ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजदेखि देशभर आर्थिक गणना हुँदै|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

मानवता

-देबेन्द्र अर्याल आँशु

“हजुर यो गरिबलाई दुईचार रुपियाँ दिनुहोस् न ? तपाईंको जय हुने छ ।” व्यस्त सडकको किनारामा बसेको भिखारीले दुई हात फिँजायो । “क्या बिहानै बिच्छुक लाग्यो । कहाँ, केको लागि हिँडेको, कस्तो साइत नपर्ने भयो,” नजिकै हिँडेको मानिसले झर्केर भन्यो । उसको जवाफ नसकिँदै अर्कोले थप्यो, “त्यही त भन्या, यो सहरमा माग्नेको सङ्ख्या पनि कति बढेको ?” “हैन, यो सहरमा यही क्रममा माग्नेको सङ्ख्या बढ्ने हो भने माग्नेलाई दिनेहरू नै झन् माग्ने नबन्लान् भन्न सकिन्न ।”

“मलाई पनि अचम्म लागेको छ, सहरमा माग्ने देखेर । सरकारले पनि उनीहरूको किन वास्ता नगरेको होला,” मनजिकै हिँडेको एउटा भद्र मानिसले भन्यो । उसको बोली मेरो कानमा ठोक्कियो । मैले पनि आफ्नो कार्यालय जाँदाआउँदा प्रायः एउटा भिखारीलाई त्यही सडकको किनारामा देख्छु । त्यो भिखारी अरूभन्दा भिन्न देखिन्छ । मैले जीवनमा धेरै भिखारी देखेको छु तर त्यस्तो भिखारी कतै कहिल्यै पनि देखेको छैन ।

“हजुर दुईचार रुपियाँ दिनुहोस् न, मैले कति दिन भइसक्यो केही खान नपाएको ?” लगलग काँप्दै त्यो भिखारीले सडकमा यात्रा गर्नेका अगाडि हात थाप्यो । “काँ पाउनु, आफूलाई त छैन” भन्दै थुप्रै मानिस यस्तै जवाफ दिन्थे र अगाडि बढ्थे ।

“यो सहरमा मेरा कोही पनि छैनन् ? म अनाथलाई केही दिनुहोस् न ?” उसले कुनै दिन मेराअगाडि यसरी आफ्नो बिलौना पोखेको थियो । उसको दर्द सुनेर मैले उसका हातमा केही रुपियाँ राख्दै भनेको थिएँ, “ल केही किनेर खानुहोला है ।” मेरो कुरा सुनेर उसले टाउको हल्लायो र सानो स्वरमा भन्यो, “तपाईंको जय होस् । मनले चिताएको सबै पूरा होओस् ।”

उसका ती कामनाका दुई शब्द सुनेर मेरो मन हर्षित भयो । मैले कैयन् वर्ष मन्दिरमा पूजा गर्दा पनि सन्तुष्ट नभएको मन आज पूर्ण सन्तुष्ट भएको महसुस भयो । आज एउटा मानिसले मेरा लागि कत्रो कामना ग¥यो तर मैले यत्रा वर्ष भगवान्को पूजा गर्दा त भगवान्ले एक शब्द पनि बोलेनन् नि ! मलाई लाग्यो, सच्चा ईश्वरको रूप त्यही हो । मेरो मनले सोच्यो, “ईश्वर त्यही हो, जो मन्दिरबाहिर हुन्छन्; मान्छेको मनमा हुन्छन् । मन्दिरभित्र त मूर्ति रहन्छ, केवल पाषाण मूर्ति ।” रोग, भोक, शोकले ग्रसित त्यो भिखारीको यो सहरमा केही रुपियाँ र खानेकुरा दिनेहरू नै उसका आफ्ना थिए । कोही केही रुपियाँ दिन्थे । कोही दिँदैनथे । तर पनि ऊ त्यस सडकको किनारामा धुलो, धुवाँ, घाम, पानी जस्तोसुकै अवस्थामा पनि भेटिन्थ्यो । खुला आकाश त्यसको छानो थियो भने त्यो सडकपेटी उसको घर । सडक नै उसको संसार र त्यस संसारको नै ऊ शासक थियो ।

दिनहुँ म आफ्नो कार्यालय जाँदा र फर्कंदा उसलाई त्यहीँ भेट्थेँ । उसको र मेरो त्यो क्रम मैले जागिर खाएको निकै वर्षसम्म चलिरहेको छ । उसलाई नदेखेको दिन मेरो मनमा विभिन्न प्रकारका भाव सल्बलाउँथे । दुईचार दिन लामो बिदा पर्दा र मैले उसलाई नभेट्दा मनमा एकप्रकारको पीडा हुन्थ्यो । थाहा छैन त्यो पीडा कस्तो हो । के कारणले हुन पुगेको हो । म सोच्न पुग्छु, उसको र मेरोबिच कुनै सम्बन्ध छैन तैपनि मलाई किन त्यस्तो पीडा हुन्छ ? म पत्रिका लिन पनि त्यही बाटो भएर जान्थेँ । उसलाई देखेपछि मेरो मनमा एकप्रकारको आनन्दभाव पैदा हुन्थ्यो ।

