काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने कर्तव्यप्रति सचेत रहन सरकारलाई आग्रह गरेको हो ।
नेपाली काँग्रेसले निर्वाचनको मिति नजिकिँदै जाँदा देखिएका राजनीतिक दलका झण्डा जलाउने, भौतिक आक्रमण गर्ने जस्ता घटनाको निन्दा गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न सबैलाई आग्रह समेत गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारको अहिले सम्मको भूमिकामा नेपाली काँग्रेसले शङ्का नगरेको तर शान्तिपूर्ण वातावरणमा मत दिन पाउने जनताको नैसर्गिक हक रक्षा गर्ने दायित्वबाट दायाँबायाँ गर्ने छुट सरकारलाई नभएको बताउनुभयो ।
त्यस अवसरमा काँग्रेस प्रवक्ता चालिसेले काँग्रेससँग जोडिने सबैलाई पार्टीमा सम्मानजनक स्थान दिने र लोकतन्त्रको हकदार बनाउने उल्लेख गर्नुहुँदै पार्टी छाडेर गएका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन समेत आह्वान गर्नुभयो ।
प्रतिक्रिया