सोलुखुम्बु । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित १९ औँ दुईदिने कलासाहित्य यात्रा सम्पन्न भएको छ । मुलुकका विभिन्न जिल्लामा पुगेर बर्सेनि गरिँदै आएको कलासाहित्य यात्रा यस पटक सल्लेरीमा गरिएको हो । सो अवसरमा प्रतिष्ठानद्वारा योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कारसमेत प्रदान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्लले योगेश्वर वाङ्मय पुरस्कार रुकुमका स्रष्टा पूर्ण ओली र ग्रेगरी कलासंस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गर्नुभयो । दुवै पुरस्कार क्रमशः २५ हजार र २० हजार नगद राशिसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमुख्यसचिव साहित्यकार विमल कोइरालाले साहित्यको वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । संस्थाकी अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्रष्टा लक्ष्मण गाम्नाङे, मधुपर्कका सम्पादक तुलसीहरि कोइराला, मणि लोहनी, जयदेव भट्टराईलगायतले सिर्जना वाचन गर्नुभएको थियो ।
प्रतिक्रिया