काठमाडौं । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार दुवैले समान २–२ खेलेकोमा दुवैमा जित आत्मासात् गर्दै सेमिफाइनलमा पुगेका हुन् । टिप टप न्यु डायमन्ड समूह ‘ए’ तथा न्यु डायमन्ड एकेडेमी समूह ‘बी’ को विजेता बने ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा टिप टप न्यु डायमन्डले अमर ज्योति, नुवाकोटलाई २५–९, २५–११ र २५–५ तथा सरस्वती स्कुल, सिन्धुपाल्चोकलाई २५–५, २५–६ र २५–४ को सोझो सेटमा पराजित गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले सूर्य विनायक, भक्तपुरलाई २५–१३, २५–४ र २५–६ तथा गणेश हिमाललाई २५–९, २५–२२ र २५–१४ ले हराए ।
अन्य खेलमा गणेश हिमालले एलिक्सर एकेडेमीलाई २५–२१, २५–२१ र २५–१६, सरस्वतीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २१–२५, २५–१३, २५–१६ र २५–१७ तथा अमर ज्योतिले एन्जल्सलाई २५–६, २५–२२ र २५–१० ले पाखा लगाए ।
सुजन र दीक्षा च्याम्पियन

नेपाल आर्मीका सुजन गडाल र भिजन एकेडेमीकी दीक्षा दाहालले दोश्रो मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला पुरुष एकलमा सुजन तथा महिलामा दीक्षा पहिलो भएका हुन् ।
बनेपास्थित केएमसी हलमा भएको प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका संयोग कपाली दोश्रो तथा भिजनका हिमाल विष्ट र एभीएमका प्रजिल भट्टराई तेश्रो भए । महिलामा एभीएमकी वियंका राई दोश्रो तथा भिजनकी योङगी पौडेल र प्रहरीकी सुस्मिता खड्का तेश्रो बने ।
बनेपा नगर टेबलटेनिस संघको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको यु–१८ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन तथा गल्र्समा एभीएमकै अर्सना महर्जनले स्वर्ण जिते ।
भेट्रान ४० वर्षमाथि पुरुष एकलमा चन्दन शाही, ४५ वर्षमाथि पुरुष डबल्समा चन्दन शाही र रक्तमान महर्जन तथा ५५ वर्षमाथि पुरुष एकलमा राजेन्द्र वज्राचार्यले स्वर्ण जितेको प्रतियोगिता संयोजक विशसुन्दर गोथेले जनाएका छन् ।
काठमाडौं टिम च्याम्पियन

काठमाडौं जिल्ला तेश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोमा सोमबार टिम च्याम्पियन बनेको छ । काठमाडौंले ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ रामेछाप दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले २ स्वर्ण, ३ रजत र ४ कांस्य हात पा¥यो । १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा रसुवा, काभ्रेपलान्चोक र मकवानपुरले समान १–१ स्वर्ण प्राप्त गरे ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका प्रमोद तामाङ तथा महिलामा काठमाडौंकै जेनिशा वाइबा उत्कृष्ट खेलाडी घोषित भए । प्रमोदले ७३ केजीमुनि तथा जेनिशाले ४८ केजीमुनि स्वर्ण जितेका थिए । प्रमोद पाम जुडो क्लब तथा जेनिशा एमएमएसीमा प्रशिक्षणरत खेलाडी हुन् । उत्कृष्टद्वयले जनही २० हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुई प्रतियोगितामा ८४ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, ४ हजार र ३÷३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

