जनकपुरधाममा जारी महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ र बागमती विजयी

जनकपुर। जनकपुरधाममा जारी निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलमा एपीएफ र बागमती प्रदेशका महिला टिम विजयी भएका छन् ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई एपिएफले ७ विकेटले पराजित गर्‍यो ।

पहिलो व्याटिङ्ग गर्दै सुदूरपश्चिम प्रदेशका महिला क्रिकेट टिमले १८ ओभर खेल्दै १० विकेटको क्षतिमा ६७ रन बनाएको थियो । सुदूरपश्चिमका तर्फबाट करुणा विष्टले १४ रन बनाए पनि अन्य खेलाडीले दोहो अङ्कमा रन जोड्न सकेनन् । एपिएफका तर्फबाट सवनम राई २, सीता रानामगरले २, कविता जोशी, राजमति ऐरी र रेवती धामीले समान १–१ विकेट लिएका थिए ।

६८ रनको लक्ष्य सहित खेल मैदानमा आएको एपिएफले १० ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाउँदै ७ विकेटले विजयी भयो । 

यसै गरि दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिला व्याटिङ्ग गरेका बागमती प्रदेशले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १३० रनको उच्च स्कोर खडा गरेका थिए । बागमतीका तर्फबाट हलिसा गुरुङले २८, कञ्चन श्रेष्ठ २५ र सोनी पाख्रिनले ३४ बलमा ७ चौकाको मद्दतले ५४ रन बनाएका थिए । गण्डकीका तर्फबाट यशोदा भुजेल १ र सीमना के सीले १ विकेट लिएका थिए । 

१३१ रनको लक्ष्य लिएर खेल मैदानमा उत्रेको गण्डकी प्रदेशले ११.५ ओभरमा अल आउट हुँदै केवल ४० रनमा समेटियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×