काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको समुहले आगामी मार्च १४-१६ मा निर्धारित १२ औं महाधिवेशनमा प्रतिनिधिहरुको भौतिक उपस्थिति सुनिश्चित नगरिए सम्मेलन बहिस्कार गर्ने भएका छन् ।
यद्यपि नेपाली काँग्रेस निकट संघका उपाध्यक्ष डा हेमराज शर्मा नेकपा एमालेका कमरेड बद्रि केसीसंगको सहकार्यमा अनलाइन प्रणालीबाट जसरि पनि अध्यक्ष बन्ने अन्तिम दौडमा रहेका छन् ।
यता नेपाली काँग्रेस निकट संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको पदाधिकारी बैठकले संघको बृहत् एकताका लागि पारदर्शी, कानुनसम्मत र आत्मसम्मानजनक प्रक्रिया हुनुपर्ने भन्दै एकताको नाममा आत्मसमर्पण स्वीकार्य नहुने भन्दै सम्मेलन बहिस्कारको तयारी गरेको छ ।
आराजु राणाका व्यापारिक साझेदार महेश श्रेष्ठले निर्वाचन प्रक्रियालाई शतप्रतिशत भौतिक बनाउनुपर्ने बताउदै विगतको हाइब्रिड वा अनलाइन मतदान प्रक्रियामा धाँधली भएको भन्दै निर्वाचनको स्वच्छताका लागि भौतिक उपस्थिति अनिवार्य हुनुपर्नेमा बैठकमा जोड दिएका छन् ।
नेपाली काँग्रेस निकट श्रेष्ठ समुहले डेलिगेटहरूको न्यायोचित बाँडफाँड र सबै पक्षको बराबरी एवं सम्मानजनक सहभागिता हुनुपर्ने, सदस्यता शुल्कका आधारमा कसैलाई पनि वञ्चित गर्न नहुने र प्रक्रिया पारदर्शी हुनुपर्ने बताए।
गत मंसिर १४ मा सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको १० बुँदे सहमति अनुसार अहिलेसम्म पनि एमआइएस प्रणालीमा पहुँच नदिएकोमा बैठकमा आपत्ति जनाइएको थियो ।
यसैगरी बैठकले आफूहरुले गरेका माग सम्बोधन नभए, सहमति उल्लंघन भए वा एकलौटी निर्णय गर्ने क्रम जारी रहेमा स्टेयरिङ कमिटीमा पठाइएका प्रतिनिधिहरूलाई फिर्ता बोलाउने चेतावनी समेत दिएको छ।
काँग्रेस निकट अध्यक्ष श्रेष्ठले संघ अहिले ऐतिहासिक तर जटिल मोडमा रहेको बताउँदै बलियो र एकीकृत संस्थाले मात्र प्रवासी नेपालीको मताधिकार र समृद्ध नेपालका लागि योगदान पुर्याउन सक्ने धारणा राखेका थिए।
स्मरण रहोस आरजु राणाका व्यापारिक साझेदार संघका अध्यक्ष महेशकुमार श्रेष्ठको सम्मेलन बहिस्कार गर्ने नीतिमा अमेरिकाका डा केशव पौडेल, सुनिल साह र बेल्जियमका खोवारी उपनामले परिचित गंगाधर गौतम, सिता सापकोटा लगायत संघको विभाजनमा मुख्य भूमिका निर्वाह गर्ने पुर्व अध्यक्ष शेष घले समुहको समेत समर्थन रहेको छ ।
प्रतिक्रिया