काठमाडौँ । अमेरिका र इजरायलले इरान माथि सुरु गरेको आक्रमण पछि मध्यपूर्व र खाडी राष्ट्र अहिले युद्धको चपेटामा परेका छन् । अमेरिका, इजरायलले गरेको संयुक्त आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि मध्यपूर्व र खाडी राष्ट्रभर त्रास छाएको छ । यो भू–भाग नेपाली नागरिकको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मुलुक रहेको क्षेत्र हो । अमेरिका र इजरायलले शुक्रबार इरानमा आक्रमण गरेपछि इरानले आसपासका देशमा रहेका अमेरिकी सैन्य क्याम्प र दूतावासमा प्रत्याक्रमण बढाएको छ । आक्रमण प्रत्याक्रमणका क्रममा युएईमा एक जना नेपालीको मृत्यु भएको छ । त्यहाँसहित तीन जना मारिएको पुष्टि नेपाल र युएई दुवै सरकारले गरेका छन् । अन्य थुप्रै घाइते भएका छन् । उनीहरूको विस्तृत विवरण आइसकेको छैन ।
परिणामस्वरूप पश्चिम एसियामा रहेका संयुक्त अरब इमिरेट्सको दुबई र अबुधाबी, बहराइन, कतार, कुवेत, ओमान, इरान र अलि पर इजरायलगायतका देशमा काम गरिरहेका नेपाली नागरिकमा त्रास फैलिएको छ । यो क्षेत्रमा केही कमाउने र स्वदेश फर्केर त्यही आम्दानीबाट भविष्य बनाउने आशा बोकेका १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक त्यहाँ छन् ।
दक्षिण–पश्चिमका आकाशमा यतिखेर तिर्मिराइरहेका मिसाइलका बत्तीले नेपालमा रहेका आफन्तजनको निद्रा बिथोलिएको छ । दक्षिण–पश्चिमका ती मुलुकमा बमबारी भएको खबरले घरपरिवारलाई अत्यधिक चिन्तित बनाएको छ । विदेश पुगेका आफन्तसँग स्वदेशमा रहेकाहरू दिनहुँ चिन्ता व्यक्त गरिरहेका छन् । यद्यपि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक अहिले घरपरिवारलाई ‘हामी ठिक छौँ र सुरक्षित छौँ’ भन्दै सन्देश दिइरहेका छन् ।
अबुधाबीमा उच्च खतरा
इरानी आक्रमण युएईको अबुधाबीतिर बढी केन्द्रित देखिन्छ । शनिबार भएको मिसाइल आक्रमणमा परेर एक नेपाली, एक बङ्गलादेशी र एक जना पाकिस्तानी नागरिक मारिएका छन् । मृत्यु हुने नेपालीमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । दिवस मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डका रूपमा काम गर्दै आउनुभएको थियो । उक्त घटनामा अन्य ५८ जना घाइते भएका छन् । घाइतेमा नेपाली कति जना छन् भन्ने खुलेको छैन ।
परराष्ट्र मन्त्रालयले एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा नेपाली नागरिकको मृत्यु भएकोप्रति नेपाल सरकारको तर्फबाट मन्त्रालयले स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेको छ । मन्त्रालयले सक्रिय शत्रुतापूर्ण परिस्थितिमा नागरिकको सुरक्षा, सुरक्षा र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै पक्षले ध्यान दिन आग्रह गरेको छ । जेनेभा महासन्धि र अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रावधानलाई सम्मानसहित पूर्ण पालना गर्न द्वन्द्वरत पक्षलाई अपिल गरेको छ । मन्त्रालयले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतक नेपाली नागरिकको पार्थिव शरीर स्वदेश फिर्ता ल्याउन आवश्यक सहयोग गर्ने जनाएको छ ।
