खेलकुद क्षेत्रलाई डोपिङविहीन बनाउन सहकार्य

काठमाडौं । खेलकुदको क्षेत्रलाई डोपिङविहीन बनाउन नेपाल र भारतबीच ऐतिहासिक सहकार्यको थालनी भएको छ। नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) को केन्द्रीय कार्यालयमा सम्पन्न उच्चस्तरीय संवादमा नाडा नेपालका प्रमुख डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक आनन्द कुमारबीच क्षेत्रीय एजेन्सीहरूको भूमिकालगायत साझा चुनौती, अनुभव र भविष्यका सहकार्यबारे गहन छलफल भयो।

भारतले आफ्नो प्रारम्भिक सङ्घर्षको अनुभव साझा गर्दै सरकारी हस्तक्षेप, स्रोत अभाव, महासंघहरूसँगको अविश्वास र वाडा सदस्यता पाउन गरेको मेहनतबारे प्रकाश पार्यो  जहाँ आनन्द कुमारले “एजेन्सी बनाउनु सजिलो छ, तर विश्वासिलो भएर काम गर्नु चुनौतीपूर्ण हुन्छ” भन्ने कुरा राखे।

नेपालले यस संवादमा समाधानभन्दा पहिला सशक्त प्रश्नहरू उठाउँदै कानुनी स्वतन्त्रता, टियुइ प्रक्रियामा ढिलाइ, गैर–ओलम्पिक महासंघमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगहरूको नियन्त्रण र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित डिजिटल निगरानी प्रणालीका विषयमा चासो व्यक्त गर्‍यो।

डा. भण्डारीले एन्टी डोपिङलाई ‘खेलाडी पक्रने अभियान नभई, उनीहरूको सपना जोगाउने प्रणाली’ भनेर परिभाषित गर्नुभयो ।  स्वच्छ खेललाई उपकरणभन्दा अगाडि नैतिकताको विषय मानिएको छ । भेटका क्रममा दुवै पक्षले दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदान प्रदान कार्यक्रम ‘साउथ एसिया क्लिन स्पोर्ट’ सम्मेलन तथा पारा र एसियामा रहेका खेलाडीका लागि बहुभाषिक डिजिटल शिक्षा अभियानजस्ता साझा कार्ययोजना अगाडि सारे।

पारदर्शिता र सहभागिता मार्फत क्षेत्रीय नैतिकता सुदृढ गर्न सकिने धारणा राख्दै आनन्द कुमारले ‘गोपनीयतामा प्रतिष्ठा छैन, पारदर्शितामै विश्वास हुन्छ’ भन्नुभयो ।

अन्त्यमा डा. भण्डारीले भन्नुभयो, ‘‘देशहरू सीमारेखाले छुट्टिन्छन् तर निष्ठा र न्यायले सजिएको खेलकुदलमा  कुनै सिमाना हुनुहुँदैन। भावपूर्ण भनाइमार्फत खेलकुदमा सीमापार सहकार्यको आवश्यकता छ, यो भेटवार्ताले दक्षिण एसियाली खेल संस्कृतिमा मूल्य र मिशनप्रति केन्द्रित नयाँ युगको संकेत दिएको छ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×