कर्णाली प्रदेशले ल्यायो ३५ अर्ब ३९ करोड ८५ लाखको बजेट 

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । 

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले ऊर्जा, जलस्रोत कृषि,  पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर विभिन्न नयाँ कार्यक्रम राखेर बजेट सार्वजनिक गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो । 

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । प्रदेश सरकारले आगामी वर्ष चालुतर्फ आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् २४.३१ प्रतिशत बराबरको बजेट प्रस्तुत गरेको छ भने पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको हो । यो कुल बजेटको ५८.३१  प्रतिशत हो । 

यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड बराबरको बजेट छ । आगामी वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट धान्ने स्रोतका रुपमा आन्तरिक आय ८५ करोड पाँच लाख ९० हजार, चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने करिब ६ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ परिचालन गर्ने जनाएको छ । 

संघीय सरकारबाट राजस्व बाँडफाँटअन्तर्गत प्राप्त १० अर्ब ६६ करोड ५० लाख ४९ हजार, वित्तीय समानीकरण अनुदान १० अर्ब ६३ करोड २३ लाख, सशर्त अनुदानतर्फ पाँच अर्ब ६७ करोड २५ लाख रुपैयाँ परिचालन गर्ने जनाइएको छ । आगामी वर्ष समपूरक अनुदान ६६ करोड ७८ लाख र विशेष अनुदान ४८ करोड ५६ लाख रुपैयाँ स्रोत परिचालन गरिने जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×