अबुधाबीमा रहनुभएका नेपालका सुनीलजङ्ग मल्लका अनुसार अबुधाबीको बुर्ज खलिफानजिक पनि मिसाइल हानिएको थियो । उहाँले भन्नुभयो, “यहाँ तनाव बढेको छ, के हुन्छ भनेर पर्ख र हेरको अवस्थामा छौँ ।” त्यहाँको सरकार र प्रत्यक्षदर्शीका अनुसार छ सयभन्दा बढी मिसाइलसहितको उग्र आक्रमण भएकोमा धेरैजसो आकाशमै खसालिएको थियो । युएईकै दुबईमा रहनुभएका राजकुमार थापाले पनि हालसम्म आफूहरू सुरक्षित रहेको जानकारी दिँदै त्यहाँका विद्यालयलगायत सबै शैक्षिक संस्था आइतबारदेखि मार्च ४ तारिखसम्म बन्द रहने र अनलाइनबाट पढाउने भनिएको छ । उहाँका अनुसार त्यहाँको सरकार र प्रहरीले छिनछिनमा अद्यावधिक (अपडेट) पठाइरहेको छ, अवस्था हेरेर काम गर्छौं भनेर भनिरहेको छ । उहाँले भन्नुभयो, “सुरक्षित बस्नू, झ्याल, ढोकाछेउमा नसुत्नू, बाहिर अनावश्यक हिँडडुल नगर्नू, हामी सबैको सुरक्षाका लागि कटिबद्ध छौँ, डराउनुपर्ने अवस्था छैन, स्थिति नियन्त्रणमा छ भनेर बारम्बार भनिरहेको छ ।”
त्यहाँस्थित नेपाली दूतावासले पनि सूचना जारी गरेर सम्पर्कमा रहन भने अनुसार आफूहरूले सूचना पछ्याइरहेको जानकारी उहाँले दिनुभयो । शारजहाँमा नेपाली बढी छन्, जहाँ अमेरिकी सैन्य क्याम्प छन् । आमनागरिकलाई लक्षित आक्रमण नभएकाले पनि घरपरिवार आफन्तलाई नआत्तिन उहाँले सुझाउनुभयो । शारजहाँतिर त्यति बढी आक्रमण भएको छैन । युएईमा सात लाख बढी नेपाली नागरिक छन् ।
घरभित्रै काममा केन्द्रित
बहराइनमा कामका लागि रहनुभएका नेपाली नागरिक प्रकाश लामिछानेका अनुसार बहराइनमा रहेका अधिकांश नेपाली नागरिक हालसम्म सुरक्षित छन् । लगातार भइरहेका हवाई हमलाका कारण कतिखेर के हुन्छ भन्ने तनावमा आफूहरू रहेको जानकारी दिनुभयो । अहिलेसम्म इरानले अमेरिकी सेनाको बेस क्याम्प र तिनका नजिकका क्षेत्रमा बढी आक्रमण केन्द्रित गरेका छन् ।
शनिबार राति भने बहराइनको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको थियो । त्यसले भविष्यमा स्वदेश फर्कनुपर्दा अप्ठ्यारो सिर्जना गर्ने हो कि भन्ने शङ्का नेपाली नागरिकमा उब्जाए पनि बहराइन सरकारले ठुलो क्षति नरहेको र व्यवस्थापन हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घरीघरी ड्वाङड्वाङ गरिरहेको छ, भर्खरै पाँच वटा ब्लास्टको आवाज आयो, कता पड्किरहेको हो, केमा हान्यो भन्ने भय र त्रास उत्तिकै छ तर हामीसम्म आइपुगेको छैन ।”
विमानस्थलसँगै आइतबार बिहान त्यहाँको क्राउन प्लाजा नामक ठुलो होटलमा बम खसेको थियो । घरबाट कामकाज गर्न मिल्ने घरैबाट अनलाइन गर्न बहराइन सरकारले सुविधा दिएको छ । उहाँले सुनाउनुभयो, “जानैपर्ने काम छ भने सुरक्षित रहेर नियमित काममा नेपाली नागरिक गइरहेको अवस्था छ, आधा जति अनलाइन र आधा प्रत्यक्ष गएर काम गर्ने अवस्था बहराइनको रहेको छ ।”
उहाँका अनुसार बहराइन सरकारले सम्भावित आक्रमणलाई ध्यानमा राख्दै त्यहाँका विद्यालयलाई सेल्टर तोकेको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि विद्यालय, अस्पताललगायतका क्षेत्रमा आक्रमण गर्न पाइन्न । बढी आक्रमण भएको अवस्थामा क्षमता अनुसार एक हजारदेखि १५ सय जनासम्म मानिसलाई उद्धार गरेर ती सेल्टरमा राख्ने तयारी त्यहाँको सरकारले गरेको छ ।
हवाई आक्रमण हुनुअघि र पछि मोबाइलमा साइरन बज्ने र सुरक्षित ठाउँमा रहन भनेर हरेक नागरिकलाई सरकारी तवरबाटै सन्देश प्रवाह भइरहेका छन् । नेपाली होऊन् वा स्वदेशी सबैको सुरक्षा गर्न प्रतिबद्ध छौँ भनेर सरकारले नागरिकको हौसला बढाइरहेको लामिछानेले जानकारी दिनुभयो । नेपाली दूतावाससँग पनि निरन्तर सम्पर्कमा रहेको र उद्धारमा जानुपर्ने आवश्यक तयारी आफूलगायतका साथीहरूले गरिरहेको बताउनुभयो । बहराइनमा २८ हजार जना नेपाली नागरिक छन् ।
अर्को वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कुवेतको अवस्था टिकटक र सामाजिक सञ्जालमा देखिए अनुसार भयङ्कर अवस्था नरहेको नेपाली नागरिक विनोद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार खासै आक्रमण भएको छैन । शनिबार अमेरिकी बेस क्याम्पका १४ वटा जति स्थानमा आक्रमण भएको जनाइएको छ । कुवेत विमानस्थलमा आक्रमण भएको मिसाइललाई त्यहाँको सुरक्षाकर्मीले आकाशमै ध्वस्त गरेको थियो । उहाँले भन्नुभयो, “बाहिर आए जस्तो भयावह छैन, यहाँको सरकारले पनि नआत्तिन भनेको छ, हामी काममै छौँ, अहिलेसम्म सुरक्षित छौँ ।” कुवेतमा एक लाख ७५ हजार जना नेपाली छन् ।
बमबारी तर आकाशमै ध्वस्त
कतारको अवस्था भने अन्यत्रभन्दा अलिक फरक छ । त्यहाँ शनिबारदेखि आइतबार बिहान एक बजेदेखिसम्म लगातारजसै बमबारी भयो । लेबर क्याम्पनजिकै डिस्पोज भएको मिसाइलका टुक्राले लागेर मानिस घाइते भएका छन् । कतारमा अमेरिकी सेनाको ब्यारेक बस्तीको पछाडि पर्छ । त्यहाँ रहनुभएका चितवनका विकास श्रेष्ठका अनुसार मिसाइल अगाडिबाटै आकाशबाट उडेर गएको देख्दा आकाशै झलल भएर अत्याउने गरेको छ ।
उहाँले भन्नुभयो, “काम इन्डोर र होम टु वर्क भनेको छ, बाहिर निस्केर काम नगर्न भनेको छ, त्यसैले अनलाइनबाट पनि काम गरिरहेका छौँ ।” उहाँसँगै गोरखाका अर्जुन सङ्ग्रौला, रुपन्देहीका विजय घिमिरेलगायत कैलाश श्रेष्ठ, मोहन श्रेष्ठ पनि सामूहिक रूपमा सुरक्षित रहेर काममा हुनुहुन्छ ।
