिहेको बाजा बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद भई झडप उग्र बनेपछि तनाव सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्याँस प्रहार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म कर्फ्यु क्षेत्र निर्धारण गरेको जनाएको छ । प्रशासनले सर्वसाधारणलाई शान्ति कायम राख्न तथा अफवाहमा नपर्न आग्रह गरेको छ ।
यता गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं–६ सवगढाबाट सुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका जमशेद जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया