ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

‘देश बनाउने जिम्मेवारी दुई दलकै काँधमा छ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताउनुभएको छ । 

सम्पादकहरुसँगको संवाद कार्यक्रममा बिहीबार बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । “काँग्रेस र एमाले यो देशको ठुला राजनीतिक शक्ति हुन्, केही दिन चलेको आँधी तुफान र ग्रहणले यी शक्ति विलय भएका होइनन्, देश बनाउने जिम्मेवारी यिनै दुई दलमा जिम्मेवारी रहेकाले फेरि जिम्मेवारी दुई दलकै काँधमा आउँछ” अध्यक्ष ओलीले भन्नुभयो ।

विना सिद्धान्त, विना नीति र विना स्पष्ट योजना दलहरु उम्रनेक्रम जारी रहेको बताउँदै उहाँले भन्नुभयो, “सम्पत्ति कमाउन, अपराधबाट बच्न र भ्रष्टाचार गर्नका लागि राजनीतिक दलमा लाग्ने होइन, राजनीतिमा लाग्ने भनेको देश बनाउनका लागि हो । देशको सकारात्मक रुपान्तरण गर्नका लागि हो । अहिले उम्रेका नयाँ दलमा त्यो कुरा देखिदैन ।”

सरकार र जेनजी अगुवाहरुबिच बुधबार भएको नयाँ सम्झौताबारे राखिएको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “जहाँ सम्झौता भयो, त्यहि च्यातिएको देखियो । सम्झौता नै च्यातिएपछि त्यसको के अर्थ छ र ! सम्झौताको कुनै औचित्य नभएरै च्यातिएको होला नि ।”

राजनीति स्वस्थ र मर्यादित हुनुपर्ने बताउँदै उहाँले राजनीति गर्नु भनेको देश र जनताका लागि हो, आफ्नो लागि होइन, उहाँले भन्नुभयो । आफूले सत्य कुरा बोल्दा अरुलाई तितो लाग्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “लोकतन्त्र मास्ने प्रयास भयो भने एमाले सहँदैन, नेपाली जनताले सहँदैनन् ।”

संसद पुनःस्थापनाबारे सम्पादकले राखेको जिज्ञासामा अध्यक्ष ओलीले संसद पुनः स्थापना हुनेमा विश्वास व्यक्त गर्नुभयो । अवैधानिक ढंगले विघटन गरिएकाले वैधानिक ढंगले पुनःस्थापना हुने उहाँले दावी गर्नुभयो । “आगजनी, लुटपाट कसैलाई स्वीकार्य हुने विषय होइन, जेनजीको आवरणमा जसले गरे पनि त्यो सह्य छैन ।”

मेरो विरुद्ध कोही नउठ्ला 

मंसिर २७ देखि २९ गतेसम्म हुन गइरहेको ११ औं महाधिवेशनले नयाँ नेतृत्वसहित कार्य समिति सर्वसम्मत चयन गर्ने प्रयासमा आफूहरु रहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “सम्भवतः मेरो विरुद्धमा कोही नउठ्ला । सर्वसम्मत अध्यक्षमा मेरो नाममा सहमति बन्ला । कोही स्वस्थ प्रतिस्पर्धा गर्न आउँछ भने त्यसको स्वागत हुन्छ ।”

दुई कार्यकाल र उमेरहदको जिज्ञासा पत्रकारले उठाएपछि अध्यक्ष ओलीले जवाफमा भन्नुभयो, “दुई कार्यकाल अमेरिकी राष्ट्रपतीय प्रणालीमा हुन्छ । निर्वाचित भएपछि पाँच वर्ष काम गर्न दिइन्छ, कुनै बाधा हस्तक्षेप गरिदैन । हाम्रो यहाँ दुई कार्यकालको विषय स्थापित विषय होइन, कांग्रेस सभापति ५ पटक देशको प्रधानमन्त्री बन्नुभयो, तर उहाँले ५ वर्षे कार्यकाल सम्भवतः पूरा गर्नु भएको छैन होला ।”

पुस्तान्तरण र हस्तान्तरण हुन्छ

नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरण नभएको जिज्ञासामा अध्यक्ष ओलीले हरेक महाधिवेशनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपाली पनि पुस्तान्तरण र हस्तान्तरण हुन्छ । चुनाव जित्नेहरु नेतृत्वमा आउँछन्, नजित्नेहरु बाहिरिन्छन् । मेरो हकमा भने निरन्तरता मात्र हुन्छ ।”

आजीवन नेतृत्वमा कोही पनि रहन नसक्ने भन्दै उहाँले थप्नुभयो, “देश र जनताको पक्षमा काम गर्ने सक्रियता रहुन्जेल काम गर्ने हो, नसक्दा छाड्ने हो । यसमा कसैले चाहँदैमा नचाहँदैमा नेतृत्व ओगटेर राख्ने विषय होइन । यो स्वभाविक प्रक्रिया हो, नसकेपछि मैले पनि छाड्नुपर्छ ।”

आफूले देश र जनताको पक्षमा काम गर्दा अरुको टाउको दुःखेको उहाँले दावी गर्नुभयो । देश र जनताको पक्षमा काम गर्नु के अपराध हो ? मैले देशको समृद्धिका लागि काम गरेर के गल्ती गरें ? मैले काम गर्दा अरुको टाउको दुःख्छ भने मैले के गर्न सक्छु ? अरुको टाउको दुख्छ भन्दैमा मैले देश र जनताको पक्षमा काम गर्न छाड्नु हुँदैन । सकुन्जेल गर्छु ।”

कसैमाथि दवाव हुँदैन

पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले महाधिवेशनमा कसैमाथि करकाप र भेदभाव नगरिने बताउनुभयो । स्वस्थ प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिइने तर अस्वस्थ ढंगले काम गर्न नदिइने बताउनुभयो । करकाप कसैमाथि हुँदैन । भेदभाव विनाको स्वस्थ प्रतिस्पर्धा हुन्छ, उहाँले भन्नुभयो ।

पार्टी जीवनमा आँच पुग्ने खालका अस्वस्थ प्रतिस्पर्धा हुन भने नदिइने उहाँले प्रष्ट पार्नुभयो । “सकेसम्म सबैलाई मिलाउने प्रयास हुन्छ । सहमतीय हिसावले सर्वसम्मत नेतृत्व चयनको प्रयास अन्तिम समयसम्म गरिनेछ । सम्भव नभए स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर सबैलाई हुन्छ” उहाँले भन्नुभयो ।

अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले आफूलाई अझै अध्यक्ष हुन्छु भनेर नभनेको उहाँले बताउनुभयो । उहाँको चाहना मिडियाबाट जानकारी पाएको बताउनुभयो । “ईश्वरको आकांक्षा छ भने भन्नु होला, सम्झाउँदा उहाँ सम्झिनु होला । मेरो नेतृत्व स्वीकार गर्न उहाँलाई कुनै समस्या हुँदैन” अध्यक्ष ओलीले भन्नुभयो ।

कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टी नेताहरु काशीनाथ अधिकारी, पद्मा अर्याल, राजेन्द्र गौतम लगायतको सहभागिता थियो ।

  himalayanvoice.com | २६ मंसिर २०८२, बिहीबार १२:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online