काठमाडौँ । वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै लिन सक्ने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेपछि घरबाटै लिन सक्ने भएको हो ।
योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिने र सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्रिवि र केयूसँग अन्तरआवद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा त्रिवि र केयूसँग फेसलेस अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरणहरू देखिने र आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।
प्रतिक्रिया