ट्रेण्डिङ्ग:

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो ।

सभापति लामिछानेले भन्नुभयो, “निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईँहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईँहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।” उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको पनि जानकारी दिनुभयो । उहाँले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पार्नुभयो ।

“तपाईँले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन, टेक्नु पर्दैन । हामी तपाईँहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । पहिला तपाईँहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढङ्गबाट देखिने गरी परिवर्तन महसुस  गराउन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो । “हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निसानामा परिरहेका छौँ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो ।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

‘सरकारले नागरिकलाई घरबारविहीन बनाउँदैन’

फरक प्रसङ्गमा सभापति लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पार्नुभयो । “देशका नागरिक कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ । आज केही समस्या भएको छ, तर यसले सधैँका लागि समस्या समाधान गर्छ । हामीले खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छौँ”, उहाँले भन्नुभयो । रासस

  himalayanvoice.com | २० बैशाख २०८३, आईतवार ०९:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online