कतारमै रहनुभएका विजयराज अधिकारीका अनुसार कतार सरकारको सैन्य प्रतिरक्षा प्रणाली अब्बल भएकाले पनि अहिलेसम्म कुनै पनि बम वा मिसाइल कतारको धर्तीमा खसेर विस्फोट भएको छैन । कतारमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि दोहास्थित नेपाली दूतावासले समन्वय गरिरहेको र नेपाली नागरिकले सूचना अनुसार तयारी अवस्थामा कागजपत्र राख्न थालेको जानकारी त्यहाँस्थित नेपाली नागरिकले दिनुभएको छ । कतारमा तीन लाख ५७ हजार ९१३ जना नेपाली छन् । उता ओमानमा पनि इरानको आक्रमणले नेपाली नागरिकमा भय छाएको छ । तथापि त्यहाँको सरकारले सुरक्षाको प्रत्याभूति दिइरहेको छ । त्यहाँको एक विमानस्थलमा आइतबार थप आक्रमण भएको छ । ओमानमा २५ हजार नेपाली छन् । साउदी अरबको रियादमा केही तनाव देखिए पनि अन्यत्र डराउनुपर्ने अवस्था नरहेको त्यहाँ रहनुभएका डिल्लीराम भट्टराईले जानकारी दिनुभयो । त्यहाँ करिब तीन लाख ८५ हजार नेपाली नागरिक छन् । इरानमा छ जना नेपाली रहनुभएको छ ।
सबैभन्दा बढी त्रास इजरायलमा
इजरायलमा नेपाली होऊन् वा स्थानीय, युद्धको आक्रमण प्रत्याक्रमणका कारण बारम्बार भागदौड मच्चिरहेको बताइन्छ ।
केयरगिभरका रूपमा काम गर्न इजरायलमा रहनुभएकी शान्ता अधिकारी ज्ञवालीले इजरायलको युद्धको अवस्था डरमर्दो रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “हामी बसेको घरनजिकै पनि बारम्बार आकाशमा ध्वस्त गरिएका मिसायलका टुक्रा झरिरहेका छन्, डरमर्दो छ, कहिले कता, कहिले कता भागदौड जस्तै छ ।” इजरायलको तेलअभिब युद्धको केन्द्र जस्तै बनेको छ । बाहिर निस्कने काम दिएको छैन । तर आफू युद्धको इलाकाभन्दा अलिक पर रहेको र बङ्करमा सुरक्षित रहने व्यवस्था रहेको जानकारी दिनुभयो ।
घरभित्रैभन्दा बाहिर जानुपर्ने र अपार्टमेन्टमा काम गर्ने नेपालीका लागि गाह्रो छ । काम गर्न आउजाउ गर्दा जतिखेर पनि आक्रमणमा पर्न सक्ने खतरामै नेपाली नागरिक काम गरिरहेको अवस्था छ । भित्रै बसेर काम गर्ने नेपालीका लागि अलिक सहज छ । अर्काको देशबाट काम गर्न आएकाको जिम्मेवारी हाम्रो भन्ने यहाँको सरकारले महसुस गरेको छ र सुरक्षा दिइरहेको छ । उहाँले थप्नुभयो, “साइरन बजेपछि १० मिनेटमा बङ्करमा सुरक्षित पुगिसक्नु पर्छ, त्यति समयमा भित्र पस्न सकिएन भने बमबारुदमा पर्न सक्ने खतरा उच्च छ ।”
घरभित्रै बङ्कर हुन्छ । केही आवश्यक परेमा आफूहरूलाई नपठाई मालिकै जाने गरेको उहाँले जानकारी दिनुभयो । पहिलेको र अहिलेको आक्रमणमा धेरै फरक रहेको भन्दै अहिले ड्रोन आक्रमणसमेत भइरहेकाले त्यसले बङ्करलाई पनि असुरक्षित बनाएको अनुभव उहाँले सुनाउनुभयो ।
नेपाल सरकार र दूतावासको सूचनामा पनि ध्यान दिँदै पछ्याइरहेको उहाँले बताउनुभयो । इजरायलमा छ हजार पाँच सय बढी नेपाली छन् । दक्षिण–पश्चिमकै इजिप्टमा पाँच सय, लेबनानमा एक हजार पाँच सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली छन् ।
प्रतिक्रिया