गाडीको ‘टिटी’ हर्न अनि मानिसको भिड र कोलाहलबिच पनि त्यो भिखारीको आवाज पर परसम्म सुनिन्थ्यो, “हजुर केही दिनुहोस् न ?” कर्णकटु गाडीको घ्यारघ्यारबिच त्यो गाना भनूँ वा पुकार, सुन्ने कमै थिए । त्यस पुकारसँगै रोदनका लहरहरू छरिएका हुन्थे यत्रतत्र । त्यसलाई लत्याउँदै, कुल्चँदै मानिसहरू अगाडि बढ्थे । त्यो देखेर मेरो मनमा प्रश्न उठ्थ्यो, “के मान्छेको स्वभाव नै यस्तै हो ।” आफूलाई सभ्य भनाउँदा मान्छेले मान्छेलाई गरेको व्यवहार देखेर मलाई मानवता शब्दप्रति लाज लागेर आउँथ्यो । कतिको व्यवहारमा त मानवताको उपहास गरेको सहजै झल्कन्थ्यो ।

केही दिनदेखि यो कोलाहलमय सहरमा मैले उसलाई देखेको पनि छैन र उसको आवाज पनि सुनेको छैन । कार्यालय जाँदाआउँदा मैले उसलाई बाटोमा भेट्न छाडेको छु । मलाई उसको अनुपस्थितिले मन चसक्क दुःखेको छ । वरपर गल्ली चोकतिर हेर्छु । कतै भेट्दिनँ, सर्वत्र शून्य लाग्छ, यत्रो मानव महाकुम्भमा म उसलाई देख्न सक्दिनँ । कता कता मेरो मनमा रिक्तता छाउँछ । अफिसमा काम गर्न मन पनि लाग्दैन हिजोआज, नजानिँदो पाराले चिन्ता बढेको छ । अफिस जानेआउने क्रममा केही दिनदेखि मैले उसलाई देखेको छैन ।

“ऊ किन देखिन छाड्यो ?” मैले धेरैतिरको सडक किनारमा आँखा डुलाएँ । कतै देखिनँ । मेरो मनमा शङ्का उठ्यो, “के ऊ यो सहर छाडेर अन्तै त लागेन वा कतै केही त भएन… । अहँ, त्यसो हुन सक्दैन ।” अफिसबाट घर फर्कंदा मेरो मनमा यस्तै यस्तै कुरा खेल्न थाल्छन् । अचानक सडकछेउमा मानिसको हुल देखेँ, मेरा आँखा टक्क अडिए, मन ढुक्क फुल्यो । केही हप्तादेखि शून्य त्यस ठाउँमा अचानक मान्छेको भिड देखिँदा मनमा कुरा खेल्न पुग्यो ।

मलाई पनि रहस्य बुझ्न मन लाग्यो । रहस्य बुझ्न म भिडभित्र हेलिएँ । एक्कासि आँखा रसाउन पो पुगे । मेरा आँखा त्यसरी कमै रसाएका थिए । आफन्तको वियोगमा । मैले केही बोल्न सकिनँ ।

त्यहाँ एउटा लास देखेँ मैले । त्यो त्यही थियो, जसको मैले केही दिनदेखि खोजी गरेको थिएँ । मलाई शून्यताको गहन अनुभूति भयो । मैले केही प्रतिक्रिया गरिनँ । वरपर हेरेँ । ऊ पैसाको थुप्रोले करिब करिब पुरिन लागेको थियो ।

“ए, बिचरा त मरेछ !” भिडबाट एउटा बोल्यो ।

“ए ! त्यही हिजोअस्ति सडकमा बस्ने माग्ने पो मरेछ ।”

“के भएर मरेको रे हँ ?” अर्कोले रहस्य बुझ्न खोज्यो ।

“खै भोकाएर मरेको रे,” अर्कोले अड्कल लगायो । कोही केही भने नबोली बिनाप्रतिक्रिया खल्तीबाट केही रुपियाँ झिकेर उसको लासतिर फ्याँकिदिन्थे र आफ्नै सुरमा अगाडि बढ्थे ।

त्यही दृश्यले मेरो मुटुमा भित्र भित्र पीडा बढायो । त्यस भिडमा पाषाणहृदय बोकेर लास पुज्ने जमात पनि मैले देखेँ । बाँचुन्जेल तिरस्कार र घृणाको पर्याय बनेको ऊ लासमा परिणत हुँदा बिचरा भन्नेहरूको कृत्रिम मानवता छरिएको पनि देखेँ । भोक लाग्दा केही रुपियाँ नदिने, साइत परेन भन्नेहरू नै आज उसको लास देख्दा खल्तीबाट रुपियाँ झिकेर दिन्थे । ती सबै दृश्य मैले नजिकबाट नियालिरहेको थिएँ ।

“यो कस्तो धर्म, अनि यो कस्तो मानवता ?” बाँचुन्जेल एक गाँस खान नपाउने ऊ आज लासमा परिणत हुँदा थुप्रै पैसाको मालिक बन्न पुगेको छ ।

म चुपचाप, केवल चुपचाप ! आँखाभरि त्यो भिखारीलाई हेर्छु । आँखा रसिला बन्दै जान्छन् । केही समयअगाडि र अहिलेको अवस्था तुलना गर्छु । म सम्झन्छु, अफिसबाट फर्कंदा कहिले कपडा दिन्थेँ, कैयन् पटक मैले खानेकुरा पनि दिएको थिएँ । मैले केही दिनअगाडि पनि उसलाई दिन भनेर किनेको कपडाको झोला मेरो हातमै थियो । खोइ किन हो, के भएर हो; मेरा परेलीमा टलपल टलपल गर्दै आँसु साउने झरी झैँ बर्सिन पो थालेछन् ।

  himalayanvoice.com | ३० फाल्गुन २०८२, शनिबार ००:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online