वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले एक खेल पनि नहारी उपाधि हात पारेको हो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै आर्मीले उपाधि चुमेको हो । आर्मी क्लबले दोस्रोपटक प्रधानमन्त्री कपको उपाधि जितेको हो ।
हालसम्म विभागीय टोलीबाहेक अन्यले प्रधानमन्त्री कपको उपाधि जित्न सकेका छैनन् । दुई पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक पनि स्तब्ध बन्यो ।
नारायणी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमै अलआउट हुनुअघि एक सय ६१ रन मात्र बनाउन सकेको थियो ।
सामान्य विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने ३४.२ ओभरमा पाँच विकेट गुमाएर जित हासिल गर्यो ।
आर्मी क्लबको जितमा इमरान शेखले अविजित ४६ र बसिर अहमदले ४५ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका इमरान शेखले ८२ बलमा दुई छक्का र दुई चौका हिर्काए ।
छैटौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदले ५६ बलमा चार चौका प्रहार गरे । आर्मीका लागि ओपनर तृतराज दासले पनि ३२ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३१ रन बनाए ।
कप्तान विनोद भण्डारी दुई र भीम सार्की चार रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले टोलीको खातामा १७ रन थपे । अर्जुन साउद सात रनमा अविजित रहे ।
आर्मी क्लबले केवल ५६ रनको कुल स्कोरमा चौथो विकेट गुमाएको थियो । त्यसपछि इमरान शेख र बसिर अहमदले टोलीका लागि ९६ रनको उत्कृष्ट साझेदारी गरे ।
सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले दुई विकेट लिए । शेर मल्ल, अशोक धामी र विकास आग्रीले पनि एक÷एक विकेट हात पारे ।
त्यसअघि, सुदूरपश्चिम प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । माथिल्ला पाँच ब्याट्सम्यानले त दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।
ओपनर अभिषेक पाल नौ, खड्क बोहरा एक, नरेन भट्ट एक, विकेटकिपर ब्याट्सम्यान राजु रिजाल सात र दीपक बोहरा पनि सात रन बनाउँदै पेभेलियन फर्किए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरण ठगुन्नाले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ४२ बलमा पाँच चौकाको मद्दतले ३५ रन बनाए ।
सातौँ नम्बरका ब्याट्सम्यान नारायण जोशीले ३४ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन जोडे । अशोक धामीले पनि टोलीको खातामा ४३ रन थपे ।
आठौँ नम्बरका ब्याट्सम्यान अशोकले ४६ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । कप्तान शेर मल्ल भने एक रनमै आउट भए । हेमन्त धामीले १६ रन जोडे ।
जारी प्रतियोगिताको एकमात्र अपराजित टोली आर्मीका बलर आकाश चन्द र साहब आलमले तीन/तीन विकेट लिए । बसिर अहमदले दुई र कुशल मल्लले पनि एक विकेट हात पारे ।
कसिलो बलिङ र सन्तुलित ब्याटिङको मद्दतले आर्मीले ९३ बल बाँकी छँदै सहज जित दर्ता गर्दै यस सिजनको प्रधानमन्त्री कप आफ्नो नाममा गर्न सफल भयो ।
प्रतिक्रिया