रूपन्देही । बुटवलमा गर्भपतनका क्रममा एक महिलाको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
बुधबार काउन्सिलले व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार काउन्सिलका केन्द्रिय सदस्य समेत रहेका डा सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।
उच्चस्तरीय टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा.राजेन्द्र बस्याल, डा.अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश रहनुभएको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन तथा निरीक्षण गर्न, घटनाको वास्तविकता पत्ता लगाउन भनिएको छ।काउन्सिलले छानबिन प्रक्रिया स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढाइन जनाएको छ।
दोषी भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने संयोजक पराजुलीले जानकारी दिनुभयो । यस घटनामा संलग्न रहेको भन्दै परिवारको किटानी जाहेरीपछि बुटवल प्रहरीले दुई डाक्टरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया