न्युयोर्क । किराती राईहरूले अमेरिकाको न्युयोर्क सहरमा भव्यताका साथ साकेला पर्व मनाएका छन् । स्थानीय पार्कमा भेला भएका किराती राई समुदायका सहभागीलाई गैर किरातीहरूले पनि साथ दिँदै साकेला नृत्यमा सहभागी भएका थिए ।
किरात राई सोसाइटी अफ अमेरिकाको आयोजनामा न्युयोर्कमा प्रत्येक वर्ष उधौलीको अवसरमा सामूहिक साकेला आयोजना हुँदै आएको छ ।
“यो चाड मात्र होइन, हाम्रो सामूहिक चेत र भावनालाई अभिव्यक्त गर्ने अवसर पनि हो,” कवि तथा किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष शम्भु राईले भन्नुभयो, “व्यस्त र व्यक्तिवादी जीवनशैली रहेको अमेरिकामा साकेलामार्फत हामीले आफ्ना गाउँघर र पुर्खाबाट सिकेको सामूहिक चेतना प्रस्तुत गर्न पाउँछौँ । त्यसैले यहाँ साकेला हर्षोल्लासका साथ मनाइन्छ ।”
साकेला आफैँमा सामूहिक संस्कृतिको उपज हो । किराती राई समुदायले वर्षमा दुई पटक साकेला मनाउने परम्परा रहेको छ । प्रकृतिपूजक यो समुदायले अन्नबाली रोप्ने समयमा उभौली र बाली भित्र्याउने समयमा उधौली साकेला मनाउने गर्छ । उभौलीमा अन्नबाली राम्रो होस् र समाजमा सुख–समृद्धि फैलियोस् भन्ने कामनासहित पुर्खासँग शक्ति मागिन्छ भने उधौलीमा प्रकृति र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्दै अर्को वर्ष पनि यस्तै चाड मनाउन पाउने कामना गरिन्छ ।
साकेला उद्घाटनअघि आयोजित औपचारिक कार्यक्रममा किरात राई सोसाइटी अफ अमेरिका केन्द्रीय अध्यक्ष भारती राईले पनि यही विषय प्रष्ट्याउनुभयो । “हाम्रा पुर्खाले वैज्ञानिक ढङ्गले जीवनयापन गर्ने ज्ञान दिएका छन् । त्यसैअनुसार पुर्खासँग शक्ति माग्दै विश्व कल्याणको कामनासहित साकेला मनाइन्छ,” उहाँले भन्नुभयो, “अन्नबाली रोप्ने बेला उभौली र भित्र्याउने बेला उधौली मनाइन्छ । त्यसैले किरात राईहरू प्रकृतिप्रेमी हुन् । सबैलाई शुभकामना व्यक्त गर्दछु ।”
कार्यक्रममा न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, नेपाली पत्रकारहरूको संगठन (नेजा) की अध्यक्ष कल्पना घिमिरे, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पा, नेप्लिज ल इनफोर्समेन्टका अध्यक्ष सोनाम घिसिङ, चलचित्र निर्देशक किशोर सुब्बालगायतले नेपालीहरू जहाँ रहे पनि आफ्नो संस्कृति जोगाउनु गौरवको विषय भएको धारणा राखेका थिए ।
कार्यक्रममा कराते खेलाडी सन्तोष राईलाई नगद तथा प्रशंसापत्रसहित विशेष सम्मान गरिएको थियो । उहाँले हालै सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा काता तथा फाइटतर्फ पदक जितेका थिए ।
उनले २७ औँ हिराल्डोज काइ सोतोकान अन्तर्राष्ट्रिय च्याम्पियनसिप–२०२६ मा अमेरिकी प्रतिद्वन्द्वी चार्ल्स जार्डनलाई पराजित गर्दै कातातर्फ स्वर्ण पदक जितेका थिए । त्यस्तै फाइट (कुमिते) तर्फ नाथानिया जेआरलाई हराउँदै रजत पदक जितेका थिए । राईले नेपालमा कराते डोजो सञ्चालन गर्दै खेलाडी उत्पादन गर्दै आएका छन् ।
प्रतिक्रिया