ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना, छ जना घाइते

खोटाङ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेसिमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । 

काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो ।

चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । दुर्घटनामा पर्नुभएका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।

घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट १२ः ३५ बजे नै उपचारका लागि काठमाडौँ पठाइएको छ । खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो ।

सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरू आएका थिए । मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।

आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत भोलि बिहीबार बालाबेँसी आइपुग्ने व्यवस्था मिलाइएको थियो । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । दुर्घटना लगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताउनुभयो ।

“घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उहाँले भन्नुभयो, “यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ गर्नुभयो । चलिरहेको इञ्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।”

एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्य अनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।

एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गर्नुभएको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन् । रासस

  himalayanvoice.com | ४ चैत्र २०८२, बुधबार ०९:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online