बर्लिन। पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, प्रचण्ड र बाबुराम भट्टराई विरुद्ध युद्ध अपराध मुद्धा दायर गर्ने र माओवादी जनयुद्धको समयमा गरिएका अपराधहरू सार्वजनिक गर्ने पूर्व माओवादी बाल सिपाही लेनिन विष्ट हाल जर्मनीमा छन्।
माओवादी जनयुद्धको समयमा गरिएका अपराधहरू सार्वजनिक गर्ने तयारी गर्ने कार्यक्रममा भाग लिन उनी जर्मनीको राजधानी बर्लिन आइपुगेका छन्। विष्टले ‘बाल सैनिकहरूको न्यायको बारेमा छलफल’ गर्न युरोप आइपुगेको फेसबुकमा जानकारी दिएका छन्।
माओवादी जनयुद्धमा बाल सैनिकहरूलाई सैनिकको रूपमा प्रयोग गर्ने युद्ध अपराधको बारेमा आवाज उठाउँदै आएका लेनिन विष्ट अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न जर्मनी पुगेका छन्।
यसअघि २०१८ मा नेदरल्याण्ड्सको हेगमा आयोजित छलफलमा बाल सैनिकहरूलाई सैनिकको रूपमा प्रयोग गर्ने युद्ध अपराधको मुद्धा उठाएका विष्ट सरकारी दबाब सहन नसकेपछि स्वदेश फर्किएका थिए।
पूर्व माओवादी नेता तथा वर्तमान एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री हुँदा प्रचण्डको युद्ध अपराध सार्वजनिक हुने भयले पूर्व माओवादी बाल सिपाही लेनिन विष्टको युरोप भ्रमण रोकेको भन्दै बादलको आलोचना भएको थियो ।
लेनिनले माओवादी नेताहरूले आफूलाई सशस्त्र द्वन्द्वमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्। उनले सर्वोच्च अदालतमा प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्धा पनि दायर गरेका छन्। मुद्धा अझै अदालतमा विचाराधीन छ।
स्रोतहरूले जानकारी दिएका छन् कि, प्रचण्डको युद्ध अपराध र माओवादी जनयुद्धमा बालबालिकाको प्रयोगसँग सम्बन्धित मुद्धा हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा दर्ता गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया