न्युयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनको मिति नजिकिएसँगै संघको नेतृत्वका लागि आकांक्षीहरुबीच समुहगत राजनीतिक ध्रुविकरण सुरु भएको छ ।
आगामी मार्च १३ देखि १५ सम्म काठमाडौँको होटल सोल्टीमा आयोजना हुने महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष सुनिल साह, पूर्व उपाध्यक्ष केशव पौडेल, पूर्व उपाध्यक्ष रोविन शेरचन र वरिष्ठ उपाध्यक्ष डा. हेमराज शर्माले मुख्य आकांक्षीका रूपमा समुहगत राजनीतिक ध्रुविकरणसंगै चुनावी अभियान सुरु गरेका छन् ।
यता महासचिव गौरिराज जोशी यस पटक नेतृत्वको दौडबाट बाहिरिएका छन् तर उनले अध्यक्ष पदका लागि रोविन शेरचन र महासचिव पदका लागि एमाले उम्मेदवार रामशरण सिंखडालाई समर्थन गरेका छन् । यद्यपि नेपाली काँग्रेस निकट सुनिल साह र केशव पौडेल पनि पार्टीको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् । पौडेल र साह आन्तरिक रणनीति बनाउनेदेखि अमेरिकाको प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
महासचिव पदका लागि एमाले उम्मेदवार रामशरण सिंखडाले काँग्रेस निकट वरिष्ठ उपाध्यक्ष डा. हेमराज शर्माको समुहबाट उम्मेदवारी दिने तयारी गरेपछि अध्यक्ष डा. बद्री केसी समूह भनी चिनिएका एमाले निकटहरू समूह विभाजित बन्दै गएको छ ।
निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने विषय निर्वाचनको मोडालिटी (प्रणाली) लाई लिएर संघभित्र विवाद र बहस चर्किएको छ । नेपाली काँग्रेस निकट अध्यक्ष महेश श्रेष्ठ सहितको समूहले संघको निर्वाचनमा काठमाडौँमै भौतिक उपस्थिति हुनेलाई मात्र मतदान गर्न दिनुपर्ने अडान राखेको छ भने एमाले निकट बद्री केसी नेतृत्वको समूहका सदस्यहरु पूर्ण अनलाइन भोटिङ प्रणालीको पक्षमा उभिएका छन् ।
निर्वाचन प्रणालीमा संघ भित्र विवाद बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले निर्वाचनमा काठमाडौँमै भौतिक उपस्थिति हुनेलाई मात्र मतदान गर्न दिनुपर्ने राय व्यक्त गरेको छ ।
यद्यपी एमाले निकट अध्यक्ष डा. बद्रि केसी कानुनविद सहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गरि बैठक नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने सदस्यहरूलाई अनलाइन माध्यमबाटै मन्त्रालयसँगको छलफलमा सहभागी गराउने र अनलाइन भोटिंगलाई मान्यता दिलाउन क्रियाशील रहेको छ ।
काँग्रेस समर्थक उम्मेदवार डा केशव पौडेल, सुनिल साह र हेमराज शर्मा बिचको विवादका कारण अध्यक्ष महेश श्रेष्ठको समर्थन प्राप्त गर्ने उम्मेदवारले आधिकारिकता पाउने भएकोले यस पटक संघको नेतृत्वको दौडमा कसको पल्ला भारि हुने अहिलेनै यकिन गर्न कठिन छ ।
निर्वाचनको मोडालिटी र यस अघि निर्वाचन गरेको अष्ट्रेलियाको भेरो कम्पनिको गतिविधि संकास्पद भएकोले संघको सचिवालयलाई अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय अनलाइन भोटिङ कम्पनीको खोजी गर्ने जिम्मेवारी दिएको छ ।
महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) छनोटको समयतालिका अनुसार सन् २०२६ जनवरी २५ तारिख राति १२ बजेबाट नयाँ वा छुटेका सदस्यता आवेदन स्वतः बन्द हुनेछ । सबै राष्ट्रिय समन्वय परिषद् हरूलाई जनवरी ३१ मा सदस्यताको अन्तिम नामावली प्रकाशित हुने जानकारी गराइनेछ र सोही मितिलाई ‘कट अफ डेट’ मानिनेछ ।
यसैगरी, एनसीसीहरूले २०२६ फेब्रुअरी १ देखि १० सम्म डेलिगेट सिफारिस गर्नुपर्ने र १४ फेब्रुअरीभित्र विवरण सचिवालयमा पठाइसक्नुपर्ने समयसीमा तोकिएको छ । एउटै देशमा दुई फरक टिम वा विवाद देखिएको हकमा डेलिगेट कसरी चयन गर्ने भन्ने विषयमा कार्यविधि तयार गरी ३१ जनवरीभित्र निर्णय गरिने तयारी छ ।
स्मरण रहोस विभाजित अवस्थामा रहेका एनआरएनए जेनजी आन्दोलन पछि प्रधानमन्त्री सुशीला कार्कीलाई शाक्षी राखेर संघको विभाजित दुई समुहलाई एकीकरण गरेका थिए ।
एकीकरण पछि आगामी मार्च १३ देखि १५ सम्म काठमाडौँको होटल सोल्टीमा एनआरएनएको १२औँ महाधिवेशन हुन लागेको हो ।
प्रतिक्रिया